जब दलको नेतामा पद र सत्ताको चरम प्यास,भोग र विलास अनि कार्यकर्तामा चाकडी, नोकर र दास प्रवृत्ति ऐजेरु झै झाँगिन्छ। तब त्यो दल विनाशकै डढेलोमै डढेर सकिन्छ । जनताको मतलाई कुल्चिएर असनको साँढे झै सत्तामा पुगेर मैमत्तिन्त तब जनताको श्राप र आँसुले धिक्कार्छ ।
पैसा र पावरकै लागि देश र जनतालाई बन्धकमा राखेर खडा गरिएका अकुत धनका महलहरुमा आगो लाग्न थाल्छ । त्यसका लागि नयाँ पुस्ताले विद्रोह गर्दै सत्ता कब्जा गर्छ ।मध्य एशियाबाट फैलिएको यो आँधी नेपालमा प्रवेश गरे लगत्तै देशभर आन्दोलनको तुफानी ल्याउँछ । जसले २४ घण्टामै सत्ताको सिंहासनबाट ओली जस्ता अहंकारी, सन्की र प्रतिशोधी राजनीतिक मठाधीशहरुरु बचाउ बचाउ भन्दै शिवपुरी जंगलमा लुक्न विवश हुन्छन् । ७० वर्ष भन्दा लामो इतिहास बोकेको पार्टी २४ घण्टाभित्र युवाहरुको भ्रष्टाचार विरुद्धको आवाजले क्षणभरमै खाक पर्दछन् ।
कोही आफ्नै अहंकारले सकिन्छन् त कोही छोरीको ऐश आराम र सुखसयले पतितको किनारा घचेटिन्छन् त कोही लालसी श्रीमतीकै कारण आफ्नै घरभित्र निर्घातरुपले कुटिन्छन् । हजारौ नयाँ युवा रगत उमाल्दै भ्रष्टहरुको घर घरमा पुग्छन्। राज्यसत्ता कब्जा गरेपनि आक्रोशले भौतिक हमला गर्दा पनि युवाको प्रतिरोध गर्ने कुनै नैतिक तागतै हुन्न । मानवीय नाताले पनि कोही पनि नकुट भन्न आउन्न । किनकी केही स्वार्थी समूह बाहेक सिंगो देश यीनीहरुको चरित्रले वाक्कदिक्क थियो । जसको परिणाम २४ घण्टामै यीनीहरुको सत्ता र सम्पत्तिको महल ढले । क्षणभरमै सडकपति भए ।
देउवा जस्ता पुराना नेताले घरमै कुटाइ खाए। उनको अकुत धन छरपस्टै देखियो । महेश बस्नेतहरुको घर जल्यो । खोला किनारामा लघारिए । प्रचण्ड ओलीहरु कुलेलाम ठोके । क्षणभरमै फिल्मी शैलीमा सत्ताको धुरीबाट माटोमै पद्धारिए । उनीहरुले यस्तो दुर्दिन भोग्नुपर्ला भन्ने कहिल्यै कल्पना पनि गरेका थिएनन् होला सायदै । तर, पृथ्वी गोलो छ। समय निकै बलवान छ । सत्ता र सम्पत्ति अस्थायी हुन् । यति कुरा जान्दा जान्दै पनि सत्ताको लालसा र लाछीपनामा कहिल्यै कमी आएन । आर्यघाटका लागि कात्रो खोज्न र जनताले घिनाउनेबेलासम्म पनि पदमा जुको जस्तै लपक्कै टाँसिएर कुबेर बन्ने सपना देखिरहे ।
अन्तमा त्यही अकुत धन जोड्ने कुबेर सपनाको चिहानमा जल्नुप¥यो अहिले । सातौँ पटकसम्म कुर्सीको लोभ र त्यसपछि पनि श्रीमतीलाई बनाउने लालचमा डुबाइयो गर्विलो इतिहास बोकेको कांग्रेस जस्तो दलको हैसियत । कांग्रेससंगै एमाले र माओवादीको अवस्था पनि उस्तै गरी माटोमै मिल्ने अवस्थामा पुगे ।
नयाँ भनिएको पार्टी रास्वपा र नागरिक उन्मुक्ति पार्टीले पुरानाको ज्यादतीलाई विस्थापित गर्छन् भन्ने अनुमान गरिएको थियो । तर, ती नयाँ भनिएका पनि उनै पुराना संगसंगै सति गए । अति गर्नु अत्याचार नगर्नु भन्ने कुरालाई आत्मसाथ गर्न सकेनन्, अन्ततः भ्रष्टाचारको कलंकित टीका लगाएर अहिलेसम्म आर्जेको राजनीतिक विरासत पनि चियानघाटमा पुराउन विवश भए । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको नतिजाले यीनीहरुको इतिहासै मेटाउने पक्का हुनेछ । ००००








