७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

संगठित अपराधको कसुरमा कांग्रेस नेता भरत चौलागाईँ जेल चलान


५ मंसिर २०८३, शुक्रबार  


इजरायल पठाउने नाममा भएको ठगी मुद्दामा पक्राउ परेका नेपाली कांग्रेसका नेता भरत चौलागाईं जेल चलान भएका छन्। जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई महिनाअघि उनलाई पक्राउ गरी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गरेको थियो । जसमा पक्राउ परेका अन्य चारजना भने धरौटीमा छुटेका छन्।

अदालतले बालिका सिवाकोटीलाई एक लाख, ज्ञानबहादुर कार्कीलाई दुई लाख ५० हजार, शिवराम श्रेष्ठलाई दुई लाख ५० हजार र दीपेन्द्र सिंह सामन्तलाई एक लाख ५० हजार रुपैयाँ धरौटी माग गरेकोमा धरौटी बुझाएर उनीहरू रिहा भएका छन्।

यस प्रकरणमा कांग्रेस नेतृ विनिता खड्का पनि पक्राउ परेकी थिइन्। ठगीको पैसा चौलागाईंले उनको खातामा पठाएको खुलेपछि सिआइबीले उनलाई पनि पक्राउ गरेकोमा पछि अदालतको आदेशमा उनी छुटेकी थिइन्।

चौलागाईंको योजनामा मन्त्रिपरिषद्कै नक्कली निर्णय देखाएर इजरायल जान आकांक्षीहरूसँग पैसा उठाइएको थियो। प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनसँग सेटिङ मिलाएर मन्त्रिपरिषदबाटै निर्णय गरिदिने भन्दै ठगी भएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शुक्रबार  ५ : २७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित