२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

ती ओली र, यी केपी ओली !


८ आश्विन २०८१, मंगलबार  


जतिबेला देशमा महाभूकम्प गएको थियो । त्यत्तिबेला मुलुकमा संविधान बन्ने तरखरमा पनि थियो । २०७० को दोश्रो संविधान सभा निर्वाचनमा एमाले कांग्रेस पहिलो र दोश्रो शक्तिमा उक्लिए, माओवादी ह्वात्तै खुम्चियो । सुशील कोइराला प्रधानमन्त्री भए। २०७२ असोज ३ गते नयाँ संविधान जारी भयो । मधेश केन्द्रीत समूहहरुले संविधानप्रति विमति जनाउँदै आन्दोलन गर्दै थिए। २०७२ बैशाख १२ को महाभूकम्पले देश थिलथिलो भएको थियो ।

जनताका प्रतिनिधिबाट पहिलो पटक संविधान जारी हुने शुभ दिनहरु नजिकिदै थिए, भने प्राकृतिक विपत्तिले दिएको घाउ निकै पीडादायी थियो । ऐतिहासिक सम्पदाहरु ढलेका मात्रै थिएनन्, करिब ९ हजार नागरिकले ज्यान गुमाएका थिए, अर्थतन्त्र पनि उस्तै धरमराएको थियो ।

यी संकट र महासंकटबाट मुलुकलाई उज्यालोतिर लैजानुपर्ने चुनौती थियो भने अवसर पनि उत्तिकै थियो । यही चुनौती र अवसरको बीचमै एमाले अध्यक्ष केपी ओली पहिलो पटक यो देशको प्रधानमन्त्री भए। माओवादी अध्यक्ष प्रचण्डकै जोडबलमा उनी सत्तामा उक्लिए । २०६४ को पहिलो संविधान सभामा आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएर राष्ट्रिय राजनीतिको कर्नरमा पुगेका थिए ओली । तर, २०७० को दोश्रो संविधान सभा निर्वाचनबाट उनी निर्वाचित भएर संसद छिरे । र २०७१ को एमालेको बुटवल महाधिवेशनबाट उनी माधव नेपाललाई पछार्दै पार्टी सत्तामा आए। बामदेवको र्बैशाखी टेकेर उनले माधव नेपाललाई ४५ मतको अन्तरले महाधिवेशनबाट हराएका हुन् । त्यसैका मितिबाट माधव –केपी शीतयुद्ध शुरु भएको थियो । यद्यपि त्यस अघिका दिनमा पनि यी दुई नेताबीच तुस नभएको भने होइन ।

यही शीत युद्धकै बीचमा २०७२ असोज २४ गते माओवादीकै भरोसामा उनी बालुवाटार छिरेका थिए । उनको सत्तारोहण सहज थिएन। नयाँ संविधानको कार्यान्वयनसंगै जनतालाई बुझाउनुपर्ने र अन्तराष्ट्रिय शक्तिलाई रिझाउनुपर्ने परिस्थिति थियो । संविधानकै विषय लिएर विखण्डनका खतराहरु थिए। क्षेत्रीय र जातिय अतिवादहरु निकै डरलाग्दा र भयानक थिए । उपेन्द्र समूहको मधेश आन्दोलन र रेशम चौधरीको टीकापुर प्रकरण त्यस्ता खतराका उदाहरण हुन्। सुशील कोइरालाकै पालामा उग्र बनेको मधेश आन्दोलनले भारतीय नाकाबन्दीको समर्थन गरेको थियो । संविधानप्रति भारतीय स्वार्थ थियो । उसले नयाँ संविधानप्रति विमति जनाएको मात्रै थिएन, क्षेत्रीयतावादी उपेन्द्र समूहलाई काखी च्यापेर नेपाललाई गलाउने रणनीति थियो उसको ।जातीयतावादी र क्षेत्रीय विखण्डनवादीबाट देश जाेगाउन निकै कठिन थियो ।प्रधानमन्त्रीले दृढतापूर्वक सबैलाई सहमत गराए।

हाम्रो संविधान प्रति छिमेकी भारत खासै सन्तुष्ट थिएन,यसैको झोकमा नेपालमा आर्थिक नाकाबन्दी लगाएको थियो । करिब ६ महिना बढी भारतीय नाकाबन्दी नेपालले झेल्यो । छिमेकको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको भारतले अन्तर्राष्ट्रिय मन्चहरुमा समेत नाकाबन्दी जस्तो गैर अमानवीय र क्रूर व्यवहारलाई पनि सही भएको भन्ने दाबी गर्न छोडेन । आर्थिक नाकाबन्दी एक प्रकार युद्ध हो। जुन भारतले हामीमाथि लगाएको थियो । यस्तो विषम र प्रतिकूल अवस्थामा नेपाल पुगेको थियो ।

त्यत्तिकै बेला एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका थिए । उनी प्रधानमन्त्री मात्रै भएनन् भारतीय शासकका लागि टाउको दुखाइको विषय पनि बने । भारतले गरेका अन्यायपूर्ण ज्यादतीको विषयमा उनी सतिसाल झै उभिए। चीनसंग पारवाहन सन्धिदेखि धेरै कुरामा उनी उत्तर फर्किए। तर, भारतीय शासकका अघि शीर झुकाएनन्। उनको त्यो राष्ट्रवादी चट्टाने अडानले देशभर एउटा लहर ल्यायो । २०५१ सालमा भारतसंग गरिएको भनिएको राष्ट्रघाती महाकाली सन्धिलाई समेत जनताले विर्सिए । जुन सन्धिको अनुमोदन गर्ने भित्रीयाको भूमिकामा अहिलेका सभामुख देवराज घिमिरले रहेको आरोप छ।

भारतीय ज्यादती विरुद्ध केपी ओली देशकै एक निडर र राष्ट्रवादी नेताको रुपमा दरिए। उनको अडानमा माओवादी अध्यक्ष प्रचण्डको भरपूर साथ पनि थियो । पर्दामा ओली थिए,स्कृप्टमा प्रचण्ड । यसैका परिणाम हो,२०७४ को पहिलो संघीय निर्वाचनमा एमाले–माओवादीले झण्डै दुई तिहाइ जनमत पाएको पनि । तर, व्यक्ति इगो र झगडाले त्यो जनमत खेर गयो । उता कांग्रेसले घुमाउरो पाराले भारतीय नाकाबन्दीलाई स्वीकारेको थियो । जसका कारण कांग्रेस खुम्चियो २०७४को आम निर्वाचनमा ।

नेपाली राजनीतिमा केपी ओली एकाएक हाबी भए। उनकै दोश्रो प्रधानमन्त्री कार्यकालमा भारतबाट अतिक्रमति भूमि समेटेर चुच्चे नक्शा जारी भयो । चुच्चे नक्शा जारी गराउन उनले संसदलाई एकै ठाउँमा उभ्याउन सफल भए । देश एक ढिक्का भयो । तर, दुःखको कुरा ओली प्रचण्ड एक हुन सकेनन्। एकले अर्काेको विरुद्धमा विषबमन गर्न थाले । ओलीमा चुलिएको राष्ट्रवादी तागत अहंकार दम्भ र व्यक्तिकेन्द्रीत मनोविज्ञानमा बदलिदै गयो । प्रचण्डमा पनि संयमता र धैर्ययता देखिएन ।

उता ओलीले पार्टीलाई निजी कम्पनी जस्तो बनाए, पदीय शक्तिको दुरुपयोग गरेर संसद विघटन गरे । माधव नेपाललाई एमालेबाट लघारे । प्रतिद्धन्द्धी माधव नेपाल पनि एमालेबाट बाहिरिएपछि पार्टी भित्र उनको एकछत्र राज छ। त्यसयता उनका हरेक क्रियाकलापहरु विवादरहित रहन सकेनन्। राजनीतिक लाभका लागि उनी जे पनि बोल्न थाले । एक जिम्मेवार नेताको चरित्र उनीमा देखिएन । उनीमा अहंकार र दम्भ मात्रै देखियो ।

२०७९को निर्वाचनमा बलियो संगठन भएकोले जनमत जेनतेन सुरक्षित रहेपनि २०७२ को उनको राष्ट्रवादी छवि खुइलिदै गयो । चौथो पटक प्रधानमन्त्री हुँदा ओलीमा कुनै त्यस्तो भाव भंगी देखिन्न । जो पहिलो पटक उनी प्रधानमन्त्री भएको बेला जस्तो कुनै अंश रहेन । प्रचण्ड र माधव नेपाललाई साइजमा राख्न उनले देउवासंग सत्ताको हात बढाए। विजातिय दलबीचको सत्ता लेनदेन आफैमा अप्राकृतिक मात्रै होइन अराजनीतिक पनि हो । भाइ लघारेर छिेमकी भित्र्याएका उनको सत्ता यात्राको गन्तव्य कति हो, यसै भन्न सकिन्न । जुन दिन कांग्रेसले कुम फेर्छ, त्यसदिन उनको सत्तामा पहिरो जानेछ। यति मात्रै होइन, प्रदेशका सरकारहरु पनि ढल्नेछन्। यही अन्यौलताको बीचमा उनी सत्ताको स्टेरिङ घुमाइरहेका छन्।

उनको यस्ता क्रियाकलापमा कोही कसैले प्रश्न गर्ने आँट गर्दैन पार्टीभित्र । ओली जे बोल्छन्, जे गर्दछन् त्यही नै एमालेको नीति कार्यनीति रणनीति देखिन्छ। ओलीले जे जसो गर्दा पनि कार्यकर्ता लभ यु ओली बा भन्न छोड्दैनन्। सडक र सञ्जालमा ओलीकै पक्षमा दृढताकासाथ उभिन्छन्। ओली देशको प्रधानमन्त्री हुन्।तर, काठमाडौका मेयर बालेन्द्र साहसंग पाखुरा सुर्काउँछन्। देशकै कार्यकारी प्रमुखको त्यो तहको व्यवहार उपयुक्त होइन,तर, झोले कार्यकर्ता हुरुरु उनकै पछि कुद्छन्। जता जता ओली उतै एमाले छ। एक प्रकारले भन्ने हो भने एमालेका करिब १० लाख कार्यकर्ता भेडा जस्तै व्यवहार देखाउँछन्। कम्युनिष्ट कार्यकर्तामा आलोचनात्मक चेत देखिन्न। बरु ओलीको भक्ति गानमा उनीहरु तछाडमच्छाड गर्दछन्। यसैमा ओली रमाइरहेका छन्।

नानीदेखि लागेको बानी भने झे विरोधीलाई भित्तैमा पुराउने उनको आदतमा कमी आएको छैन । उनका तिखा अभिव्यक्तिले उनको राजनीतिक उचाइ घटाएको मात्रै छैन। राष्ट्रिय राजनीतिमा पनि धुमिल बनाएको छ। यति मात्रै होइन, पछिल्लो समय उनीप्रति जनताको आक्रोश धेरै छ। जुन कुरा गौरा पर्वको दिन उनी विरुद्ध युवाले पोखेको आक्रोश एक उदाहरण हो । यति मात्रै होइन, असन्तुष्टि व्यक्त गर्न पाउने अधिकारलाई कुण्ठित गर्दै ती युवाहरुलाई गिरफ्तारी गर्नुले ओली निरंकुश र तानाशाह हुन् भन्ने कुरा पुनः प्रमाणित भएको छ।

प्रधानमन्त्री भएको करिब तीन महिनापछि उनी अमेरिकी भ्रमणमा निस्किए। संयुक्त राष्ट्र संघका महासभामा उनले सम्बोधन पनि गरे। छिमेकी प्रधानमन्त्री मोदीसंग पनि साइडलाइन सम्वाद गरे। तर, उनको प्रस्तुति निकै कमजोर देखियो । त्य सता फोरमा पनि ओली गर्जन निकै बलिया हुन्थे यस अघि । प्रधानमन्त्रीको रुपमा अमेरिका पुगेका ओली त्यहाँस्थित नेपालीहरुले आयोजना गरेको कार्यक्रममा सरिक हुन सकेनन्। उनीविरुद्ध युवाहरुले आक्रोश पोख्ने डरले उनी कार्यक्रम स्थगित गर्न लगाए। उनीप्रति युवाको आक्रोश निकै चुलिदो छ, भन्ने अर्काे उदाहरण हो । यद्यपि प्रधानमन्त्री विरुद्ध अन्तर्राष्ट्रिय मन्चमा गरिएका यस्ता गलत हर्कत देशका लागि हानिकारक छन्। ओलीमा समस्या होला।तर, देशको प्रधानमन्त्री हुन् उनी । उनलाई प्रधानमन्त्रीको रुपमा सबैले बुझ्नुपर्नेमा उनी विरुद्ध जे जस्तो हर्कत गरिए, ती सबै गलत हुन्। भारतमा मोदीलाई नरुचाउने पनि छन्। विश्वभर भारतीयहरु धेरै पुगेका पनि छन्।तर, अहिलेसम्म मोदी विरुद्ध कुनैपनि भारतीय नागरिकले कालोझण्डा देखाउने र जुत्ता प्रहार गर्ने गरेको सुनिएको छैन, देखिएको छैन । किनकी उनीहरु घर झगडा जति नै गरेपनि बाहिर हामीले जस्तो तमासा देखाउँदैनन्, उनीहरुमा उच्च राजनीतिक संस्कार छ।


प्रसंग ओलीको सत्ता राजनीति मात्रै होइन, पार्टीभित्र पनि उनी निकै निरंकुश छन्, कर्णाली प्रदेशको अधिवेशनमा गुलाबजंग शाहले विजय हासिल गरे।तर,ओलीले त्यसप्रति असहिष्णुता देखाए। सयौ कार्यकर्ताको मतबाट अध्यक्ष भएका शाह ओलीको रोजाइमा थिएनन्। यस्ता घटनाले उनी पार्टी भित्र पनि त्यस्तै निरंकुश छन् भन्ने सिद्ध भएको छ। नेकपा एमाले ओलीले मात्रै बनाएको पार्टी होइन, त्यहाँ रहेका लाखौ नेता र कार्यकर्ताको रगत र पसिनाबाट बनेको विशाल कम्युनिष्ट पार्टी हो । तर, ओलीले पार्टीलाई पनि निजी कम्पनी जस्तो बनाएका छन्।

देशकै सुसंगठित र लोकतान्त्रिक दल एमालेभित्र ओलीले रुचाएका मानिसलाई मात्रै नेतृत्वमा आउने अवसर छ। जनताको सेवा गर्ने र पार्टीका लागि लड्नेहरु किनारामा पुराइएका छन्। ओलीको जस्ले भक्तिगान गर्दछ। उसैले मात्रै पार्टी र सत्तामा अवसर पाउने गरेको छ। ओलीका खास विश्वास पात्र एमाले महासचिव शंकर पोखरेल हुन्। चितवनमा भएको एमाले महाधिवेशनबाट पोखरेल पार्टी सत्तामा शक्तिशाली छन्। देशभर उनको जबरजस्त प्रभाव र प्रभुत्व छ। उनले रुचाएका मानिसहरु मात्रै तल्ला कमिटिहरुको नेतृत्व गर्ने अवसर पाउने गरेका छन्।

त्यसको पछिल्लो उदाहरण हो, एमाले दाङको घोराही नगर अधिवेशन । जुन अधिवेशनमा सहमतिका नाममा उनले पार्टीभित्र कम योगदान भएका पात्रलाई अघि सारे । तर, लामो समयदेखि पार्टी निर्माणमा लागेकाहरुले अवसर पाएनन्। यस अघिको जिल्ला नेतृत्वमा पनि उनले आफ्नै नातेदारलाई अघि सारे । निर्वाचनमा धेरै पटक पोखरेल पराजित हुँदै आएका छन्। जनताबाट अस्वीकृत भएका उनी भने एमालेभित्र निकै शक्तिशाली र प्रभुत्वशाली छन्। ओलीपछिका उत्तराधिकारीको रुपमा हेरिएका शंकर पोखरेलको जनमत निकै कमजोर छ। तर, ओलीको निरंकुशतालाई उनले साथ दिदै आएका छन्, भने ओलीमा ८ वर्ष अघिको त्यो राष्ट्रवादी छवि अहिले धुमिल मात्रै भएको छैन, उनी हरेक कोणबाट विवादित र असफल नेताको रुपमा दर्ज हुदै गएका छन्। यसको मुल कारण उनमा झाँगिएको अहंकार र दम्भ हो । यसबाट उनी मुक्त हुने लक्षण भने देखिन्न।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ८ : २५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित