९ श्रावण २०८३, शनिबार | Sun Jul 26 2026

काठमाडौ महानगरको एक हजार जरिवाना कारण बन्यो, ‘गणेश नेपालीको आत्मदाह प्रकरण’ !


२६ असार २०८३, शुक्रबार  


बिहीबार दिउँसो २ बजेको हाराहारीमा गणेश नेपालीले आत्मदाहको प्रयास गर्छन्। राजधानीकै मुटु मानिने त्रिपुरेश्वरमा उनी आफैमाथि पेट्रोल छर्किन्छन् । जलिरहेकै अवस्थामा उनको उद्दार गरिन्छ । वीर अस्पतालको बर्निङ सेन्टरमा उनको उपचार हुन्छ । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा गृहमन्त्री सुधन गुरुङ वीर अस्पताल पुग्छन् । गृहमन्त्रीकै नेतृत्वमा उनको उपचारको बन्दोबस्त हुन्छ । सरकारले भारतको दिल्लीमा उपचार गराउने गरी सबै पहल पनि लिन्छ ।

चिकित्सककै सल्लाहमा स्वदेशमै उपचारका सबै विधि अप्नाइन्छ । तर, उनको शरीर ५५ प्रतिशत जलेको हुन्छ । चिकित्सहरुले भगिरथ प्रयत्न पनि गर्छन्। शरीर धेरै जलेको हुँदा अन्ततः चिकित्सकहरुको प्रयास निरर्थक बन्छ । उपचारकैक्रममा वीर अस्पतालकै बर्निङ सेन्टरमा गणेश नेपालीको मृत्यु हुन्छ । कलिलो उमेरमै आफूलाई सम्हाल्न उनी असमर्थ हुन्छन् । प्रतिरोधकै रापमा उनले आफूलाई जलाउँछन् र अन्तमा वीर अस्पतालबाटै उनले सदाका लागि विदा लिन्छन् ।


कृषि विषयमा उनले जेटिए अध्ययन गरेका हुन्छन्। उनको स्थायी घर मुगु जिल्ला हुन्छ । राजधानीमा उनी पठाओ चलाउँछन् र जीवन गुर्जारिरहेका हुन्छन्। कृषिका २५ वर्षे विद्यार्थी गणेश नेपाली विपन्न परिवारका हुन््छन् । राजधानीमा रोजीरोटीका लागि पठाओ चलाउनु पर्ने उनको बाध्यता हुन्छ । गएको बिहीबार राहदानी विभाग नजिकैमा उनले बाइक पार्किङ गर्छन्। पाकिङ निषेध क्षेत्रमा बाइक पाकिङ गरेको भन्दै काठमाडौ महानगरको प्रहरीद्वारा बाइकमा ह््वील लक गरिन्छ । ह्वील लक गरिएको बाइकका लागि महानगरले प्रहरी जरिवानाको चिट काट्छ । पार्किङ निषेधित क्षेत्रमा पाकिङ गरिएको भन्दै एक हजार जारिवानाको चीट काटिएको हुन्छ । जरिवानाको विषयमा गणेश नेपालीको महानगरको प्रहरीसंग विवाद पनि हुन्छ । त्यही विवादसंगै उनले आफ्नै बाइकबाट पेट्रोल निकाले र शरीरमा छर्किन्छन् र आगो लगाउँछन् । त्यसैक्रममा उनलाई उद्दार गरिन्छ । जतिबेला उनको आधा शरीर जलेको हुुन्छ ।


मृतक गणेश नेपाली विपन्न युवा हुन्छन् । एक हजार रुपैयाले उनको बिहान बेलुकी छाक गुजारा हुन्छ । तर, महानगरीय प्रहरीको नियमको आँखाले गणेशको गरिबी, विपन्नता र बाध्यतालाई नजर अन्दाज गरिदिन्छ । मानवीय संवेदनाको अघि यहाँ महानगरको नियम निर्मम र कठोर बन्छ । नियम कानुन जनताको लागि हुन्छन् । तर, यहाँ मानवीय पीडा, बाध्यता र विपन्नताको गला मरक्कै निमोठिन्छ । सडक सुरक्षा र व्यवस्थित गर्नु राज्यको दायित्व हो र हुन्छ पनि ।

तर, सत्य कुरा यो हुन्छकी, सडक भन्दा मानिसको जीवन कदापि सानो हुनै सक्दैन । मानिसको जीवन एक हजारसंग कदापि तुलना हुन्न । यहाँ महानगरीय प्रहरीले सडक जाम रोक्न महानगरको नियम अनुसार चीट काट्छन् । गणेश नेपालीको भित्री दर्द र बाध्यतालाई उनीहरु गौण ठान्छन् । सडक मान्छेका लागि बनेको हुन्छ । सडक व्यवस्थित बनाउने पनि मान्छेकै लागि हो । सडकले के धनी ? के गरिब ? के विपन्न ? के निर्धा र के सम्पन्न ? कसैलाई चिन्दैन । सडक सबैको साझा सम्पत्ति हो । यसको सुव्यवस्थित गर्ने दायित्व र कर्तव्य महानगरको पनि हुन्छ ।
विडम्बना, बाइक पार्किङ गर्दैमा अपराधै जस्तो ठानिन्छ र मानिन्छ । ट्राफिक नियम विपरीत पाकिङ पनि गरिन्छ । यसरी पार्किङ गरिनु अपराध होइन, मानवीय गल्ती अवस्य हो । यहाँ पार्किङलाई झै अपराध ठानिन्छ । जरिवानाको ठेट्नी कोचिन्छ । जरिवानाबाट समस्या समाधान हुने पनि होइन । यसको अर्थ जहाँ तँही पाकिङ गर्न पाउनुपर्छ भन्ने अर्थ कदापि होइन । निश्चित र तोकिएको स्थान बाहेक अन्य स्थानमा पार्किङ गरिनु मानवीय कमजोरी र गल्ती हो । पहिलो पटकमै चिरिप्पै गला निमोठेर हजार हजारको जरिवाना काट्नु पनि महानगरको ज्यादती हो ।


यहाँ सडक अनुशासनको पालना गराउने हो । जरिवानाबाट पैसा संकलन गर्ने उदेश्य मात्रै राखेको हो भने त्यो अवैधानिक असुली धन्दा हो । कानुन हातमा छ भन्दैमा नागरिकले आत्महत्याको बाटो रोज्ने अवस्था बन्नु निकै चिन्ताको विषय हो । यहाँ विर्सन नहुने कुरा अर्काे पनि के हो भने, २५ वर्षको युवाले १ हजार जरिवानाकै कारण आत्मदाहको बाटो किन रोजे ? के आत्मदाह समाधानको अचुक सुत्र हो ? कदापि होइन, बरु, आत्महत्याको बाटो रोज्नु त्यो आफैमा कार्यरता हो । आत्मदाह दीगो समाधानको उपाय नै होइन । एक हजारकै कारण मृत्यु रोज्नुलाई कदापि बहादूरीता मान्नै सकिन्न । तर, यहाँ अर्काे गम्भीर प्रश्न पनि के हो भने, युवाहरु आत्मदाहको बाटो किन रोज्छन् ? त्यसको गहिरो खोज तथा अनुसन्धान हुनुपर्छ । योसंगै बालेन सरकारले जिम्मेवारी पनि उत्तिकै लिनुपर्छ । यस घटनामा प्रधानमन्त्रीको प्रत्यक्ष जिम्मेवारी त नहोला । तर, नैतिक प्रश्न सरकारमाथि पक्कै उठेको छ ।


२०७९ साल माघ ११गते नयाँ वानेश्वरको संसद भवन अघि इलामका व्यवसायी प्रेम प्रसाद आचार्यले आत्मदाह गर्छन्। त्यत्तिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल हुन्छन्। साविकको माओवादी र कांग्रेसको सरकार हुन्छ । संसद भवन अघि प्रेम आचार्य जलिरहन्छन् । तर, उनको आत्मदाहले शरीरको ठूलो भाग जल्छ । कीर्तिपुरको बर्निङ सेन्टरमा २०७९ माघ १२गते उनको उपचारकै क्रममा मृत्यु हुन्छ । यस घटनापछि तत्कालीन काठमाडौ महानगरका मेयर तथा हालका प्रधानमन्त्री बालेन शाहले कडा स्टाटस लेखेका थिए । उनले सामाजिक सञ्जालमा सरकारको असफलता भन्दै यस्तो लेखेका थिए, स्टाटस । यो हेरौ ।


‘एक जना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एक जना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् ।एक जना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै सङ्केतहरू होलान् । तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अङ्गहरू असफल भएका छन् ।’


प्रेम प्रसाद आचार्यको आत्मदाहको विषयमा यस्तो विचार संप्रेषण गरेका बालेन यतिबेला सरकार प्रमुख छन् । विगतका सरकार प्रमुख असफल भएकै कारण प्रेम प्रसाद आचार्यले आत्मदाहको बाटो रोज्नु परेको थियो भने यस पटक मुगुका गणेश नेपालीले आत्मदाह गर्दा प्रश्न प्रधानमन्त्री शाहमाथि सोझिएन र ? यद्यपि सरकारले उनको उपचारमा कोशीस पनि ग¥यो । तर, सरकारको प्रयास निर्थक बनेपछि गणेश नेपाली यो धर्तीबाट कहिल्यै नफर्किने गरी विदाइ भए । गणेशका परिवारप्रति सरकारले आफ्नो जिम्मेवारी निभाउने मात्रै होइन, आत्मदाहको घटनाको कारणको गहिराइमा पुग्न सरकार सकोस् ।


यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय पनि होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको प्रश्न हो। कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटना दोहोरिन नदिन सामूहिक प्रतिवद्धता जरुरी छ । हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ। एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने होइनर ? , तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन् ? समाज, परिवार, राज्य र नागरिकका रूपमा कहाँ चुक्यौँ ? यो हो, गम्भीर प्रश्न !
राज्य र समाजले यसको गहिरो कारणको सोधखोज गर्नु पर्छ । तर, आत्मदाहको घटनाको विषयमा सत्ता पक्षका नाममा बचाउ र विपक्षीको नाममा सडकमा भड्काउ गरिनु मृत्युलाई राजनीतिमा रंगाउने गलत अभ्यास मात्रै हो ।

यस्ताखाले भड्कावबाट पनि समाज सचेतपूर्ण ढंगलेअलग रहनुपर्छ । घटना नहुनु थियो । भैहाल्यो । अपूणीय क्षतिको अब पूरण त सम्भव छैन । तर, यस्ता घटना दोहोरिन नदिन प्रतिवद्धता व्यक्त गर्दै पीडित परिवारको रेखदेखमा सरकार गम्भीर बन्न सकोस् । मृतक गणेश नेपालीप्रति हाम्रो पनि भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना । ००००

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ३ : २८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित