१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

कसले चोर्यो, नयाँ वानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो सुन ?


२ आश्विन २०८२, बिहिबार  


जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट हालको बजार मूल्य अनुसार साढे ३३ करोड रुपैयाँ मूल्य बराबरको सुन र ५ करोड भन्दा बढी नगद चोरी तथा लुटपाट भएको छ ।

भदौ २४ मा भएको जेनजीको प्रदर्शनका क्रममा नयाँ बानेश्वर संसद भवन पछाडि रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा तोडफोड र लुटपाट भएको थियो ।

प्रदर्शनकारीले ५ करोड रुपैयाँभन्दा बढी नगद र १८ किलोभन्दा बढी सुन लुटपाट गरेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्याकारी अधिकृत देवेन्द्र रमण खनालले बताएका छन् ।

बैंकको नयाँ बानेश्वर शाखमा रहेको भल्टसम्म पुग्ने आइरन गेटनै फोडेर रकम र सुन लुटपाट भएको पाइएको हो।

‘ भदौ २४ गतेको प्रदर्शनका क्रममा नयाँ बानेश्वर शाखा तोडफोड गरी १८ किलो सुन र ५ करोड रुपैयाँ बढी नगद रकम चोरी भएको पाइयो । कति क्षति भयो भन्ने विश्लेषण भइरहेको छ,’ सीईओ खनालले भने, ‘सर्वसाधारण ग्राहको लकर भने सुरक्षित रहेको छ । तर बैंकमा रहेको सुनसहित नगद भने चोरी भएको छ।’

चोरी र लुटपाट भएको सीसीटीभी फुटेजसहित प्रहरीमा उजुरी गरिसकेको बैंकले जनाएको छ ।

बैंकले कर्जा लगानी गर्दा ऋणीबाट धितोको रुपमा लिएको सुन समेत चोरी भएको हो । भदौ २३ गतेबाट सुरु भएको जेनजी प्रदर्शनले भदौ २४ गते उग्ररुप लिएको थियो । यस क्रममा नयाँ बानेश्वरस्थित संसद भवनको पछाडि रहेको बैंकको शाखामा तोडफोड तथा लुटपाट भएको थियो ।

संसद भवनमा तोडफोड तथा आगलागी गरेपछि एक समूहले बैंक शाखा कार्यालयमा प्रवेश गरेर तोडफोड र आगजगनी गर्दै लुटपाट गरेको थियो ।

बैंकको बानेश्वर शाखामा मध्य रातिसम्म पनि एउटा समूहले तोडफोड गरिरहेको थियो । भदौ २४ गते राति १० बजेपछि सेना परिचालन भएसँगै सेनाले बैंक तोडफोड गरिरहेका ५ जनालाई नियन्त्रण्मा लिएको थियो।कुन समूहले सुन र नगद चारी गर्यो भन्ने अझै खुलेको छैन ।

गभर्नर विश्वनाथ पौडेलले सोमबार राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरि त्यहाँ भएको क्षतिको अवस्थाबारे जानकारीसमेत लिएका थिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले जेनजी आन्दोलनका क्रममा केही बैंकका शाखा कार्यालय र एटीएम प्रभावित भए पनि बैंकिङ प्रणाली भने सुरक्षित रहेको बताएका छन् ।

गभर्नर पौडेलले ६८ वटा बैंकका शाखा कार्यालयमा आक्रमण भएको जानकारी दिए । त्यस्तै, ६९ वटा एटीएममा केही क्षति पुगेको भए पनि समग्र प्रणाली सामान्य अवस्थामा रहेको गभर्नर पौडेलको भनाइ छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ६ : २२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित