आमा पद्मा छोरो विपीन फर्केला भन्ने आशामा थिईन् । सरकारसंग हमासबाट रिहाइका लागि हारगुहार गरिन् । इजरायल पुगिन्, अमेरिका धाइन् । तर, अन्ततः विपीन कहिल्यै नफर्किने खबर पाईन् । बहिनी पुष्पा यस पालीको भाइटीकामा दाजुलाई टीका लगाउने सपना देखेकी थिईन् ।
ठीक दुई वर्ष अघि इजरायलमा आतंकवादी हमासबाट बन्धक बनाइएका दाजु विपीनको पर्खाइमा थिईन् । सोमबार अर्थात असोज २६ गते हमासले रिहाइ गर्ने सूचीमा विपीन रहेको खबर बाहिरिएको थियो । देश तथा विदेशमा विपीन सकुशल फर्किउन् भन्दै कामना भइरहेको थियो । विपीनको पर्खाइमा देश थियो, उनको जन्मभूमि थियो। ती पाखा पखेरा र गाउँ बस्तीले विपीनको इन्तिजार गरिरहेका थिए।
तर, असोज २६ गते सोमबारको बिहानीतिर खबर बाहिरियो। विपीन जीवित छैनन्। हमासद्वारा बन्धक बनाइएका उनी जिवित नरहेको इजारायली अधिकारीहरुले विपीनका आमा पद्मा र बहिनी पुष्पा सुनाए । आमा पद्मा र पुष्पा अमेरिका थिए । जब छोरा जीवित नभएको खबर आमा र बहिनीले पाए, सबै मुर्छित भए । विपीनको पर्खाइको त्यो धागो पनि चुडियो। वैरीले यस अघि नै निर्दाेष विपीनको जीवन लीला सखाप पारिसकेको रहेछ ।
दुनियाँकै खुंखार आतंकवादी हमासको बर्बरतापूर्ण यातनामै विपीनले संसार छोडिसकेका रहेछन् । उनी कहाँ र कुन मितिमा मारिएका थिए । उनको पार्थविक शरीर कहाँ छ ? यसको कुनै अत्तोपत्तो छैन । सास देख्न पाउने प्रतीक्षामा रहेकी आमा र बहिनीले सास त देख्न पाएनन्। लास समेत लापत्ता भएपछि झन् घनघोर पीडाले थप मुर्छित बनाएको छ। इजरायलमा कमाइ र पढाइका लागि इजरायल पुगेका उनीसहित धेरै जनालाई आतंकवादी हमासले सन् २०२३ को अक्टुबर ७ मा अपहरण गरी बेपत्ता बनाएको थियोे ।
उनी बेपत्ता भएपछि केही दिन अघि विपीनको मिडयो सन्देश सार्वजनिक भएको थियो । उक्त भिडियो पनि एक वर्ष भन्दा अघि भएको बताइएको थियो । त्यही भिडियो सन्देशले धेरै नेपालीहरुलाई विपीन जिवितै छन् भन्ने विश्वास थियो । तर, भगवानसंग कामना गर्नु बाहेक उनको रिहाइको लागि सरकारको कुनै कूटनीतिक प्रयासै भएनन् । उनको रिहाइका लागि आमा पद्मा र बहिनी पुष्पासहित धेरैले अनुयनय विननय गरे । हमासले बन्धक बनाएका धेरै मानिसहरु रिहाइ भएपनि विपीन हमासकै कब्जामा छन् भन्ने थियो ।
तर, त्यो आशाको धागो पनि असोज २६ गते सोमबार बिहान इजरायली डिफेन्स फोर्स आईडिएफले विपीन जिवित नभएको सार्वजनिक गरेपछि सारा देश स्तब्ध भयो । सबैको हृदय छियाछिया भयो । कलकलाउँदो निर्दाेष युवालाई बन्धक बनाएर आतंकवादी हमासले के पायो होला र ? तर, उनीहरुको स्वार्थपूर्ण युद्धबाट विपीनको घर उजाडियो, आमाको काख रित्तियो, बाउको भरोसा ढल्यो, बहिनी पुष्पाको भाइटीका लुटियो । विपीन जस्ता निर्दाेष युवाले अर्काको देशमा यसरी बन्धक बनाइएर बेपत्ताको नियती दुनियाँमा कसैका छोराछोरीहरुहरुले कहिल्यै भोग्न नपरोस्।








