२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

जेनजीले खोजिरहेको नेतातन्त्रको अन्त्य


२४ चैत्र २०८१, सोमबार  


जेनजी त्यस्तो पुस्ता हो, जो इतिहासलाई बुझ्न सक्छ ,दुनियाँको विकास पढ्न सक्छ। राष्ट्रको माटोलाई सुँघ्न सक्छ। आफ्नो धर्तीमै टेकेर संसारभर
स्वतन्त्र भएर चरा झै उड्न चाहान्छ र सक्छ पनि । प्रविधि र विकासको रफ्तारमा देश गुडेको हेर्न चाहान्छ, अनुभव गर्न चाहान्छ।

इतिहासको वीरताका कथा भन्दा वर्तमानको देश निर्माण र सिर्जनामा रुचि राख्छ। विद्रोह र क्रान्तिका भाष्य भन्दा उद्यम, रोजगार नव प्रवर्तनका सफलताका कथामा झुम्न चाहान्छ। नेताका फगत जीवनीका कथा भन्दा अनुभव गर्ने सुशासन र जवाफदेहिता खोजिरहन्छ। संविधान जारी गर्दा हौसिएको जेनजी यतिबेला तिनै नायकप्रति आक्रोशित छ। देउवा, प्रचण्ड र ओलीलाई नायक ठान्ने जेनजीले यतिबेला नालायक ठानिरहेको छ। जेनजी नजन्मिदै प्रधानमन्त्री भएका देउवा अहिले पनि प्रधानमन्त्रीका लागि खुट्टा उचालेको देख्दा चिढिएको छ, नयाँ पुस्ता ।

अमेरिका जस्तो देशमा गएको तीस वर्ष यता दर्जनौं अनुहारहरू कार्यकाल सकेर प्राय सत्तामा फर्किएनन्। जर्ज बुस राष्ट्रपति हुँदा जन्मिएको जेनजीले उहीँ देउवालाई अहिले पनि सत्तामा फर्किन खोजेको देख्दा दिग्दार र आक्रोशित छ ।सिँहदरबारमा फोटो झुन्ड्रयाउन र भ्रष्टाचारमा नयाँ कीर्तिमान राख्न बाहेक अन्य प्रगति शून्य भएपछि युवा वर्ग खुश कसरी बनोस्।उमेरको हिसाबले घरले जा -जा वनले आईज -आइजको अवस्था छ।

यस्तो अवस्थामा पुग्दा समेत सत्ता र पार्टीको कुर्सीबाट
टसमस भएको देखिन्नन् ओली , देउवा र प्रचण्ड । पार्टी भित्र नेतृत्वको बन्धयाकरण गरेर नेतातन्त्र चलिरहेको छ।भाषामा लोकतन्त्र भनिएपनि पार्टी भित्र चरम अलोकतान्त्रिक छ। विधिको विकल्पमा व्यक्ति हाबी छ। घुमिफिरी रूम्जाटार भने झै उहि देउवा , उहि ओली उहि प्रचण्ड सत्ताको पिङमा दोहोरीरहेका छन् । प्रचण्ड ३५ वर्षदेखि पार्टी कब्जा गरेका छन् । देउवा विधिबाट नेतृत्वमा आएपनि व्यक्ति हाबी छन् । ओलीले विरोधीलाइ पाखा लगाएर हनुमानहरूलाई दबाएर पार्टी कब्जा गरेका छन । जबजलाई धोती लगाईदिएका छन् ।शासन प्रशासनमा यिनीहरू नै हाबी छन् । नयाँ संविधान भएपनि यीनीहरूकै तजबिजमा यसको व्याख्या र कार्यान्वयन हुन्छ र हुने गरेको छ।

राष्ट्रपति र उपराष्टपति पद जस्तो गरिमामय पदमा पुगेकाहरू फेरि पार्टी राजनीतिमा स -गौरव फर्किएका छन् । लोकतन्त्रको दुहाइ दिएर अलोकतान्त्रिक चरित्र देखाउँछन् । तीब्र परिवर्तनको अपेक्षा राखेको जेनजी यस्ता अनैतिक राजनीति देखेर वाक्क दिक्क छ।
सन् १९९७ देखि २०१२ सम्म जन्मिएका मानिसहरूको समूह हो, जेनजी। जसलाई ‘जेनेरेसन जी‘ भनिन्छ ।यसको छोटो रूप हो जेनजी।

पछिल्लो समय यो पुस्ताको भावना र सपना भन्दा उत्तेजनाको गलत व्याख्या गरिएको छ। सत्ताको बदमासी लुकाउन र छिपाउनको साथै उसको योजना र सपनालाई सत्ताको हतियारले तेजोबध गर्न खोजिएको छ। नेताको जेल र झेलका गायत्री मन्त्री र दन्तेकथा सुन्न रूचिकर छैन नयाँ पुस्ता ।उसले खोजेको राज्यको डेलिभरीमा परिवर्तन खोजेको हो, आ फ्नो पुस्ताको जीवन बदलिएको हेर्न खोजेको हो । नेताले कतिवर्ष जेल बस्यो ?कतिवटा पुस्तक लेख्यो ? बाकावीर कथा होउन् या ठोरीका दन्ते कथा उसको सरोकारको विषय होईनन् । बरू सत्तामा कतिपटक बस्यो रु कति राम्रो गर्या या गरेन यसको बहिखाता खोजिरहेको छ,युवा पुस्ताले ।युवा पुस्ताले खोजेको वास्तविकता सुशासन र समृद्धि हो, व्यवहारमा । ओठ र भोटमा होईन।

तर,पछिल्लो समय सत्ताधारीप्रति बढ्दो असन्तुष्टिलाई नजर अन्दाज गरिएको छ। जेनजीलाई राजावादीको करार गरिएको छ। राजाको आतंक नभोगेको नयाँ पीढी भनेर गलत भाष्य निर्माण गरिएको छ। आफ्नो अपराध छिपाउन गरेको नेतृत्वको यो अर्को दुष्कर्म हो।

चैत १५ मा राजावादीले भड्काएको हिंसामा दोष अन्तै थोपेर ओभानो बन्न खोजिएको छ। जबकि कुनै पनि नयाँ पुस्ता आउट डेटेड राजतन्त्रवादीको पक्षमा छैनन् र हुन्नन् पनि ।किनकि त्यो समूहमा देखिएका अनुहार यो देशको शासनसत्तामा पटकपटक परीक्षण भैसकेको थाहा छ, जेनजीलाई। अपवाद बाहेक कुनै पनि जेनजी उल्टो गतिलाई स्विकार्न तयार छैन ।

सडकमा देखिएको यो आक्रोश दलपतिको अन्त्य दलभित्र लोकतान्त्रिकरणका लागि हो। अलोकतान्त्रिक दलले लोकतन्त्रको प्रत्याभूति दिन सक्दैन।यहि बुझेको छ, जेनजीले।यो यथार्थ नबुझि राजाको अन्धकार शासन नभोगेको पुस्ता भनेर करार गरिनु परिवर्तनको गति र आकाँक्षालाई विषयान्तर गर्न खोज्नु हो।देशभक्त युवा हो, यो दल भक्त होईन। काँधमा राष्ट्रिय झण्डा बोकेर मुलुकको अस्मिताको लागि लड्ने तातो र रातो रगत भएको युवा हो।

उमेरले पाको नहोला अध्ययन र चेतना अग्रगामी छ। जसले रैती व्यवस्थाका प्रवर्धकलाई चिनेको छ। स्वतन्त्रताको गला निमोठेर पुरूष सत्तामा रमाउनेहरूलाई बुझेको छ। कथित राजावादी आन्दोलनमा उभिएका पुरूष बुमरहरूबाट परिवर्तनको हुटहुटी सम्बोधन हुन्न भन्ने थाहा छ।

यस्ता पुरूष बुमरहरूको लाईनमा नवराज सुवेदी, जगमान गुरूङ,डाक्टर प्रकाशचन्द्र लोहनी,पशुपतिशमशेर जबरा, दुर्गा प्रसाईं र धवल शमशेर राणाहरू छन् । प्रसाईं बाहेक सबै सत्तामा परीक्षण भैसकेका छन् । यीनीबाट जेनजीले अपेक्षा गरेको पनि छैन र साथ दिएको पनि होईन । बरू सत्ताधारीहरूले नयाँ पुस्तालाई धकेल्न खोजिरहेको छ।अधिकांश जेष्ठ नागरिक भेसकेकाबाट आशिरवाद बाहेक कुनै अपेक्षा छैन।पुरूष बाहेक अन्यले सत्ता चलाउनु अछुत हुन्छ भन्नेहरूको ताँती हो,यो।

सत्ताको स्वाद धेरै पटक चाखेका र अहिले चाख्न नपाएका बुमरहरू हुन्। विशेषगरी सन् १९४६ देखि १९६४ सम्म जन्मिएका यस्ता समूहलाई बुमर भनिन्छ । यी बुमरबाट परिवर्तन पनि सम्भव छैन र हुन्न पनि।

यसर्थ नयाँ पुस्ताको चाहाना र सपना पूरा गर्न तीन शीर्ष गणतन्त्रका मठाधिशको राजनीतिक सन्यास हो,उपयुुक्त विधि।अहिलेसम्म गरेको योगदानको उच्च सम्मान गर्दै विदाइ गर्न ढिला नगरौ। र अन्तमा संविधान संशोधन गरौ। शासकीय तथा निर्वाचन प्रणालीमा व्यापक सुधार गरौ। चुस्त शासन प्रणाली अप्नाएर उन्नत लोकतन्त्रको प्रवर्द्धनमा सबै जुटौं।कथित राजतन्त्रको भुतले नतर्सौ, जिम्मेवार नेता र नागरिक बनौ।यसैमा देश र जनताको सर्वोपरि हित छ, कसैले नजरअन्दाज नगरौं।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ९ : २७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित