कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीसंग हामीले राजनीति, समाज र अध्यात्मको विषयमा केन्द्रित रहेर समग्र जीवन संघर्ष र सफलताका कथाहरुको संग्रहित सामग्री हो यो। यहाँ नगर प्रमुख कार्कीले सानैदेखि राजनीति, समाज र अध्यात्मको क्षेत्रमा क्रियाशील रहेर भोगका अनुभुतिजन्य सामग्री पस्किएका छौ । सरजु अनलाईनको टीमले नगर प्रमुख कार्कीसंग गरेको सम्वादलाई यहाँ पस्केका हौं ।
यहाँको व्यक्तिगत परिचय भनिदिनूस्
धन्यावाद तपाईलाई फरक ढंगको कार्यक्रममा जोड्नु भएकोमा। मलाई निकै खुशी लाग्यो । अनुभूतिहरु पस्कने अवसर पहिलो पटक अनुभव गर्दैछु । पक्कै पनि मानिस भएर जन्मिएपछि उसको निजी जीवन मात्रै छैन। सामाजिक जिम्मेवारी र उत्तरदायित्वहरु पनि छन् र हुन्छन्। ती सबै जिम्मेवारी एक सचेत नागरिकले अवस्य पूरा गर्नुपर्दछ। यसैको शिलशिलामा म पचास वर्षको भएँ । मेरो जन्म विक्रम सम्वत २०३१ साउन ६ गते तत्कालीन मुलपानी गाविसमा सामान्य मध्यम वर्गीय परिवारमा भएको थियो । मेरो बुवा सरकारी जागिरे गर्नुहुन्थ्यो। हजुरबुवा र हजुरआमा खेती किसानी गर्नुहुन्थ्यो । परिवार र समाजको कल्याणको लागि काम गर्ने धार्मिक व्यक्तित्व हुनुहुन्थ्यो ।
यहाँको बाल्यकाल कस्तो रह्यो ?
म त्यही परिवार र परिवेशमा हुर्कदै गएँ । बुवा राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति बुझेको व्यक्तित्व हुनुहुन्थ्यो । त्यत्तिबेला उपसचिव तहमा सरकारी जागिर गर्नुहन्थ्यो । हजुबुबा आध्यात्म र राजनीति दुबैप्रति औधि रुचि राख्नुहुन्थ्यो ।मेरा तीन मदिदीबहिनीहरु छन् र आमा विशुद्ध गृहणी हुनुहुन्थ्यो । यही परिवारमा म जन्मिएर हुर्के । बुवा एक जागरुक व्यक्तित्व हुनुहुन्थ्यो । त्यो बेला उहाँको छोरालाई ठूलो मान्छे बनाउनेसपना थियो। त्यसै कारण मलाई बुवाले नेपालको नाम चलेका इलिजेन्ट पियर बोर्डिङ स्कुलमै भर्ना गरिदिनु भयो । जतिबेला म तीन वर्षको मात्रै थिएँ। स्कुलको होस्टेलमा बस्दा मेरो स्वास्थ्यमा समस्या आएपछि हजुरआमाकै अग्रसरतामा मैले त्यो विद्यालय छोडे । अनि बुवाले मलाई चावहिलको भृकृटी स्कुलको कक्षा २ मा भर्ना गरिदिनु भयो । त्यत्तिबेला हामी विद्यालय मुलपानीबाटै हिडेर जान्थ्यौ । भृकुटी स्कुलबाट कक्षा पाँच उत्तीर्ण गरेपछि मैले अमर आदर्श माध्यमिक विद्यालय नयाँ वानेश्वमा कक्षा ६ देखि पढ्न थाले । त्यही विद्यालयबाट माध्यमिक तहको अध्ययन पूरा गरे ।
राजनीतिले तपाईलाई कसरी प्रभाव पार्यो ?
मेरो घरमा राजनीतिक छलफल भैरहने गर्दथे । धर्म र आध्यामिकप्रतिको रुचिले मलाई छोयो । हजुुरबुवाको सत्संगतले म प्रभावित थिए । मलाई अहिले पनि याद छ। त्यत्तिबेला अहिलेको जस्तो टिभी, मोबाइल हुँदैन थियो । त्यत्तिबेलाको सञ्चार माध्यम भनेको नै रेडियो हो । हजुरबाले बीबीसी खुबै सुन्नुहुन्थ्यो । बीबीसीमा नेपालको राजनीतिको विषयमा धेरै आउँथ्यो समाचार । मसंगका दौतरीहरु खासै चासो नगरेपनि मेरो रुची भने रेडियोमा कस्तो समाचार आउँछ भन्ने चासो मैले राखिरहन्थे । मलाई त्यत्ति जानकारी नभएपनि म निकै चासो दिएर रेडियो सुन्थे । त्यहीबाट मेरो मनमा राजनीतिको विषय घुस्यो , राजनीति के हो ? किन गर्नुपर्छ भन्ने चेतना विस्तारै विकास भयो ।बाल्यकालमै ममा राजनीतिक चेत, सामाजिक सोच र आध्यात्मिक जागरण अँकुरण भएको थियो। जुन अहिले आएर त्यो अनभुति हुने गरेको छ। आज राजनीति, समाज र आध्यात्मलाई मैले संगसंगै अघि बढाएको छु।
राजनीतिक यात्राको शुभारम्भ कसरी भयो ?
बाल्यकालमा राजनीतिप्रति चासो मेरो भएपनि राजनीतिप्रतिको बुझाइ परिपक्कवता थिएन। बाल मनोविज्ञानमा राजनीतिले गहिरो प्रभाव भने पारेको थियो । यसैक्रममा जब २०४६मा जनआन्दोलन भयो ।राजाको विरुद्धमा नाराबाजी भएको सुने । त्यसपछि राजनीतिप्रतिको मेरो सम्बन्ध विस्तारै जोडिन थाल्यो । हामी प्रजातन्त्र भनेको के हो ? प्रजातान्त्रिक व्यवस्थामा जन अधिकार कस्तो हुन्छ भन्ने थाहा पाउँदै गयौ । र म नेपाल विद्यार्थी संघसंग आवद्ध भए। साथीहरु नेविसंघको सदस्यता काट्न भन्थे । हामी पनि सदस्यता लिन्थ्यौ । राजनीतिप्रतिको मेरो लगावले अझै मलाई छुँदै गयो ।
जब म अमृत साइन्स क्याम्पसमा भर्ना भएँ । तब क्याम्पसमा भइरहेको राजनीतिक गतिविधिले मलाई थप प्रभावमा पार्दै गयो । ममा अझै राजनीतिक चेत बढ्यो ।प्रजातन्त्रको पुर्नस्थापनाको पक्षमा नेताहरुले भाषण गरेको म खुबै सुन्थे । त्यत्तित्रेला नेताहरुले बोलेका ती भाषणहरु अहिले पनि मेरो मानस्पटलमा दोहोरिरहन्छन् । त्यत्तिबेला राजनीतिक क्षेत्रका निष्ठावान नेताहरु कृष्णप्रसाद भट्टाराई,गणेशमान सिंह र मदन भण्डारीले मन्चमा गरेका सम्बोधन सुन्न खुबै जान्थे । त्यत्तिखेर साथीहरुले मलाई भन्ने गर्दथे। नेताको भाषण धेरै सुन्छस्, तँ चाँही नेता बन्छ क्या भन्दै जिस्क्याउँथे । साँच्चिकै आज साथीहरुले भने जस्तै म राजनीतिलाई सेवाको रुपमा अघि बढाएको छु । त्यो बाल मनोविज्ञानमा रोपिएको राजनीतिक चेतनाले मलाई आज संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाभित्रको एउटा स्थानीय सरकारको प्रमुख बन्ने अवसर दिएको छ। यसैमा मलाई गौरव छ। जनताको सेवामा सदैव समर्पित हुन पाएको छु र हुन पाऊँ पनि ।
नेतृत्व, अवसर र चुनौति कस्ता रहे ?
म भाग्यमानी हुँ जस्तो लाग्छ। जहाँ –जहाँ म पार्टी या सामाजिक संघ संस्थाहरुको जिम्मेवारीमा पुग्दथे त्यहाँ– त्यहाँ मलाई सचिव बन्ने अवसर आउँथ्यो । सचिव पद क्रियाशिल पद भएकैले होला, त्यो असवसर मलाई मिल्थ्यो । सायद मेरो सक्रियताले पनि यो अवसर मिलेको होला । राजनीति मात्रै होइन, समाज सेवाको क्षेत्रमा पनि म यस्तै अग्रसर हुन्थे । विभिन्न सामाजिक संगठनमा जोडिए । त्यहाँ पनि यस्तै जिम्मेवारी आइहाल्थ्यो । रोटरी क्लबजस्तो सामाजिक संगठनमा जोडिए । त्यहाँ पनि धेरै काम गरे ।रोटरी क्लबले मलाई विषयवस्तु बुझ्न र पस्किन सिकायो । सचिवको जिम्मेवारी त्यहाँ पनि पाएँ अध्यक्ष पनि भएँ । जति –जति म विभिन्न संघ संगठनमा जोडिन्थे, उति – उति कसरी समाजको अगुवा बन्ने भन्ने हुटहुटी उत्ति नै हुने गर्दथ्यो । राजनीति मुल नीति हो, अन्य नीतिहरु सहायक हुन्। मुल नीतिलाई थितिमै अघि बढाउनु नै लोकतान्त्रिक चरित्र र संस्कार हो । प्रजातान्त्रिक प्रतिस्पर्धाबाट देशको सेवा गर्न पाउनु हरेक नागरिकको लागि अवसर र चुनौति रहेछ। यही अवसर र चुनौतिको बीचमा राजनीति र समाज सेवालाई संगसंगै अघि बढाउने अवसर पाएँ ।
राजनीति र समाज सेवा संगसंगै अघि बढ्दै गर्दा विर्सन नसकिने नमिठो क्षण के छ ?
विशेष गरी म जहाँ छु, यसको श्रेय मेरो आमा र बुवासहित परिवारकै हो । म अध्ययन, राजनीति र समाज सेवामा लागिरहेको थियो । हजुरबुबादेखिको मेरो राजनीतिक चेतनाले समाजमा केही परिवर्तन गर्न चाहान्थे । म राजनीति र समाज सेवामा लागेको देखेर बुवाले भन्नुहुन्थ्यो । यसले केही राम्रो गर्ला जस्तो लागेको छ है भन्नु हुन्थ्यो । बुबाको ती वाणीले मलाई अझै अभिप्रेरित गर्दथ्यो । रोटरी क्लबको सदस्य हुँदै त्यसको सचिव अनि अध्यक्ष भएँ। तर, मैले मेरो बुवालाई चाँडै गुमाए। ४४ वर्षको उमेरमा बुवाले हामीलाई छोडेर जानु भयो । जब बुवाको निधन भयो । त्यसपछि मेरो काँधमा जिम्मेवारी थपियो ।
राजनीति र सामाजिक क्षेत्रमा करिअर बनाइरहेको म जस्ता युवाका लागि धक्का लाग्यो ।हजुुुर बुवाको काजकिरिया गर्नेक्रममै बुवाको निधन भएको थियो । उहाँलाई दमको समस्या थियो । बुबाको निधनपछि मेरो काँधमा घरको जिम्मेवारी थपियो । त्यसपछि म व्यवसायसंग पनि जोडिए। ट्राभल टुरिजमतिर पनि जोडिए । घरमा दिदी बहिनीहरु थिए। आमाले राजनीति त सेवाको पेशा हो। यसरी त घर चल्दैन पनि भन्नुहुन्थ्यो । आमाको त्यो चिन्ता र चासोले मलाई निकै गम्भीर बनाउँथ्यो । यद्यपि मेरो राजनीतिप्रतिको लगाव र रुची मरेको थिए। राजनीतिबाटै केही गर्दछु भन्ने हुटहुटी कायम थियो । राजनीतिमा लाग्दै जानुपर्ने भयो । २०५६ सालमा तरुण दलको पुर्नगठन भयो । त्यहाँ म जोडिए ।
सामाजिक संघ संस्थाको अनुभव कस्तो रह्यो ?
ममा राजनीतिक रुची मात्रै थिएन, सामाजिक क्षेत्रमा सामाजिक कार्यकर्ता भएर काम गर्नुपर्दछ भन्ने पनि थियो । त्यसैको कारण म वातावरण पत्रकार समाजमा पनि जोडिए। दिगो विकास मन्च नामको गैर सरकारी संस्थामा पनि काम धेरै गरे । राजनीति मुल मियो भएपनि वातावरणीय मुद्दा निकै जल्दोबल्दो छ। वातावरण संरक्षणको क्षेत्रमा धेरै काम गर्नुपर्छ भन्ने लागेको थियो । राजनीतिक तथा सामाजिक संघ संगठनहरुमा जोडिएर निरन्तर अघि बढी रहे । म जहाँ जहाँ आवद्ध हुन्छु , त्यहाँ त्यहाँ मैले सचिवको जिम्मेवारी पाउँथे । यो मेरो सौभाग्य पनि होला । मेरो क्षमताको सवाल पनि होलो । विषय वस्तुलाई बुझ्ने र बुझाउने सक्ने खुबी र क्षमताको कारण पनि होला । मलाई जसले पनि सचिव पदमै अघि सार्र्थे आफू पनि पाएको जिम्मेवारी इमान्दार तरिकारले निर्वाह गर्दथे ।
पार्टीमा नेतृत्व र जिम्मेवारीको अवसर कस्ता रहे ?
२०५६ ताका हो मलाई किशुनजीको चुनावका लागि युवाहरुको कमाण्डरको तोकिएको थियो । त्यत्तिबेला पाटी फुटेको थियो । म फेरि तरुण दलबाट क्षेत्रीय सचिव भएँ। एकथरीका अग्रजहरु पार्टीमा युवाहरु आइदिएपछि राजनीति सहज हुन्छ। सामाजिक उत्तरादायित्व बढाउन सकिन्छ भन्ने थियो, भने अर्काे समूह फेरि हामी जस्ता युवा आउँदा डराउने थियो । यद्यपि एघारौ महाधिवेशनमा पार्टीको क्षेत्रीय सभापतिमा निर्वाचित भएँ । आफूले सकेको संगठन विस्तारमा लागे । राजनीति अझै गर्नुर्पे प्रेरणा पाएँ । राष्ट्रिय चुनावको कुरा आयो । सांसद पदमा पनि उठ्न पर्छ भन्ने आयो । यद्यपि मैले टिकट भने पाएन । त्यसपछि २०७४ मा कागेश्वरी मनोहराको नगरप्रमुखमा चुनाव लडे। थोरै ४५० मतले नगरप्रमुख जित्न सकिन । झिनो मतकै कारण नगरप्रमुखमा विजयी नभएपछि मममा झन् आँट र हिम्मत आयो । मैले अझै मेहनत गर्नुपर्छ। जनतालाई बुझाउनुपर्छ भनेर निरन्तर लागे । अनि २०७९ को स्थानीय निर्वाचनमा कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुखमा शानदार मतले विजयी भए। आज उनै नगरबासीको हित र कल्याणको लागि निरन्तर क्रियाशील छु। आज सबैका रोजाइको नगर बनेको छ, कागेश्वरी मनोहरा । देशकै पहिलो नगर हो, यो जहाँ बसाइसराइ गरेर आउनेहरुको संख्या ठूलो छ। मुलतः त व्यवस्थित नगरकै भएकै कारण पनि हुन सक्छ।
पछिल्लो अधिवेशनमा कांग्रेसको सभापतिमा प्रतिस्पर्धा गरे।तर, जितिन । यद्यपि मेरो प्रयास जारी छ। लोकतान्त्रिक मूतल्य र मान्यतालाई कायम राखेर जनताको जीवनस्तर सुधार्न लाग्नुपर्छ भन्नेमा म विश्वस्त छु प्रतिवद्ध छु । युवाहरु जबरजस्त राजनीतिमा आउनुपर्छ भन्ने थियो । दीगो विकास मन्चमा काम गर्दा युएसएआइडीसंग काम गरे । त्यसले मलाई अझै राजनीतिमा सक्रिय हुन प्रेरित गरेको थियो । जनताको लागि केही न केही गरेको पक्कै छु। जनता, घर र पार्टीबाट साथ र सदभाव पाएको छु । यही नै मेरो जीवनको अतुलनीय सामाजिक पूँजी भएको ठानेको छु।
राजनीति, आध्यात्म र समाजबीचको अन्तर सम्बन्ध के छ ?
राजनीति नीतिको मुल मियो हो । समाजलाई व्यवस्थित गर्दै अघि बढाउने गर्दछ । जीवन र जगतको संरक्षण र प्रवद्र्धन गर्नमा यसकै भूमिका रहन्छ। वातावरणको कुरा गरियो भनेपनि राजनीति हो । समग्र कुराको नेतृत्व गर्ने राजनीति हो भने अध्यात्म, धर्म र विकास यसैबाट हुन्छ। म समाजमा हेपिएका, दबिएका वर्गलाई प्राथमिकतामा राखेर काम गरेको छु। इतिहासमा केही सम्झनलायक काम गर्न सकूँ भनेर लागेका छु। हाम्रो धर्म,परम्परा, संस्कृति मूल्य मान्यतालाई अझै विकसित गरेर जानुपर्ने छ। त्यसमा विभिन्न किसिमका नकारात्मक प्रभाव परेको छ। हाम्रा सन्ततीलाई भोलि देखाउन नसकेमा त्यो दुखद हुनेछ। यसर्थ हाम्रो पूर्वीय सभ्यता, संस्कृति र दर्शनको प्रवद्र्धन गर्दै अघि बढौ ।
नयाँ पुस्तालाई सन्देश के छ ?
युवा पुस्ता राजनीतिमा आइराख्दा खेरी म केही भन्न चाहान्छु । हिजो बुवाको निधनपछि मेरो काँधमा जिम्मेवारी आयो । त्यत्तिबेला मैले आमालाई भन्ने गर्दथे। म तपाईलाई राजनीतिमा केही गरेर देखाउँछु। यदि त्यसो भएन भनेपनि एक शिक्षक भएर पनि जिवन जिउन सक्छु भन्थे । बुवाले पनि म रोटरीमा हुँदा खुबै प्रेरेणा दिएको कुराले मलाई निकै प्रभाव पार्दथ्यो । राजनीतिमा पछिल्लो समय गलत भाष्य पनि सिर्जना भएको छ। जसको विषयमा युवााँहरुलाई अनुरोध गर्न चाहान्छु। आज कुनैपनि देशले समृद्धि हासिल गरेको छ। त्यसो हुनुमा उनीहरुले इतिहासको अध्ययन, वर्तमानको विश्लेषण र भविष्यको आँकलन गरेका छन्। त्यसका लागि उनीहरुले इतिहासलाई गहिरो गरी बुझेका छन्। जसले गर्दा उनीहरुले प्रगति गरे ।
नयाँ पुस्ताले इतिहास पढ्नुपर्छ। रााणा राजाको शासनमा देशको अवस्था कस्तो थियो ? अहिले हामी स्वतन्त्र भएका छौ । प्रजातान्त्रिक प्रतिस्प्र्धाबाट राज्यका हरेक निकाय र तहमा पुग्ने अवसर हरेक सार्वभौम नागरिकलाई मिलेको छ। २०६२÷६३ को जनआन्दोलनपछि मुलुकले धेरै प्रगति गरेको छ। २०७२ जनताका प्रतिनिधिले पहिलो पटक लेखेको नयाँ संविधान आयो। हरेक गाउँ र नगरमा धेरै परिवर्तन भएको छ। हाम्रो विकास युरोपको जस्तो नहोला । तर, हिजोको जस्तो अवस्थामा ठूलो परिवर्तन आएका छ। सडक नपुगेको जिल्ला र पालिका छैनन्। ९८ प्रतिशत घरमा विद्युत पुगेको छ। प्रतिव्यक्ति आय बढेको छ। साक्षरता बढेको छ। औसत आयू बढेको छ। यसर्थ नकारात्मक टिप्पणी गरेर मात्रै हुदैन । त्यसका लागि योगदान गर्ने भूमिकामा बसौ । यो देश युवाको हो । युवाकै काँधमा जिम्मेवारी छ। यसर्थ सकारात्मक सोचका साथ सबै युवालाई अघि बढ्न म आग्रह गर्दछु ।
(नोट : यो सम्वाद कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीसंग मेरो कथा भन्नू छ, कार्र्यक्रमबाट साभार गरिएको हो । उहाँको प्रत्यक्ष भिडियो सम्वाद हेर्नका लागि सरजु अनलाईनको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ। )