ज्ञानेन्द्र शाहले राजसंस्था पुनःस्थापना गर्न खटाइएका कमान्डर हुन् , वयोवृद्ध नवराज सुवेदी । तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न अफर गर्दा पनि अस्वीकार गरेका उनैलाई ज्ञानेन्द्र शाहले कमान्डर बनाएका छन् ।
राष्ट्रिय पञ्चायत अध्यक्ष तथा पूर्व गृहमन्त्री समेत भएका उनले सूर्यबहादुर थापाको पनि मन जितेका थिए। सूर्यबहादुर थापा त्यस्ता चतुर खेलाडी हुन्। जो पञ्चायत र बहुदलमा गरि पाँच पटक त प्रधानमन्त्री भए ।
सुधारिएको पञ्चायतको नाममा राजा वीरेन्द्रले २०३६ साल जेष्ठ १० गते जनमत संग्रहको घोषणा गरेका थिए।त्यसका लागि राजा वीरेन्द्रले २०३६ साल जेष्ठ १६ गते कीतिनिधि विष्टलाई हटाएर सूर्यबहादुर थापालाई प्रधानमन्त्रीमा नियुक्त गरे।
कांग्रेस नेतृत्वको पञ्चायत विरू्दको आन्दोलन चर्किएको थियोे ।प्रजातन्त्र पुनःस्थापनाका चलिरहेको आन्दोलनको पक्षमा घरेलुु तथा बाह्य प्रभाव बढ्दै गएको थियोे । यस्तो बेलामा पञ्चायतको पक्षमा जनमत देखाउन दरबार भित्रबाट राजा वीरेन्द्रमाथि दबाब निकै थियो ।त्यसका लागि उपयुुक्त पात्र सूर्यबहादुर थापा थिए र उनैलाई प्रधानमन्त्री बनाइएको थियो।उनै थापाले २०३६ जेष्ठ १८ गते २८ सदस्यीय मन्त्रिमण्डल बनाए( इतिहासको एक कालखण्ड’ सुवेदी २०६९) का अनुसार, राजा वीरेन्द्रले मन्त्रिमण्डललाई भनेका थिए , ‘म जनमत संग्रहमा दुवै पक्ष (निर्दल र बहुदल) लाई एक पैसा दिन्नँ, सरकारी ढुकुटीबाट पनि एक पैसा झिक्नु हुन्न। तिमी पञ्चहरू आफ्नो व्यवस्था आफैं गर । यो एक वर्ष दुवै पक्षका कार्यकर्ताहरूलाई भेट्दा पनि भेट्दिनँ।’
राजाले यसरी सरकारी ढुकुटीबाट एक पैसा पनि दिन्न भनेपछि पञ्च नेताहरू बिलखबन्दमा परे। निर्दलको पक्षमा जनमत गराउनु छ, दरबारले एक सुको दिन्न भन्छ।यस्तो अवस्थामा खर्चको व्यवस्था कसरी गर्ने भनेर पञ्चहरूलाई ठूलो संकट आइलाग्यो। उता राजपरिवारका सदस्यहरूलाई भने जनमत संग्रहमा निर्दलीय शासन व्यवस्था गुम्ने होकी भन्ने भय र त्रास थियोे । निर्दललाई जिताउन उनीहरूले खर्चको व्यवस्था गर्न एउटा बैठक राखे, जसमा प्रधानमन्त्री सूर्यबहादुर पनि सहभागी थिए राजपरिवारका महिला सदस्यहरूले सुनचाँदीका पोका निकाल्दै भनेछन्, “लौ प्रधानमन्त्री, पञ्चायतलाई जिताउन यो हाम्रो सहयोग हो।”
तर, सूर्यबहादुरले अस्वीकार गरे। काम गरेर दरबार मन जित्नु थियोे,उनलाई । अनि उनले तत्कालै जवाफ फर्काए, ‘यो सेवकले सबै जुटाउँछ, यो सबै चाहिएन।’
राजा वीरेन्द्रले भनेका थिए,निर्दल र बहुदल दुवै पक्षका कसैलाई पनि एक वर्षसम्म भेट्दिन ।तर, त्यसो भनेका राजा वीरेन्द्रले चार महीनापछि नवराज सुवेदीलाई भेटे दिए ।जतिबेला सुवेदी राष्ट्रिय पञ्चभेला महासमितिका महासचिव थिए। सूर्यबहादुर चलाख ।सुवेदीले राजा भेटको थाहा पाइहाले।
दरबारले निकै पत्याएको मान्छे नवराज भएको थाहा पाएपछि उनले सुवेदीलाई साथमा लिए ।अनि भनेछन् ‘जनमत संग्रहमा पञ्चायतलाई जिताउन कति पैसा चाहिएला ? ’ सुवेदीले जवाफ फर्काए साढे ३ करोड जति ।पञ्चायत जिताउन चन्दा उठाउने काम शुरु गरियो। हुलास चन्द्र गोल्छालाई प्रधानमन्त्री थापाले हुलास चन्द्र गोल्छालाई बोलाएर चन्दा मागियो। उनले चन्दा बापत पाँच हजार बढी दिन सकेनन् । साढे तीन करोड यसरी पाँच हजार चन्दा उठाएर सम्भव नहुने ठानेपछि तत्कालीन प्रधानमन्त्री थापाले नवराज सुवेदीलाई बोलाएर फेरि भने। ‘एउटै व्यापारी समाउनोस्, कुन शर्तमा रकम दिन्छ सोधौं।’
सुवेदीले उद्योग मन्त्री हुँदा राम्रो सम्बन्ध बनाएका मानिस थिए, पुनम चन्द्र अग्रवाल । उनको सहयोगमा चन्दा उठाउने योजना बनाए सुवेदीले अनि भेटेर कुरा राखे। उनले पनि त्यति ठूलो रकम दिन नसकिने जवाफ फर्काए। तर उनले नाम चलेका भारतीय व्यापारी चोथमल जेटियालाई भेट गराइदिने वचन दिए।।
तिनै अग्रवालले दिएको सल्लाहकार अनुसार केही दिनपछि जेटियासँग सुवेदी र प्रधानमन्त्री सूर्यबहादुरले भेटेर कुरा गरे। जेटियाले साढे ३ करोड तत्काल दिन सक्ने वचन दिए। तर, उनले शर्त अघि सारे। उनको शर्त थियोे, नेपाली नागरिकता दिलाउने , सर्पको छाला निकासीको लाइसेन्स पाउने र काठमाडौंमा एउटा ठूलो सूती कपडा कारखाना खोल्ने अनुमति दिनुपर्ने ।पञ्चायत जिताउन संकल्प गरेका प्रधानमन्त्री थापाले एक बचनमै जेटियाको शर्तमा सहमति जनाए।
सर्पको छालाको तस्करी गर्ने ती जेटियाले पहिले साढे ३ करोड रूपैयाँ दिए। केही दिनमा थप ६० लाख गरी जम्मा रु। ४ करोड १० लाख दिए । जब यति ठूलो रकमको जोहो भयो,तब जनमत संग्रहको काम अगाडि बढ्यो।
२०३७ साल बैशाख२० गते जनमत संग्रहका लागि मतदान भयो। परिणाममा निर्दलीय व्यवस्थाले नै जित्यो। त्यसपछिको सरकारमा नवराज सुवेदी गृहमन्त्री भए। निर्दललाई जिताउन ठूलो रकम सहयोग गरेका व्यापारी चोथमललाई नागरिकता दिने सम्बन्धी फायल टुंगोमा नलाग्दै पञ्चायत जिताउन ४ करोड १० लाख चन्दा दिने व्यापारीको मृत्यु भयो।
जनमत संग्रहको परिणामलाई विश्वेश्वरप्रसाद कोइरालाले स्वागत गरे। त्यो कुरो भारत पटनाका उनका साथी देवेन्द्र बाबुलाई चित्त बुझेन। उनले बीपीलाई साह्रै मन पराउँथे र बीपीले पनि उनलाई अति मान्थे। कोइरालाले देवेन्द्रलाई भने छन् , “अहिले नै बहुदलले जितेको भए कसरी मुलुक चलाउनु रु मसँग योग्य मानिस छैनन्। भएका मानिस मरिसके, योग्य देखिनेहरू सानै छन् र शासन गर्ने तालिम पाएका छैनन्। मेरा कार्यकर्ता दुःख गर्न सक्छन्, तर शासन गर्न सक्तैनन्।”
जनमत संग्रहपछि सरकार परिवर्तन गर्ने र संविधान परिवर्तन गर्ने प्रक्रिया शुरु भयो। राजा वीरेन्द्रले नवराज सुवेदीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे। तर, सुवेदीले निर्दलीय पञ्चायतलाई जिताउन सूर्यबहादुरले गरेको मिहिनेतको चर्चा गर्दै बालिग मताधिकारबाट गठित राष्ट्रिय पञ्चायतमा हुने प्रधानमन्त्रीको चुनावमा उनी नै प्रधानमन्त्रीको पहिलो हकदार भएको कुरा राजा वीरेन्द्र समक्ष राखे।
विभिन्न कारणले सूर्यबहादुरलाई प्रधानमन्त्रीमा निरन्तरता नदिने हो भने आफू बन्न तयार रहेको भन्ने कुरा राजासमक्ष राखेको सुवेदीले आफ्नो इतिहासको एक कालखण्डमा भन्ने पुस्तकमा लेखेका छन्। अन्ततः सूर्यबहादुर नै प्रधानमन्त्री बने। उनकै मन्त्रिमण्डलमा सुवेदी भने गृह र पञ्चायत मन्त्री बने सुवेदी । २०४६ मा पञ्चायत ढल्यो, पञ्चायत ढलेसंगै सुवेदी गुमनाम भए।तर, चतुर।सूर्यबहादुर थापा कांग्रेस र एमालेको बुइ चढेर बहुदलमा पनि प्रधानमन्त्री भए। राजनीतिक जीवनमा देशको पाँच पटक प्रधानमन्त्री भएका थापा नेपाली राजनीतिका चतुर खेलाडी हुन्।