१२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026

एमाले ,कांग्रेस र माओवादीमा नेतृत्व पुस्तान्तरण होला कि, बुढाहरूले ओगटिरहलान् ?


२९ भाद्र २०८२, आइतबार  


लोकन्त्रमा दलको विकल्प दल नै हुन्। त्यसका लागि मुख्य दल एमाले कांग्रेस र माओवादी नै मुख्य प्रतिस्पर्धी हुन्। जनताले पार्टी प्रति विश्वास नगरेका पनि होईनन् , यो लोकतन्त्रमा विश्वास गर्ने शक्ति भनेको यीनै पार्टीहरू हुन् ।

तर नेतृत्वको घिनलाग्दो प्रवृत्तिले जनता वाक्कदिक्क भएका हुन्। पार्टी भित्र मौलाएको परिवारवाद र आशिरवादको कुप्रथाबाट आन्तरिक लोकतन्त्रको कत्लेआम गरिएको छ । जनताले आफ्नो गास काटेर हुर्काएका राजनीतिक शक्ति हुन् दलहरू । जनताको साथ र समर्थनमा हुर्किएका यी दल मति भ्रष्ट हुदै गए, उनीहरूमा सुधार भन्दा विकार बढ्दै गयो । विधि,पद्धति र प्रणाली धुजा धुजा पारियो।ईमान र नैतिकताको चीरहरण गरियो ।

नेतामा कुबेर बन्ने महत्वकाँक्षा बढ्यो । दलहरू शेयर र जग्गा कारोबार दलालहरू जस्ता भए ।दलबाट दलाल भएपछि उनीहरू माफिया ,तस्कर,भ्रष्टाचारी ,बलात्कारीहरूको संरक्षण केन्द्र बने ।पार्टी जीवनमा जीवन बिताएकाहरू किनाराकृतद भए । दल दल जस्तो रहेनन् ।

पार्टी माफिया र भ्रष्टहरूले चलाउन थाले । सरकार बनाउने माफियाहरू भए । दलका नेताहरू माफियाको हली भए ।क्रमशः दलहरू वैधानिक लुटेरामा बदलिदै गए । जनताले खबरदारी गरेपनि उनीहरूमा कुनै पछुतो भएन ।बरू राज्यसत्ता र पार्टी भित्र वंशाणुगत अवरवादले जरा गाड्दै गयो। ओली, देउवा र प्रचण्ड प्रश्न सुन्न र जवाफदेही बन्न तयार भएनन्।जसको परिणाम भदौ २३ र २४ गते अकल्पनीय क्षति बेहोर्न पर्यो ।भ्रष्टाचार, बेथिति र विकृतिको महलमा उनीहरू भकुरिए ।

यति मात्रै भएन २४ घण्टामा सत्ताबाट लघारिए । जेनजी विद्रोहले दल र तिनका नेता नैतिकरूपले मृत भए । २० जना युवाको बलिदान राजनीति नयाँ ढंगले विकसित भएको छ। पुराना सबैखाले कुप्रथा रगतको फाल्सामा लत्पतिए । युवाहरूको बलिदानले नयाँ राजनीतिक संस्कारको अँकुरण गरेको छ। पुराना दलहरू जनताका अघि मुख देखाउन पनि नसक्ने अवस्थामा छन् ।

सत्ताको दुरुपयोग र सत्ताको अविछिन्न लुटकै कारण नयाँ पुस्ताले विद्रोह गरेपछि कुटाइ खानुपर्यो ,ज्यान जोगाउन भाग्न पर्यो । तैपनि बुढा नेता पद छोड्न र सच्चिन तयार अझै देखिन्नन् । आफ्नो कुकर्म लुकाउन अझै कोशीस गरिरहेका छन् । राजनीतिक घटनाक्रम नयाँढंगले विकसित हुँदा पनि पद र पावरको लोभ उस्तै छ ।यही शैली र यीनै अनुहार अझै टसमस नभएमा अघिको बाटो समाप्ति बाहेक अरू केही छैन ।

यदि दलहरूले गुमेको विश्वास र साख फर्काउने हो भने जनताको मन जित्न दलभित्र व्यापक फेरबदलको निशर्त खाँचो छ । जनताको विश्वास फर्काउने हो भने नयाँ पुस्तामा नेतृत्व पुस्तान्तरण र बुढाहरूको ससम्मान बहिर्गमन नै पहिलो शर्त हो।

यी तीन बुढाहरूले पार्टीलाई कम्पनी जस्ता बनाएका छन् । अब कम्पनीबाट दल जस्तो बनाउन आ न्तरिक लोकतन्त्र मजबुत बनाइनुपर्छ । बुढानिलकण्ठ ,बालकोट र खुमलटारको पावर सेन्टर ध्वस्त पारिनुपर्छ । बुढो गोरूले भकारो ओगटे झै ओगटेर बसेका ओली, देउवा र प्रचण्डले हुर्काएको बेथिति र विकृतिको फोहोर सफा गर्नुपर्छ । दललाई अब पार्टी बनाउन कांग्रेसमा गगन थापा, एमालेमा ठाकुर गैरे र माओवादीमा लेखनाथ न्यौपानेहरू पार्टी हाँक्नु पर्छ।

गगन ,ठाकुर र लेखनाथ विद्यार्थी राजनीतिबाट उदाएका नेता हन् । स्पष्ट अडान ,योजना र कार्यक्रम दिन सक्ने यी नेताले नयाँ पुस्ता बुझेका छन्। नयाँ पुस्ताले पनि तुलनात्मक रूपमा पत्याइएका र पत्याउन सक्ने नेता हुन्। अहिलेसम्म वेदागी स्पष्ट पात्र भएकोले पनि यी तीन युवा नेतालाई नेतृत्व हस्तान्तरण गर्न ओली देउवा र प्रचण्ड निर्शत तयार हुनुपर्छ ।

अझै पनि उहीँ खल्तीबाट खासलाई जिम्मेवारी दिने हो भने पार्टी सकिने छ नै ।बुढा नेतालाई इतिहास पनि धिक्कार्नेछ। यति त्याग गर्न सके वैतर्नी तर्न सकिएला ,अहिलेसम्मको पाप थोरै भएपनि पखालिनेछ।

विना शर्त बुढा नेताले युवा पंक्तिको हात पार्टी सत्ता हस्तान्तरण गर्न अझै पनि नसके मुख्य दल एमाले,कांग्रेस र माओवादी अस्तित्वमा रहनेछैनन् । अझै पनि बुढाहरू ओली, प्रचण्ड र देउवाले पार्टीको नेतृत्वमा बुढो गोरूले भकार ओगटे जस्तै ओगटेमा गोर्खा परिषद् बन्नेमा कुनै द्विविधा छैन ।

देशमा विद्रोहको मुख्य कारण यी तीनजनाको यस्तै लेँदेधिपी, स्वेच्छाचारी,एकमनावाद र निरंकुश शैली र प्रवृत्ति हो । यीनीहरू सत्ता र पार्टीमा निरन्तर दाइँ मारिरहेकै कारण आज देशले गम्भीर क्षति बेहोर्न परेको हो ।पार्टी भित्र आन्तरिक लोकतन्त्रको कत्लआम गरेर हुकुमी शासन चलाउँदा लखेटिन परेको हो ।

अब दलहरूमा खराब प्रवृत्ति अन्त्यसंगै पात्रमा परिवर्तन गर्न जरुरी छ। यदि अझै पदमा जुको टाँसिए झै टाँसिए अझै ठूलो क्षती फेरि हुन सक्छ । त्यसका लागि पार्टीमा नयाँ नेतृत्वसहित आन्तरिक लोकतन्त्रको संजिविनी जरुरी छ, पार्टी पुनर्जन्मको लागि ।

नयाँ विचार,संगठन विधिद्वारा मृत दल भित्रको आन्तरिक लोकतन्त्रबाट मात्रै पुनर्जन्म सम्भव छ । सिंगो पार्टी पंक्तिलाई दासताबाट बाहिर निकालेर पार्टीमा प्रतिस्पर्धाको संस्कारको विजारोपण हुनुपर्छ । त्यसका लागि पहिलो शर्त हो, ओली , देउवा र प्रचण्डको विनाशर्त बहिर्गमन । उनीहरूलाई सम्मान घर पठाउने अनि नेतृत्वमा नयाँ प्रतिस्पर्धाबाट नयाँ आउने प्रक्रिया अबिलम्ब थालिनुपर्छ ।

अब नेताको खल्तीबाट पद र जिम्मेवारी बाँड्ने कुप्रथा सदाका लागि समाप्त पार्न पर्छ , विधि र प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन गर्न पर्छ ।विधि ,पद्धति र प्रणाली लोकतन्त्रका खास औजार हुन्। दलहरू जति लोकतान्त्रिक हुन्छन् ।त्यति लोकतन्त्र फूल्छ र फक्रन्छ। लोकतन्त्र बलियो भए ,देश बलियो हुन्छ। देश र जनता बलियो भए बलिदानको सपना पूरा हुन्छ । यसर्थ अब दलमा नेतृत्व पुस्तान्तरण विना दलहरूको भविष्य पनि छैन।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ७ : ३१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित