कागताली परेर दुई / दुई पटक राजा बन्ने अवसर पाएका मानिस हुन्, ज्ञानेन्द्र शाह ।जो २००७ कार्तिकमा राणा र त्रिभुवनबीच खटपट भएपछि पहिलो पटक राजा बन्ने मौका पाए।
तत्कालीन राजा त्रिभुवन दिल्लीको शरणमा जाँदा उनले वीरेन्द्रलाई लिएर गएपछि तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले उनलाई राजगद्दीमा राखेका थिए। शाहवंशीय परम्परामा जेठो छोरो मात्रै राजा बन्न पाउँछ । तर, विसं १८३१ मा पृथ्वीनारायण शाहको मृत्युपछि दरबारमा अनेकौं काण्ड मच्चिए। प्रतापसिंह शाह र बहादुर शाहबीच निकै विवाद थियोे । बहादुर शाह देश निकाला हुनुपरेको थियोे ।यद्यपि नेपाल एकीकरणमा उनी पृथ्वीनारायण शाहका दाहिने हात थिए भने राजा प्रतापसिंह शाह भोगविलासमा रम्ने राजा थिए।तर,उनको कलिलो उमेरमै मृत्युु भएपछि रणबहादुर शाहलाई राजगद्दीमा राखेर नायवीको रूपमा राजेन्द्र लक्ष्मीदेवीले सम्हालेकी थिईन् । राजेन्द्र लक्ष्मीको परपुरूषकाण्डदेखि बहादुर शाहमाथि गरिएका ज्यादतीका श्रृङखला,शाह वंशको इतिहासमा जालझेल, षड्यन्त्र,सत्ताहानथाप ,भोगविलास र ठूलाठूला काण्डले रक्तरंजित र लज्जित छ ।
यही मौकामा चौका हान्दै जंगबहादुर राणाले राजाहरूलाई दरबार थुनाएर कार्यकारी सत्ता हातमा लिए । राणा र राजाहरूको यहि खटपट र षड्यन्त्रको अवसरमा ज्ञानेन्द्र शाह पहिलो पटक राजा भएका थिए। दोश्रो पटक पनि उनी राजा भए । उनका दाजु वीरेन्द्रको वंश नाश भएपछि उनलाई दोश्रो पटक राजा हुने मौका मिलेको थियोे । यही मौकामा उनले २०४७ को संविधान च्यातेर कार्यकारी अधिकार २०६१ माघ १९ गते हात लिए। राजश्री गुण शून्य भएका शाह राजा बन्न लायक होईनन्। इतिहासका तथ्यले प्रमाणिात गरेका छन् ।
उनी ओमेगादेखि गैडा तस्करीका कारण बेदागी रहन सकेनन् ।बरू नामूद् व्यापारीको रूपमा चिनिन्छन्। पूर्वीय सभ्यतामा कुनै पनि व्यक्ति राजा हुन उसमा राजश्री क्षमता चाहिन्छ । जस्तै राजा जनकलाई राजश्री मानिन्छ ।उनीमा राजा र ऋषि गुणको समिश्रण थियो, भनिन्छ ।त्यसकारण अहिलेसम्म पनि उनलाई राजर्षी राजाको रूपमा मानिसहरू उच्च सम्मान गर्छन् ।उनको राजकाजको गाथा गाउँछन् । राजा र ऋषिका गुण भएका व्यक्तिलाई सर्वोत्तम मानिन्छ ।तर, ज्ञानेन्द्र शाह त्यस्तो कलंकका पात्र हुन्।जसले माघ १९ मा सत्ता हातमा लिएपछि सैन्य शासन चलाए। जनताको नैसर्गिक अधिकार खोसे।सैनिक बलमै उनले निरंकुश शाही शासन चलाए। वीरेन्द्रको वंश नाशमा उनीमाथि धेरैको शंका छ।
दरबार हत्याकाण्डको सुई उनीतिर सोझिएकै बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई श्रीपेच लगाइदिएर राजा बनाएका थिए। उनै शाहले दलहरूमाथि प्रतिबन्ध लगाएर निरंकुश शासन चलाउन खोजे ।तर, २०६१ माघ १९ देखि २०६२ बैशाख ११ गतेसम्म उनको ज्यादतीपूर्ण शासन चल्यो। उनको सैन्य अहिले सम्झिदा पनि जो कसैको शरीर सिरिङ्ग गर्छ होला। यद्यपि उनको सैनिक शासन लामो समयसम्म टिक्न सकेन।
उनलाई यसरी निरंकुश बन्न उक्साउने पात्र थिए, हालका कमल थापा र तुल्सी गिरी।तुल्सी गिरी अहिले छैनन् । कमल थापा अहिले पनि राजतन्त्रको वकालत गर्छन् गणतान्त्रिक सरकार उपप्रधानमन्त्री बन्छन् । चरम अवसरवादी उनी पछिल्लो समय फेरि हौसिएका छन् ।देशभर १० हजार मतदाता पनि नभएका उनले राजा फर्काउने सपना देखिराछन्। यीनै कमल थापा उक्साएर निरंकुश शासन चलाउन थालेका ज्ञानेन्द्रको शाही सत्ता लामो समय चलेन । दोश्रो जनआन्दोलनले उनलाई घुँडा टेकायो।
संवैधानिक राजतन्त्र कि गणतन्त्र भन्ने बहस चलेपनि जनता शाही शासनबाट वाक्क दिक्क भैसकेका थिए। केही पूर्व पञ्चहरूको भरोसामा रहेका ज्ञानेन्द्र शाह सहित शाहवंशीय परम्पराको अन्त्य २०६५ जेष्ठ १५ को संविधानसभाको करिब ९० प्रतिशत मतले गरिदियो। मुलुक लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भयो। ज्ञानेन्द्र शाह पनि २०६५ जेष्ठ २९ गते सर्लक्क नारायणहिटी दरबार छाडेर नागार्जुन लागे।
सरकारले वीरेन्द्रको सम्पत्तिसहित नारायणहिटी दरबारलाई संग्रहालय बनायो। अंहकारी, लोभी र व्यापारी बन्दा ज्ञानेन्द्र मात्रै दरबारबाट मिल्काएनन्, शाहवंशीय परम्पराको समूल अन्त्य भयो। शाहहरूका लागि न बाँस रह्यो, न बाँसुरी ।
गणतन्त्र १७ वर्षपछि उनी पुनः सक्रिय हुने थाले।विशेषगरी गएको फागुन ७ गते प्रजातन्त्रको दिवसका दिन अब समय आयो राष्ट्र जोगाउने हो,भने राष्ट्रिय एकता कायम राख्ने हो भने समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौं ।
उनको यही आह्वानपछि पूर्वपञ्चहरू हौसिए।लिङ्देन र प्रसाईं समूहले राजधानीमा जयजयकार गरे।
गणतन्त्रवादीहरू असक्षमता र अकर्मण्यताले जनता निराशामा थिए र छन् । उनीहरूको दलतन्त्र र परिवारवाद ज्ञानेन्द्र प्रवृत्तिसंग धेरै मिल्दोजुल्दो छ।छोटे राजाहरूकै कारण व्यापारी राजाले फेरि टाउको उठाउन कोशीस गरे। चोरहरूको सत्ता हानथाप नै हो। तर, दागी पूर्व राजाले देशबासीलाई आह्वान गरेकै भरमा विश्वास गर्ने र साथ दिने अवस्था रहन्न र थिन पनि।केही पूर्व पञ्चहरूले स्वागत र्याली गरेर सडक र सञ्जाल तताए। तीन रमाए, प्रसाईं र लिङ्देनहरू सुन्नी र सिया झै भए ।
शाह ओमेगा र पानीजहाज काण्डदेखि गैडा तस्करीमा उनी अब्बल मानिन्छन् ।दरबारको शक्तिको आडमा असुली धन्दा चलाउँथे ज्ञानेन्द्र शाह ।पृष्ठभूमि विवाद र व्यापार भएकै कारण उनी विश्वासिलो र भरोसायोग्य अभिभावक बन्न सकेनन् देशको र हुन्नन् पनि।तैपनि लिङ्देनहरूले चोरलाई साधुको वस्त्र ओढाउन छोडेका छैनन् ।
जनताले ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ,’ यति भनेकै भरमा पूर्व पञ्च र तिनको रयलपयल खाएका केही युवा बाहेक कसैले साथ दिएन। पछिल्लो पटक नारायणहिटी छिर्ने सपना देखाइईपनि फेरि जोकर बनाइए।