२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

बालयौन दुराचारी अभियुक्त शाही, भूमि समस्या समाधान आयोग जुम्ला अध्यक्षमा नियुक्त !


५ माघ २०८१, शनिबार  


ओली सरकारबाट गठित भूमि समस्या समाधान आयोग जुम्ला अध्यक्ष पदमा नियुक्त सुरतबहादुर शाही बाल यौन दुराचारमा आरोपित व्यक्ति भएको पाइएको छ। जुम्ला एमालेका नेता समेत रहेका शाही विरुद्ध जिल्ला अदालत जुम्लामा मुद्दा विचाराधीन छ ।

शाहीमाथि आफ्नै छोरी नाता पर्ने नाबालिकलाई करणीको प्रयासको आरोप लागेको थियो । तर, उनै बालयौन दुराचारीको मुद्दा खेपिरहेका मानिसलाई केपी ओली सरकारले जुम्लाको भूमि समस्या समाधान गर्ने गरी नियुक्त गरेको हो ।

अदालतमा मुद्दा विचाराधीन रहेका र हालै प्रधानमन्त्री तथा एमाले अध्यक्षको सिफारिसमा जुम्ला भूमि समस्या समाधान आयोग अध्यक्षमा नियुक्त शाहीले २०८० असोज १८ गते बालिकालाई सामाजिक सञ्जाल म्यासेन्जर र टेलिफोनमार्फत यौन सम्पर्कका लागि पटक–पटक प्रस्ताव राख्ने र नाङ्गो तस्बिरहरु खिचेर पठाउन दवाब दिने गरेको आरोप छ। जुन कुरा सामाजिक सञ्जालमा पनि भाइरल भएको थियो ।

उनले फोनमार्फत भनेका थिए, ‘तिमीसँग अरू कुरा गर्दिनँ । तिम्रो पढ्ने कुरा फिक्स गरेको छु । तिम्रो पढाइको लागि खर्च म दिन्छु । राम्रोसँग पढ्नु अनि मैले मागेको त्यो कुरा दिन्छौँ नि ?’ प्रतिउत्तरमा बालिकाले हुन्छ के कुरा हो भन्नु नि ? भनेर सोधेपछि शाहीले सेक्स गर्न दिनुपर्छ भन्दै बालिकालाई फोटा पठाउनु फेसबुकको मेसेजमा भनेको खुलासा भएको थियो । ती बालिकाले के को फोटा भनेर सोधेपछि शाहीले तिम्रो मिल्कको फोटा पठाऊ भनेको फोन रेकर्डको अडियो सार्वजनिक भएको थियो । उनीमाथि बालबालिका विरुद्ध बालयौन दुराचारी कसुर गरेको भन्दै गएको असोज २४ गते जाहेरी परेको थियो । शाही जुम्लामा लुकीछिपी बसेको भन्ने हल्ला एक हप्ता अगावै बजारमा थियो । उनी विरुद्ध जिल्ला अदालतबाट प्रकाउ पूर्जी जारी भएको थियो । उनी २०८१ बैशाख १२ गते प्रहरीमा आफै हाजिर हुन जाँदा ५ दिन प्रहरी हिरासतमा बसेका थिए । उनको मुद्दाको अदालतमा बकपत्र समेत भएको छैन ।

पीडित बालिकाका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएका थिए । प्रहरीले अनुसन्धानका लागि बैंक खाता समेत रोक्का गरेको छ । तर, बालयौन दुराचार जस्तो जघन्य मुद्दाका आरोपितलाई भूमि आयोगको अध्यक्ष बनाएर पीडितमाथि थप पीडा सरकारले थपेको अधिकारकर्मीहरुले बताएका छन्।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  १० : २४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित