वाणिज्य बैंकहरुले गएको साउनमा वित्तीय विवरणहरू सार्वजनिक गरेका थिए। उनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणमा भने नेपाल राष्ट्र बैंकले गम्भीर त्रुटी भएको फेला पारेको छ ।
कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक बाहेक सबैले केन्द्रीय बैंकले निर्धारण गरेको मापदण्डअनुसार बैंकहरुले प्रोभिजन नगरेको पाइएको छ।
अन्य वाणिज्य बैंकहरूको यस्तो बदमासी पाईएपछि राष्ट्र बैंकले कानुनअनुसार प्रोभिजन बढाउँदै वित्तीय विवरण स्वीकृत गरेको हो । राष्ट्र बैंककाअनुसार हालसम्म १६ वटा बैंकको वित्तीय विवरण स्वीकृत गर्दा अधिकांश बैंकहरुको नाफा घटेको छ ।
बैंकहरुले कानुनअनुसार प्रोभिजन नगर्दा साउनमा सार्वजनिक वित्तीय विवरणमा नाफा अस्वभाविक बढेको देखिएको थियो। राष्ट्र बैंकले कानुनअनुसार प्रोभिजन गर्न लगाउँदा ३कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित विदेशी साझेदार रहेका बैंकबाहेक प्राय सबै बैंकहरूको वित्तीय विवरणमा ठूलो हेरफेर भएको छ ।
राष्ट्र बैंकका अधिकारीकाअनुसार राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको वित्तीय विवरण ठिकठाक पाईएको छ,भने नेपाल बैंकको वित्तीय विवरण स्वीकृत हुने क्रममा रहे पनि ठूलो समस्या छैन । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक तथा एभरेष्ट बैंकको वित्तीय विवरणमा पनि ठूलो फेरबदल भएको छैन । यद्यपि, त्यसबाहेकमा १४ वाणिज्य बैंकको वित्तीय विवरणमा ठूलो हेरफेर भएको छ ।
वाणिज्य बैंकहरुले गएको साउनमा सार्वजनिक गरेको वित्तीय विवरणमा ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएका उल्लेख थियो । तर, राष्ट्र बैंकले स्वीकृत गरेको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुको खुद नाफा घटेर ४५ अर्ब रुपैयाँ मुनि पुगेको पाईएको छ।
वाणिज्य बैंकहरुले साउनमा सार्वजनिक गरेको प्रतिवेदनमा गएको वर्षको नाफाबाट ७ अर्ब ६२ करोड रुपैयाँ वितरण योग्य भएको उल्लेख थियो । तर, बैंकहरुले वित्तीय विवरण तयार गर्दा लुकाएको र छुटाएको प्रोभिजन जोड्दा वाणिज्य बैंकहरुको नाफा र वितरणयोग्य नाफामा घटेको छ ।
राष्ट्र बैंककाअनुसार नेपाल इनभेष्टमेन्ट मेगा बैंक, एनआइसी एसिया, कुमारी बैंक तथा नेपाल बैंकको वित्तीय विवरण पारित हुन बाँकी छ ।
बैंकहरुले निष्क्रिय वर्गमा जाने कर्जालाई सक्रिय देखाउँदै प्रोभिजन घटाउँदा नाफा बढेको थियो । तर, राष्ट्र बैंकले नियमित साँवा ब्याज नउठेको कर्जालाई निष्क्रिय वर्गमा वर्गीकरण गर्दै प्रोभिजन गर्न लगाएकाले बैंकको नाफा घटेको हो।
उनीहरूले सेयरधनीलाई क्षणिक खुसी बनाउन र सेयर बजारमा चलखेल गर्न जानिजानी वित्तीय विवरण बिगारेको देखिन्छ । ’राष्ट्र बैंकले अझै कडाइ गर्ने हो भने वितरणयोग्य नाफा अझै घट्ने देखिन्छ । यश विषयमा हामीले राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभागका प्रमुख रामु पौडेलसंग जिज्ञासा राखेका थियौं ।यश विषयमा उनी भन्छन् ,बाफिया कानुन भन्दा बाहिर जान कसैलाई छुट छैन,हरेक बैंकहरूको राष्ट्र बैंकले कडाइका साथ नियमन गरिरहेको छ।
केही बैंकले राष्ट्र बैंकलाई प्रभावित पार्न सकिन्छ कि भन्ने सोचले समेत वित्तीय विवरणमा छेडखानी गरेको पाईएको थियोे ।तर,राष्ट्र बैंकको कडा नियमनलृ यस्ता चलखेल निस्तेज भएका छन् ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकको निष्कृय कर्जा औषतमा १४।४४ प्रतिशतले बढेको थियो । गएको आर्थिक वर्षको असोज मसान्तमा औषतमा २।९० प्रतिशत रहेको वाणिज्य बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको असोज मसान्तमा ४।२८ प्रतिशत पुगेको थियो ।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गर्दा प्रोभिजन बढाएकाले पुस मसान्तको विवरण सार्वजनिक हुँदा समग्र वाणिज्य बैंकको निष्क्रिय कर्जा ५ प्रतिशत माथि पुग्ने अनुमान छ।
अन्तर्राष्ट्रिय लेखापरिक्षकले १० ठूला बैंकको लेखापरिक्षण गर्ने भएकाले विगतमा जस्तो पुरानो ऋण तिर्न नयाँ ऋण दिँदा चुप लाग्ने अवस्था देखिन्न। विगतमा बैंकहरुले व्यवसायभन्दा पनि धितो हेर्दै ऋण दिएकाले समस्या आएको हो । अहिले घर जग्गा कारोबार नहुँदा साँवा ब्याज तिर्ने क्रम झनै कमजोर भएको हो ।