११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

रोल्पामा युद्ध पर्यटनको विषयमा पहिलो टेलिभिजन प्रत्यक्ष प्रशारणलाई फर्केर हेर्दा….


६ जेष्ठ २०८२, सोमबार  


हिजोको दिनमा हामीले पर्यटनको क्षेत्रको बहसको थालनी गर्यौ। २०६६मा हामीले युद्ध पर्यटनको विषयमा तत्कालीन रोल्पा जिविसको प्राङ्गणबाट प्रत्यक्ष रूपमा टेलिभिजन बहसको प्रशारण गरेका थियौ । सम्भवतः नेपालको टेलिभिजन इतिहासमा यो पहिलो परिघटना थियोे ।

जतिबेला मुलुक शान्तिपूर्ण राजनीतिक राजमार्गमा हिडिरहेको थियोे । युद्धको घाउले थिलथिलो भएको बेला आर्थिक उत्थानको आधारको मुद्दा पर्यटनको प्रवर्द्धन हो भन्ने म जस्ता फुच्चे पत्रकारको दिल दिमागमा थियोे ।

जतिबेला सूचना प्रविधिको भरखरै विकास हुदै थियोे । त्यसैमा पनि रोल्पा सूचना प्रविधिको पहुँचमा टाढा थियोे । २०६३ अघि युद्धको राप र तापले जलेको रोल्पाका लागि सूचना प्रविधिको पहुँच मुश्किल थियोे । यद्यपि २०६३ चैतमा पूर्व सभामुख कृष्णबहादुर महरा नेतृत्वमा गएको अन्तिरम सरकार रोल्पाको सूचना प्रविधिको विकास र विस्तारमा लागेको थियोे । उनै महराको योगदान हो, अहिले रोल्पा लगायत विकट बस्तीहरू सूचना प्रविधिको पहुँचमा जोडिन सफल भएको पनि । उनै महराको योगदान थियोे हामीलाई । जतिबेला हामीले टेलिभिजनबाट युद्ध पर्यटनको विषयमा प्रत्यक्ष प्रशारण गरेका थियौ ।

त्यतिला यसरी टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुन्छ भन्नेमा धेरै रोल्पालीलाई थाहा थिएन। किनकि अहिले जस्तो सूचना प्रविधिको व्यापकताको अवस्था आज भन्दा १५ वर्ष अघि थिएन । त्यो २०६६ फागुन २४ गतेको मिति थियोे । महिला दिवस कि नारी दिवस भन्ने विवादमा थियोे रोल्पाली समाज ।हामी नारी या महिला भन्दा पनि उनीहरूको आर्थिक अभिवृद्धिको आधार ग्रामीण पर्यटन हुन सक्छ कि सक्दैन भन्ने बहसमा थियौ ।

पर्यटनको मुद्दा रोल्पाका लागि नयाँ नै थियोे । राजनीतिले जलजला जस्ता संवेदनशील पर्या गन्तव्यलाई मासेर गाडी गुडाउन चाहन्थ्यो । हामी सम्पदा देखाउन हो ,सिध्याउन होईन भन्थ्यौ। अहिले पनि हामी यही मुद्दामा अडिग छौ।यति मात्रै होईन, त्यतिबेला पर्यटन भनेको हिमाल र मन्दिर मात्रै हो भन्ने भाष्य थियोे । यसलाई चिर्दै हामीले बलिदानी पूर्ण जनयुद्धलाई युद्ध पर्यटनको संग्राहलय बनाउनु पर्छ भन्नेमा हामी स्पष्ट थियौ , त्यो हुटहुटी अहिले पनि उत्तिकै छ।

हामीलाई थाहा थियो र छ । जर्मन, जापान र कम्बोडियाले युद्ध पर्यटनबाट आर्जेको समृद्धिलाई हामीले पनि व्यवहारमा देखाउनु पर्छ भन्ने ध्येय राखेर निरन्तर कलम तिखार्यौ, क्यामेराका लेन्स घुमायौ। हाम्रो कोशीसमा धेरैको असहयोग थियोे । एमाले र माओवादीभित्रको वैरभाव थियोे । कांग्रेस एमालेलाई जनयुद्ध शब्द सुन्दा औडा हुन्थ्यो ।यद्यपि कांग्रेसको नेता कृष्ण घर्ती मगर ( हाल लुम्बिनी प्रदेश प्रमुख) निकै सकारात्मक थिए र छन् पनि। जनयुद्धका कुरा गर्दा माओवादी भन्थे । गजुलको इतिहास होस या खुङ्ग्रीको शक्ति पीठ त्रिपूराश्वरीको पौराणिक कथा लेख्दा पुरातनवादी बाहुन भन्थे। म कुनै पनि वादी थिएन र होईन पनि। म विशेषगरी पर्यटनको क्षेत्रमा कलम तिर्खाने पत्रकार थिएँ र हुँ अहिले पनि।

अमूक दल र नेता या प्रशासकको साथ त्यति थिएन। किनकि म त्यो समूहलाई नरिझाउन चाहान्थे र अहिले पनि चाहान्न ।भनिन्छ नि सत्य एक्लो होला। तर, हार्दैन। हो,मैले उठाएको मुद्दा सत्य थियोे र थोरैले भए पनि सघाएका थिए। त्यतिबेला तत्कालीन स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, रोल्पा नगरपालिकाका पूर्व नगर प्रमुख पुर्ण केसी र नायब सुब्बा दीपेन्द्र डाँगी अर्थात् दीप दर्पणको साथ समर्थन थियोे । जुन साथ अहिले पनि मेरो मानस्पटलमा दोहोरिरहन्छ। यसका अलावा अग्रज पत्रकार खेम बुढा र स्वर्गीय गौरीकिरण डाँगीलाई विर्सन सक्दिन । नयाँ विषयमा मैले पहल लिएकोमा यी मित्रहरूले पनि उत्तिकै साथ दिए।

मेरा यो सपनालाई इन्टरनेटको माध्यमबाट टेलिभिजनको भित्तो हुँदै संसारभर पुराउन साथ दिने एबीसी टेलिभिजनका सञ्चालक शुभशंकर कँडेल, डण्ड गुरूङ, राजन पौडेल, लाला गुरूङ ,ध्रुव अधिकारी, आइटीका जानकार विनय अधिकारी र मेरो परम मित्र रवीन्द्र पौडेल अनि शरण कर्माचार्य लाई विर्सन सक्दिनँ ।यसको अलावा तत्कालीन नेपाल टेलिकम नेपालगन्जका क्षेत्रीय अधिकारीहरूलाई पनि उत्तिकै स्मरण गरेको छु। यसको साथै तत्कालीन प्रमुख जिल्ला अधिकारी यादव सुवेदी पनि सम्झनलायक पात्र थिए। उनले असहयोग गरेर हाम्रो कार्यक्रम सफल भएको थियोे ।

यसपछिका दिनमा थप युद्ध पर्यटनको विषयमा रुचि राख्न थाले मैले । यश विषयमा अमेरिकन अनुसन्धानकर्ता तथा लेखक एलेन्जो लियनस (हाल थाईल्याण्ड) र पश्चिमका आरोही मनबहादुर खत्रीसंग सम्पर्क भयो।

जर्मन लेखक नाम भुले उनीसहित ठमेलमा बसेर हामीले युद्ध पर्यटनको विषयमा निकै छलफल गरेका थियौ । हाल लियनस पनि सम्पर्कमा छन् । आरोही खत्रीसंग हर दिन हामी बिजुली चौतारीमा छलफल गर्छौ।

यश अघि २०७३ मा तत्कालीन अन्नपूर्ण पोष्टमा कार्रयरत गजेन्द्र बोहोरासंग हामीले युद्ध पर्यटनको विषयमा रिपोर्टिङ गर्न निस्केका थियौ । कांक्रे विहारबाट यात्रा थाल्दा तत्कालीन समयमा सुर्खेतमा क्रियाशील पत्रकार खेमराज वली र सवित जिसी सहितका सुर्खेती पत्रकारहरूलाई पनि स्मरण गर्न चाहान्छु। यसैगरी रूकुम पूर्वका मैत्य घर्ती लगायत सिंगो टिमको त्यो साथ र समर्थन ताजै छ।

कांक्रे विहारदेखि सिस्नेको आधार क्षेत्र हुँदै ऐतिहासिक गाउँ थबाङ भएर शान्ति गाउँ हुँदै फर्केका थियौ ।युद्धको नपुरिएका डोब र सपनाको विषयमा हामीले लेखेका थियौ । नागरिक दैनिकमा मैले ओझेलमा गुरिल्ला पदमार्ग शीर्षकमा सामग्री छापेको थिए। त्यसपछि नयाँ युगबोधमा १०१ वटा यस्ता सामग्री छापिएका छन् ।गुरिल्ला पदमार्गलाई फन्को मार्दा हामी उदास थियौं । रोल्पा रूकुमलाई क्रान्तिको यनान ठान्ने माओवादीले सबै विर्सेछ।युग बदल्न हिडेको माओवादी आफ्नै बलिदानलाई जानी जानी विर्सेछ। गुरिल्ला पदमार्गका नाममा बजेट लैजाने टाठाबाठाले सिध्याउने यो श्रृङखला अहिले पनि उस्तै छ।

यस्तै प्रतिकुूल अवस्थामा पनि स्थानीय बालकुमार पुन रोल्पा पर्यटनको विषयमा लागि रहेका छन् । यसले मलाई निकै खुशी दिएको छ। हामीले थालेका कडीलाई टुट्न नदिएकोमा भाइ पुस्ता बालकुमार पुनलाई पंक्तिकार धन्यवाद दिन चाहान्छ। संयोग भनौ या सुनियोजित जनयुद्धका सुप्रिमो प्रचण्ड जेठ ५ मा थबाङ पुगेका छन् ।

यता राजधानीमा बालकुमार पुनले रोल्पा पर्यटनको विषयमा तस्बिर प्रदर्शनको आयोजना गरे। जुन तस्बिर प्रदर्शनले रोल्पाको पर्यटन प्रबर्द्धनमा ठूलो टेवा अवश्य पुग्नेछ।

(लेखक ऋतुविचार, यश सरजु अनलाइन डटकमको प्रधान सम्पादक, तत्कालीन भ्रमण वर्ष २०२० को मुल आयोजक समिति सदस्य तथा नेपाल पर्यटन पत्रकार महासंघ अध्यक्ष र लुम्बिनी टुरिजम मिडिया अर्गनाइजेसनमा आबद्ध छन् ।)

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  ८ : ४० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित