शनिबार वीरगन्जमा हनुमानको जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भयो। शान्त रहेको वीरगन्ज एकाएक अशान्त बनेको छ।
शनिबार अपरान्ह शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा वीरगन्जको छपकैयामा पुगेपछि दुई फरक धर्मका समुदायबीच झडप भएको हो।
स्थिति नियन्त्रणमा आउन नसकेपछि स्थानीय प्रशासनले वीरगञ्ज शहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । वीरगञ्जमा शनिबार बेलुकी ७।३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फु आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
उनका अनुसार, पूर्वमा भेडियाही चोक, उत्तर गण्डक चोक,पश्चिममा सिर्सिया चोक र दक्षिणमा शंकराचार्य गेट गरी चार किल्ला तोकर वीरगन्ज शहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।
दुईसमुहबीचको झडप नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जका साथै अश्रु ग्यास र हवाई फायरपनि प्रहार गर्यो । छपकैयाको इदगाह चोकमा शनिबार बेलुकी ८ बजेसम्मपनि प्रहरी र स्थानीयबीच झडप चलिरहेकोपछि नेपाली सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
शनिबार बेलुकी ८ बजेसमम प्रहरीले दुई राउण्ड हवाई फायर र १ सय ३० राउण्ड अश्रु ग्यास प्रहार गरेको प्रमुख जिल्ला अर्याललले बताए ।
उनका अनुसार शनिबार अपरान्हदेखि भएको झडपका क्रममा प्रहरी र स्थानीय गरी ४० जना घाइते भएका छन् । प्रहरी तर्फ पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रसिंह सहित २५ जना प्रहरी घाइते भएको अर्यालले जानकारी दिए् ।
यस्तै प्रदर्शनकारीतर्फ पनि शनिबार बेलुकीसम्म १५ जना घाइते भएको उनले बताए । घाइतेहरूको नारायणी अस्पताल र अन्य अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।