राजधानीको रत्नपार्कको सामुन्ने ठिंग उभिएको छ, वीर अस्पताल । मुलुककै जेठो चिकित्सालय हो, यो। वीरले विश्वास जिते छ, असाहय र अशक्तको भरोसा बनेको पाइएको छ,पछिल्लो समय ।
केही वर्ष अघि रिपोर्टिङमा जाँदा देखिने वीर अस्पताल भित्रको भद्रगोल अहिले लगभग शून्य जस्तै पाइयो ।ती अस्तव्यस्त लथालिङ्ग देखिन्न दृष्य अहिले देखिएनन् ।ती दृष्य र यी यथार्थतनलाई तुलना गर्ने हो, भने वीर अस्पताल अहिले निकै तंग्रिएको निष्कर्ष निकाल्न गाह्रो नहोला । किनकि अहिलेको वीरको सार र रूप नै फेरिएको देखिन्छ ।

गएको बिहीबारदेखि करिब पाँच दिन वीर अस्पतालका हर तला तलामा पुग्दा फेरिएका दृष्य अस्पताल सुधार तथ्य हुन्। यद्यपि यहाँ अब केही पनि समस्या नभएको भने होईन। तर,औसतमा पक्कै पनि परिवर्तन भएको देखिन्छ । कलेजो विभागमा पुग्दा निर्देशक प्राध्यापक डाक्टर दिलिप शर्मा निकै व्यस्त देखिन्थे।

उनको व्यस्तताकै बीचमा फुत्त जिज्ञासा राख्दा उनले तत्कालै प्रतिक्रिया दिदै भने, ‘अस्पताल खुलेको दुई अढाइ घण्टामा २२ जना बिरामी हेर्न भ्याएँ। मान्छेहरूले भन्छन्, निर्देशकले गाडी चढ्छ होला , सुविधा र ऐश आराम लिन्छ होला।तर, हामी डाक्टरी निर्देशक परियो नि हजुर सधैं बिरामीसंगै वित्छ, दिन।यसैमा सन्तुष्टि पनि मिलिराछ।’
प्राडा शर्मा कलेजोको विशेषज्ञ हुन्।२० महिना जागिरे अवधि रहेको सुनाउदै उनले फेरि भने,’जिम्मेवारी रहँदासम्म जनताको सेवा गर्न पाऊ, यत्ति छ, मेरो कामना।’
वीरमा हरदिन बिरामी खचाखच हुन्छन् । कुपनको व्यवस्थाले पालो मिच्चिने डर हुन्न । हरेक विभागमा पुग्न पनि सजिलो छ। जेष्ठ,अशक्त, असाह्य र अपांगलाई सहजै पहुँच छ। विशिष्ट श्रेणीका चिकित्सक भएकोले पनि वीर आकर्षण बनेको हो, भन्छन्, ‘अस्पताल परिसरमा भेटिएका नारायण नेपाल । सिन्धुपाल्चोक बाह्रबिसे घर भएका नेपालले पछिल्लो समय वीरले विश्वास आर्जेको बताए । सतप्रतिशत त कतै हुन्न हजुर ,केही त्रुटीहरू हुन्छन् र छन् पनि ।तर,औसतमा धेरै सुधार भएको अनुभुति गरेँ, यद्यपि यहाँ अझै स्वास्थ्य बीमाको सेवा अलि झन्झटिलो छ, यसलाई पनि अलि सरलीकृत गर्न आवश्यक रहेको उनले बताए ।
ससुरा केशब पौडेलाई लिएर उनी वीर पुगेका थिए। डाक्टर दिलिपसंग चेकजाँच गराउने पंक्तिमा थिए, उनका ससुरा केशब पौडेल पनि । बिरामी पूर्जा समाएर पर्खाइमा रहेका ८० वर्षिय पौडेलले पनि वीर अस्पतालमा भएको व्यवस्थापकीय सुधारले खुशी व्यक्त गरे। ‘केही वर्ष अघि वीरमा उपचार गर्न आउँदा भोगेको हैरानीले अहिले पनि उस्तै हुन्छ कि भन्ने डर लागेको थियोे ।तर, अहिले त आकाश पाताल फरक भए छ’उनले भने।

यस्तै लिभरको ओपीडीको ढोकैमा भेटिए ७३ वर्षिय धनमान श्रेष्ठ । धादिङको गजुरीबाट उनी वीरमा उपचार गराउन आएका रहिछन् ।निरक्षर धनमान लिभर ओपिडिमा राखिएको तालिका मोबाईलमा कैद गर्दै भने, यो खिचेर लिएर जाँदा डाक्टरले जाँच्ने कुरा थाहा पाईन्छ भन्दै प्रतिक्रिया दिए । कति पढुनु भाछ भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘अक्षरको मुख देखिन ।’ अनि कहाँबाट सिक्नु भयो यति पढ्न र खिच्न भन्ने प्रश्नमा उनी भन्छन्, ‘नातीले सिकाएको हो, अहिले अस्पतालले राम्रो व्यवस्था गरेको अनुभव भयो । राम्रो भाछ भन्ने सुनेर एक्लै आए। पहिले पहिले जस्तो दुख रहिनछ अहिले । बुढाबुढीलाई राम्रो व्यवहार गर्छन्, डाक्टर र कर्मचारीले ।

निजी अस्पतालमा त जान छोड्याछु, औषधि धेरै। पैसा पनि उस्तै धेरै लिन्छन् ।’हामी जस्ता पैसा नहुनेलाई यही वीर ठिक छ। म त टाउको दुखे पनि अब यही आउँछु उनले सुनाए ।
यस्तो छ, वीरको इतिहास र सेवा प्रवाह

विक्रम सम्वत १९४७ साउन १२ गते राणा प्रधानमन्त्री वीर शमशेरले यश अस्पतालको स्थापना गरेका थिए। प्रारम्भमा १५ शैयाबाट सेवा शुरू गरेको यश अस्पतालले हाल ९६६ शैय्याबाट उपचार सेवा दिइरहेको छ।सरकारले विक्रम सम्वत २०६३ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको रूपमा विकास गरेपछि यहाँ उपचारसंगै शैक्षिक कार्यक्रम पनि सञ्चालनमा छन् । हाल प्राध्यापक डाक्टर भूपेन्द्र कुमार बस्नेत यश प्रतिस्ठानको उपकुलपति हुन् भने प्राध्यापक डाक्टर दिलिप शर्मा निर्देशक रहेका छन् ।
यहाँ एमडी,एमएस, एमसीएच, डीएम,बिएस्सी नर्सिङ,बिएमएस, एमएनको पढाइ हुन्छ भने यश प्रतिष्ठानलाई एक अनुसन्धानमूलक पद्धति विकास गर्ने संस्थाको रूप अघि बढाइएको छ।
वीर अस्पतालमा ३३६ बढी चिकित्सक कार्यरत रहेका छन्। चिकित्सक बाहेक अन्य स्वास्थ्यकर्मीको संख्या उल्लेख्य छ।राष्ट्रिय चिकित्सा प्रतिष्ठानको रूपमा रहेको यश नाम्स राजनीतिक हस्तक्षेपबाट अझै पनि मुक्त हुन भने सकेको छैन।चिकित्सकहरूको पेशागत सुरक्षासंगै अन्य विषयमा राज्य गम्भीर बनेको त्यति देखिन्न।
प्राध्यापक डाक्टर दिलिप शर्माका अनुसार गएको १ वर्षमा करिब साढे ६ लाख बिरामीले बहिरंग सेवा लिए भने इमर्जेन्सी सेवा लिनेको संख्या पनि करिब ४० हजारको हाराहारीमा छ।

उनका अनुसार अनुसार विगत तीन वर्षमा वीर अस्पतालमा वहिरंग सेवा लिने सेवाग्राहीको संख्या ३० हजारका दरले वृद्धि भएको देखिन्छ ।गएको बैशाखसम्म २२ हजार १८८ शल्यक्रिया प्रदान गरिएकोमा पाँच हजारभन्दा बढी ठूला सर्जरी गरिएको छ ।
अस्पतालबाट सेवाग्राहीले आठ हजार ३९७ एमआरआई, १८ हजार ५९ सिटी स्क्यान, ८६ हजार ६०७, एक्स्रे, ६३ हजार २३ अल्ट्रासाउन्ड, यामोग्राम एक हजार ३६ जनाले सेवा लिएका छन् ।
अस्पताले यो वर्ष बर्न वाड सञ्चालनदेखि फार्मेसी सेवा विस्तार गरेको छ। आइसियु सेवा पूर्णमा सञ्चालन, बाथ मुटु रोग बिरामीको उपचार सुरुवात गरेको छ । अस्पतालले दीर्घकालीन दुखाई इमजेन्सीमा थप बेड थपेर ७० बेडको इमरजेन्सी बेड सुरु गर्ने योजना पनि बनाएको निर्देशक शर्माले बताए ।अस्पतालले हाल ७२ बेडको आइसियु र ३८ बेडको एचडियू गरी, ९६६ शैय्याबाट सेवा प्रदान गर्दै आएको छ ।
चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा। डा। भूपेन्द्र बस्नेतका अनुसार न्याम्सले २३ वर्षमा डीएमरएमसिएच, एमडीरएमएस र नर्सिङ लगायतका विषयमा ३६ सय जनशक्ति उत्पादन गरिसकेको छ ।








