२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सहरी विकास मन्त्री कुलमान घिसिङको सात बुँदे प्रतिवद्धताले उठ्यो काठमाडौको फोहोर


१७ कार्तिक २०८२, आइतबार  


काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न पाँच दिनदेखि भइरहेको अवरोध अन्ततस् हटेको छ ।

सडकमै अलपत्र र काठमाडौंमा फोहोर लोड भएका गाडी अवरोध हटेपछि ल्यान्डफिल साइटतर्फ गएका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो ।

फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, सहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत सहित टोली लिएर आइतबार बिहान बन्चरेडाँडा पुगेका थिए ।

टोलीले फोहोर विसर्जन गर्ने ठाउँको स्थलगलत निरीक्षण गर्नुका साथै ल्यान्डफिल साइट पर्ने धादिङको धुनिबँेसी नगरपालिका प्रमुख, नुवाकोट ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाका अध्यक्ष र स्थानीयवासिन्दासँग अन्तर्क्रिया गरेको थियो ।

मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति एवं सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले सहमति कार्यान्वय प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग गर्दै फोहोर फाल्न अवरोध नगर्न अनुरोध गरे ।

‘विगतमा धेरै सहमति भएका रहेछन्, मैले सबैको अध्ययन गरेको छु, अहिले म आवश्वास दिन आएको होइन, कार्यान्वयन गर्छु, फोहोर व्यवस्थापनका लागि अवरोध नगरिदिनुहोस्,’ मन्त्री घिसिङले अनुरोध गरे, ‘अवरोध हटाएर एउटा सन्देश दिनुहोस्, बल प्रयोग गरेर नभई प्रभावितसँग वार्ता र संवाद मार्फत सौहर्द्रपूर्ण रूपमा समस्या समाधान गर्छौं ।’

मन्त्री घिसिङले फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना सहित अगाडि बढ्ने बताए । अल्पकालीन रूपमा गर्न सकिने काम तत्काल अगाडि बढाउने, विगतमा भएका सहमति कार्यान्वयनका लागि गर्नुपर्ने नीतिगत निर्णय गर्ने समेत उनले बताए ।

स्थानीयले उठाउँदै आएको लिच्चड व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयको संयोजनमा सबै सरोकारवाला निकाय सम्मिलित समिति बनाइने भएको छ । पोखरीमा जम्मा भएको लिच्चड खोलामा जान नदिन रिसाइकल गर्न तत्काल पम्प सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । हाल पम्प बिग्रिएको छ ।

ल्यान्डफिल साइटमा जथाभावी फोहोर फालिएको गुनासो सम्बोधन गर्न सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित पालिकाका १र१ प्रतिनिधि रहने गरी अनुगमन समिति बनाइने भएको छ ।

त्यस्तै रात्रिकालीन फोहोर व्यवस्थापन गर्न साइटमा आवश्यक बत्ती व्यवस्था गरिने प्रतिबद्धता जनाउँदै मन्त्री घिसिङले सोमबारदेखि नै बत्ती राख्न सुरु गरिने उल्लेख गरे । यसका लागि उनले प्राधिकरणका कार्यकारी निर्देशक र नुवाकोट वितरण केन्द्र प्रमुखलाई निर्देशन दिए ।

वैज्ञानिक व्यवस्थापनका लागि फोहोर छुट्याउन विभिन्न ठाउँमा पहिचान गरिएका सार्वजनिक जग्गा स्थानीय तहलाई उपलब्ध गराउन मन्त्रिपरिषद्बाट आवश्यक निर्णय लिइने उनले बताए ।

ल्यान्डफिल साइटबाट प्रभावित हुने क्षेत्र यकिन गर्न चार सिजनको तथ्यांक आवश्यक भएकाले पूरक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न गर्न केही समय लाग्ने देखिएका कारण यस्तो अवस्था बुझिदिन उनले स्थानीयलाई आग्रह गरे ।

मन्त्री घिसिङले ईआईएपछि प्रभावित क्षेत्र पहिचान हुने भएकाले सोही बमोजिम जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढ्ने बताए ।

दीर्घकालीन फोहोर व्वस्थापनका लागि लगानी बोर्डले अगाडि बढाएको प्रक्रियामा भएको कानुनी अडचन काठमाडौं उपत्यकाका मेयर्स फोरमलाई समेत सहभागी गराएर समाधान गरिने उनले उल्लेख गरे ।

धुनिबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ, प्रभावित वडाका अध्यक्ष, स्थानीय सरोकारवालाले विगतमा सहमति हुने तर कार्यान्वयन नहुँदा फोहोर विसर्जनको समस्या बारम्बार आउने गरेको बताए ।

उनीहरूले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि कार्ययोजना सहित अगाडि बढ्नुपर्ने, फोहोर फाल्ने स्थान र मानिसलाई छुट्याउनु पर्ने, विगतमा गरिएका सहमति सम्झौता कार्यान्वयन गरिनुपर्ने बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, आइतबार  ४ : ३८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित