२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

छिमेकी देशबाट पर्यटक भित्र्याउन ‘नाइस– २०२५’ को आयोजना


१६ मंसिर २०८१, आइतबार  



विदेशी पर्यटक भित्र्याउने उदेश्यले नेपालमा नाइस २०२५ को आयोजना गरिने भएको छ। पर्यटन प्रवर्द्धन गरी छिमेकी मुलुक भारत र चीनबाट धेरैभन्दा धेरै पर्यटक भित्र्याउने उद्देश्यले संयुक्त रूपमा ‘नेपाल–इन्डिया–चाइना एक्स्पो नाइस– २०२५’ आयोजनाा गरिने भएको हो ।

यही २०८१ साल फागुन १२ देखि १४ सम्म पोखरामा एक्स्पो मेला आयोजना गरिएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ । आयोजक पाटाका अनुसार एक्स्पोका लागि नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, सरकार, पोखरा महानगरपालिका, पोखरा टुरिजम काउन्सिल र अन्य प्रमुख पर्यटनसँग सम्बन्धित संघसंस्थाको सहकार्य हुने भएको छ ।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार एक्स्पोमा एक सयभन्दा बढी क्रेता, ८० भन्दा बढी विक्रेता, भारत र चीनका २५ भन्दा बढी सञ्चारकर्मी र विज्ञ वक्तालगायत गरी एक हजारभन्दा बढीको सहभागिता रहनेछ ।

उनका अनुसार एक्स्पो आयोजनाको मुख्य उद्देश्य दुई ठूला अर्थतन्त्र तथा पर्यटन स्रोत बजार भारत र चीनमा नेपालको पर्यटन सम्भाव्यता र एकीकृत व्यावसायिक अवसरलाई प्रवर्द्धन गर्नु रहेको छ। ‘नाइस फर माइस एन्ड मोर’ भन्ने नाराका साथ आयोजना हुने एक्स्पोले पोखरालाई पदयात्रा र साहसिक पर्यटन केन्द्रको रूपमा मात्र नभई माइस पर्यटन अर्थात् बैठक, सभा सम्मेलन, प्रोत्साहन, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनीका लागि आकर्षक गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने पाटाले बताएको छ।

एक्स्पोका संयोजक सुनील भट्टराईले छिमेकी पर्यटन स्रोतबजार चीन र भारतबाट पर्यटनसम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवाला एवं संघसंस्थालाई एकै थलोमा आमन्त्रण गरी आपसी व्यापार प्रवर्द्धन, सम्पर्क सञ्जाल विस्तार तथा त्रिदेशीय पर्यटनको नयाँ आयाम उजागर गर्ने महत्त्वपूर्ण मञ्च बन्ने दाबी गरेका छन्।

पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले पोखरामा हुने कार्यक्रमले पोखराको पर्यटनलाई उल्लेखनीय रूपमा प्रवर्द्धन गर्ने बताउँछन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ)दीपकराज जोशीले दुई ठूला पर्यटन स्रोतबजारका क्रेता र विक्रेतालाई जोडेर पर्यटकीय गतिविधि र अनुभव आदान–प्रदान गर्ने यस कार्यक्रमले पर्यटन प्रवर्द्धनको क्षेत्रमा महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरेका छन्। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले नाइस कार्यक्रमलाई विशेष र प्रभावकारी बनाउन सबैको सक्रियता आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ८ : ४० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित