१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

दंगाली नेतालाई गिज्याईरहेको ‘टरिगाउँ विमानस्थल’


८ माघ २०८१, मंगलबार  


गएको भदौमा टरिगाउँ विमानस्थल विस्तारको विषयले आमसञ्चारदेखि सामाजिक सञ्जालमा निकै स्थान पायो। विषय थियो, दाङको टरिगाउँ विमानस्थल विस्तारको। दाङको गौरवको रुपमा रहेको यस विमानस्थल विस्तारको खबर सम्प्रेषणले धेरै दंगालीमा पुनः आशा अंकुरित पनि भयो ।

हुन त विकास पूर्वाधारको काम राज्यको आफ्नै प्रक्रियाबाट हुन्छन्। तर हामी कहाँ त्यस्तो पद्धतिको विकास भएकै छैन, संस्कार पनि बसेकै छैन। उही पञ्चायतकालीन तौरतरिका छ। बडे नेताले दबाब नदिएसम्म कुनै पनि विकासको काम अघि नबढ्ने प्रवृत्तिको शिकार दाङले पनि झेलेको छ।

यही प्रवृत्तिलाई पछ्याउँदै एमालेका महासचिव शंकर पाखेरेल, कांग्रेसका सांसद दीपक गिरी लगायतका एक दर्जन व्यक्तिहरुले टरिगाउँ विमानस्थल विस्तारका लागि प्रधानमन्त्री केपी ओलीको दर्शन गरेको भन्दै दुईचार थान तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। पोखरेल र गिरीको अगुवाइमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएको खबर बाहिरिएको पनि ६ महिना भैसक्न लाग्यो । तर, टरिगाउँ विमानस्थल विस्तारको कुनै अत्तोपत्तो छैन ।

शंकर पोखरेल र दीपक गिरीले प्रधानमन्त्री ओलीको दर्शन गरेको जति चर्चा भयो, त्यही अनुसार कुनै प्रगति भएको देखिएन गएको छ, महिनामा । करिब साढे तीन अर्बको लागत अनुमान गरिएको यस विमानस्थल विस्तार गर्न सरकारलाई कुनै आइतबार कुर्नुपर्दैन । तर, सरकारको इच्छाशक्ति नभएकैले विमानस्थल विस्तारले गति लिन सकेन। संघीय शासन यता मुलुकमा ४ खर्ब हाराहारीका भ्यूटावर बनेपनि टरिगाउँ विमानस्थल विस्तार अहिलेसम्म भएन ।

विमानस्थलको यो कन्तविजोग हुनुमा दंगाली नेताकै कारण भएको बुझाइ छ, तुल्सीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तम श्रेष्ठको । उनी भन्छन्, संसारले समुद्रमुनि बस्ती बसाली सक्यो, हाम्रो २०१६ सालदेखि टरिगाउँमा नियमित विमान उडेको अहिले कहानी जस्तो भएको छ। नेपालगञ्ज भन्दा पहिले दाङमा विमान उडान भएपनि हाम्रा नेताले सिन्को भाँचेनन्। जसको परिणाम दंगालीले अझै ज्ञापनपत्र बुझाउँछन्। यो नौलो कुरा भएन अब ।

नागरिक उड्डयन प्राधिकरणको प्रतिवेदन अनुसार विमानस्थल स्तरोन्नतिका लागि तीन अर्ब ४२ करोड बढी लागत अनुमान छ। करिब तीन वर्षमा यो स्तरोन्नतिको काम सम्पन्न गर्न सकिने भएपनि सरकारको ध्यान पटक्कै देखिन्न। हरेक प्रधानमन्त्री,सभामुख,मन्त्री आदि भीआइपीलाई ज्ञापनपत्र बुझाएरै इतिहास रचिएको छ। विमानस्थल स्तरोन्नतिदेखि डिपो सन्चालनमा पनि उस्तै उस्तै कहानी छ।

प्रधानमन्त्री मन्त्री र सभामुख जम्मै जम्मैलाई हार गुहार गर्न थालको धेरै समय भो । तर, सबैले राजनीति स्वार्थको रोटी सेके । विमानस्थल विस्तारमा कुनै छनक देखिएन भन्छन्, प्राध्यापक नारायण आचार्य । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष समेत रहेका आचार्य ज्ञापन पत्र नेताको देखावटी मात्रै भएको टिप्पणी गर्दछन्।उनी भन्छन्, “समाजसेवी झक्कुप्रसाद आचार्यको पहलमा तत्कालीन राजा त्रिभुवनको पालामा टरिगाउँमा उडान परीक्षण गरिएको थियो । उनै राजा त्रिभुवनको स्वीकृतिबाट स्थापना भएको दाङस्थित टरिगाउँ विमानस्थल अहिले संकटमा परेको छ ।”

तत्कालीन समयमा टावर लगायत उपकरणको अभावमा विमान आउँदा पराल बालेर राँकोलाई संकेतका रुपमा प्रयोग गरी विमान अवतरण गराइएको अनुभव स्थानीय वृद्धहरु सुनाउँछन् । इतिहासको माया लाग्नेहरुले टरिगाउँ विमानस्थलको माया मार्न सकिरहेका छैनन् । दाङ जिल्लाबाट शंकर पोखरेल, कृष्णबहादुर महराजस्ता ठूला नेताले प्रतिनिधित्व गरे, उनीहरु मुख्यमन्त्री भए, सभामुख भए। अहिले एमाले कांग्रेसको संघदेखि प्रदेशसम्मका सरकार छन्। तर, सबैले आश्वासन दिन्छन्। व्यवहारमा हात लाग्यो शून्य भन्दै स्थानीयहरु आक्रोश पोख्छन्।

स्थापनाका ३१ वर्षसम्म सुचारु रहेको यस विमानस्थल २०४२ सालदेखि बन्द भयो । २०६० सालमा तुलसीपुर उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष उत्तम श्रेष्ठको पहलमा फेरि खुल्यो र २०६६ सालमा बन्द भयो । २०६८ माघपछि तुलसीपुर उद्योग वाणिज्य संघकै पहलमा नेपाल वायुसेवा निगमसँग विभिन्न सम्झौता गर्दै फेरि सञ्चालनमा ल्याइयो । तर, त्यो पनि नौ महिनाभन्दा धेरै टिक्न सकेन ।यसरी पटक–पटक बन्द हुँदै र खुल्दै आफ्नो अस्तित्व जोगाउन धौ–धौ परिरहेको विमानस्थल २०७५ असोजदेखि तुलसीपुर उपमहानगरपालिकाको पहलमा फेरि सञ्चालनमा आयो ।

विमानस्थल सञ्चालनमा ल्याउन कति कठिन छ भन्ने कुरा तुलसीपुर उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष विमल रिजाल र तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डेले नेपाल वायुसेवा निगमसँग गरेका सम्झौताका केही सर्तहरुले पनि स्पष्ट पारेको देखिन्छ।विमल रिजालले काठमाडौँ–तुलसीपुर–काठमाडौँ एक उडानमा ६ सिटको जिम्मा लिँदै सम्झौता गरेका थिए । ६ सिटको मूल्य संघले निगमलाई तिथ्र्यो । पूर्व मेयर पाण्डेले ‘यदि घाटा भएमा निगमको सम्पूर्ण घाटा उपमहानगरले जिम्मा लिने’ सर्तमा निगमको खातामा १० लाख रुपैयाँ धरौटी अग्रिमरुपमा जम्मा गरेर विमान सञ्चालनमा ल्याएका थिए । यसरी शर्तै–शर्तमा विमान उडान गर्ने कोशीस गरिएपनि त्यो दीगो हुन सकेन। किनकी यो त हवाइ कम्पनीहरुको बिजनेसको सवाल थियो र हो । उनीहरुले व्यवसायीक उडान गर्ने हो, निजी क्षेत्रले सहजीकरण गर्ने हो, राज्यले वातावरण निर्माणसंंगै पूर्वाधार निर्माण गर्ने हो । तर, टरिगाउँ विमानस्थललाई राज्यले सौतेनीको व्यवहार गर्दै आएको छ।


यही हो समस्या । धावनमार्ग छोटो छ। ७२ सीटे विमान अवतरण गर्न सक्दैनन्। धावनमार्ग ७५० मीटरको मात्रै हुँदा १६ सिटे साना ट्वीनटर विमान मात्रै उडान भर्न सक्छन्। तैपनि महंगो भाडासंगै उडान अनियमित हुँदा विमानस्थल गौचरण जस्तै बनेको छ।धावनमार्ग विस्तार गर्ने, ईन्धन डिपो स्थापना गर्ने र कम्तीमा मध्यम खालका एटीआर विमान सञ्चालन गर्न दाङबासीले पहल नगरेका पनि होइनन् । पर्यटन र वाणिज्यमन्त्रीदेखि, नागरिक उड्यन प्राधिकरणका प्रमुख, आयल निगमका प्रमुख, वाणिज्य मन्त्रालयका सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव, दलका शीर्षस्थ नेता, दाङलाई प्रतिनिधित्व गर्ने र केन्द्रमा पनि पकड राख्ने ठूला नेताहरु, दाङका जनप्रतिनिधिहरु सबैलाई भेटेर जिल्लाबासीले अनुनय– विनय गरे । तर, मिल्यो त केवल आश्वासन मात्र ।

दाङमा दैनिक दुईसय जना हवाइ यात्रुको माग छ । तर, मुलुककै पुरानो विमानस्थलमा पैसा तिर्छु भन्दा पनि सेवा पाउन नसक्नु दंगाली जनताको नियति नै भएको छ विगतका समयमा पनि सरकार परिवर्तन हुँदा नयाँ मन्त्री भेट्न दाङबाट एउटा डेलिगेसन नै सिंहदरबार धाउँथ्यो, आश्वासन पाउँथ्यो अनि फोटो खिचेर दंग पर्दे दाङ फर्किन्थ्यो त्यो लाजमर्दाे नियती आज पनि उत्तिकै जारी छ।


यतिबेला कांग्रेस –एमालेको शक्तिशाली संंघीय सरकार छ। शंकर पोखरेल प्रधानमन्त्री ओलीका खास पृय पात्र हुन्। उनी ओलीका एस म्यान समेत हुन्। उनले यदि राजनीतिक इच्छा देखाउँथे भने ओलीले विमानस्थल स्तरोन्नति गर्न आदेश दिन आइतबार कुर्नुपर्ने थिएन। यहाँ विमानस्थल स्तरोन्नति भन्दा पनि राजनीतिक इगो र स्वार्थ बाझिएको छ, भन्छन्, व्यवसायी घनश्याम अधिकारी । जनताका आवस्यकता भन्दा पनि नेताकै स्वार्थ अनि अस्थिरताको शिकारको पासोमा टरिगाउँ विमानस्थल परेको उनको भनाइ छ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ९ : २७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित