३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

चुरे दोहनले मधेशका आधा खेत बाँझै, खडेरीले पानीको हाहाकार, धान उत्पादनमा कमी हुने प्रक्षेपण


१२ श्रावण २०८२, आइतबार  


मधेश अन्नको भण्डार ।तर, सिचाई पर्याप्त सुविधा नहुँदा आकाशे पानीको भर पर्नुपर्छ। यस वर्ष अत्यधिक वर्षात हुने मौसमविद्ले अनुमान गरेका थिए। अन्य प्रदेशमा केही पानी परेपनि मधेश यो करिब मध्य साउनमा पनि चरम खडेरी छ। साउनको दोश्रो साता हुँदै गर्दा मधेश प्रदेशको आठ जिल्लामा जम्मा ४७ प्रतिशत मात्रै धानवालीको रोपाइँ सम्पन्न भएको छ ।

यो वर्ष यो प्रदेशसहित कोशी प्रदेशमा मनसुनी वर्षा सक्रिय नहुँदा मधेशसँगै कोशी प्रदेशमा चाहिएको परिमाणमा धानको रोपाइँ हुन सकेन । मनसुनी वर्षा अभावमा मधेशका अधिकाँश जिल्लाका जग्गा साउनको पहिलो साता सक्न लाग्दा बाँझै छ । पानीको अभावमा किसानले धानको वीउसम्म उमार्न पाएका छैनन ।

मनसुनी वर्षा सक्रिय हुन नसकेको मधेशमा राजनीतिक दलको संरक्षणमा चुरेको अत्यधिक दोहन र अवैध रुपमा ढुङ्गा बालुबा उत्खननका कारण पारिस्थितिक प्रणालीमा खलल पुग्दा भूमिगत पानीको स्रोतसमेत सुकेको छ । सरकारले पाँच सय बोरिङ तत्कालन जडान गरिने मधेश भ्रमणमा घोषणा गरेको थियो। गएको शुक्रबार महोत्तरी पुगेर प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन्।सरकारका यस्ता घोषणा नौला होइनन्। क्षणिकको समर्थन पाउन यस्तै घोषणा धेरै गरिए , अधिकांश घोषणा घोषणामै थक्निए, पछिल्लो पटक प्रधानमन्त्री ओलीको घोषणा पनि उस्तै हुने संकेत देखिन्छ।

मधेशका पानी मुल सुकेका छन्। भूमिगत पानी समेत रित्तिएको छ। यसले गर्दा डिप बोरिङ र ट्युबवेलको सहयोगमा खेतीपाती गर्न ठूलो समस्या निम्तिएको छ । भूमिगत पानीको स्रोत सुक्दा मधेशका बासिन्दालाई खानेपानीको चर्को अभावको समस्या पनि अर्कोतर्फ उठेको छ । मनसुनी वर्षाको अभावमा डिप बोरिङ गरेर रोपिएका धानको खेतमा पर्याप्त सिँचाइ नपुग्दा अहिले खेत सुकेर धानको बोट सुक्नुका साथै धाँजा फाटेको छ ।

विज्ञहरुका अनुसार मधेश र कोशी प्रदेशमा यसरी नै अकाशे पानीको चर्को अभाव हुने हो भने यो वर्ष धान उत्पादनमा उल्लेख्य कमी आउन सक्छ ।नार्कका वैज्ञानिक डा. मथुरा यादबले साउनको चौथो सातासम्म पनि मनसुनी पानी नभए यो वर्ष धानको उत्पादनमा कम्तिमा २५ प्रतिशतसम्म कमी आउन सक्ने बताउँछन्।‘

मधेशको खडेरीले उत्पादनमा कमी आएर अनिकालको समस्या मात्रै होइन, चामलको मूल्यसमेत अत्यधिक बढाउन ठूलो भूमिका खेल्न सक्छ । र यसले गर्दा समग्र अर्थतन्त्रमै ठूलो क्षति पुर्‍याउन सक्ने विज्ञहरुले चेतावनीसमेत दिएका छन् ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्वसचिव डा. युवकध्वज जिसीकाअनुसार नेपालको धानको खेती हुने कूल क्षेत्रफलमध्ये एक चौथाई क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।‘कागजमा ४०–४५ प्रतिशत सिँचाइ सुविधा पुगेको भनिए पनि वास्तविक २५ प्रतिशत मात्रै भएको उनको दाबी छ। राज्यले सिँचाइ सुविधामा लगानी गर्न नसक्दा किसानले सुक्खाको समस्या झेल्नु परेको हो। उत्पादकत्व र उत्पादनमा वृद्धि गर्न सिँचाइ पनि कृषिसँगै राख्नुपर्ने उनी सुझाउँछन्।


गएको वर्ष वर्ष १ खर्ब ९० अर्ब ५७ करोड ५२ लाख ३२ हजार रुपैयाँबराबरको धान नेपालमा फलेको थियो । त्यो वर्ष मधेशमा मात्रै ६० अर्ब रुपैयाँभन्दा बढीको धान फलेको थियो । त्यो वर्ष सरकारले मध्यम धानको समर्थन मूल्य ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा प्रतिक्वीन्टल तोकेको थियो ।गएको वर्ष सबैभन्दा बढी मधेश प्रदेशमै धानको उत्पादन भएको थियो । ३ लाख ७४ हजार १ सय १७ हेक्टरमा १४ लाख ८० हजार ८ सय ३० मेट्रिक टन धान फलेको थियो ।

मधेश प्रदेशमा ५ लाख ४२ हजार ५८० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा छ । यसमध्ये ५ लाख २ हजार २ सय २४ हेक्टर क्षेत्रफलमा खेती हुन्छ । यसमध्ये ३ लाख ६२ हजार ३ सय ४४ हेक्टर जग्गामा बर्खे धान र २० हजार ८ सय ३९ हेक्टर जग्गामा चैते धानको खेती हुने कृषि विभागको भनाइ छ ।

कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलकाअनुसार धानबालीलाई मुलुकको मूल अर्थतन्त्रको मेरुदण्डसँग जोडिएको छ । जुन वर्ष धानको उत्पादन घट्छ, त्यो वर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) को अवस्था पनि खुम्चिन्छ ।

धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जीडीपीमा एक प्रतिशतले घटबढ हुने गर्छ । जीडीपीमा धानको योगदान करिब ४ प्रतिशत छ भने कृषिको कूल गार्हस्थ उत्पादन (एजीडीपी) मा धानको योगदान करिब १९ प्रतिशत छ ।

नेपालमा खेती हुने कूल क्षेत्रफलको ४७.७ प्रतिशत जमिनमा धान खेती हुन्छ । यसमध्ये क्षेत्रफल र उत्पादनको हिसाबले ७० प्रतिशत तराईमा धानको खेती हुन्छ । कूल अन्नवाली उत्पादनमा धानको हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।उनका अनुसार पर्याप्त परिमाणमा धान उत्पादन हुने मुख्य स्थानमा मधेशमै रोपाइँ कम भयो र उत्पादन कम भयो भने यसले समग्र अर्थतन्त्रमा प्रभाव पार्न सक्छ । पछिल्लो समयमा यो वर्ष देशभर धान रोपाई हुने कूल १३ लाख ८३ हजार ७ सय ३२ हेक्टरमध्ये ८४.६ प्रतिशतका दरले ९ लाख ९८ हजार २ सय २८ हेक्टरमा धानको रोपाई सम्पन्न भएको छ ।

धान उत्पादन हुने सबैभन्दा बढी क्षेत्रफल भएको मधेश प्रदेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमध्ये ४७ प्रतिशतका दरले १ लाख ७४ हजार ५ सय ८ हेक्टरमा मात्रै रोपाइँ भएको छ । यस्तै कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये ६२ प्रतिशतका दरले १ लाख ७० हजार ७ सय ९० हेक्टरमा मात्रै धानको रोपाई भएको छ ।

यसपछि क्षेत्रफलको हिसाबले तेस्रो प्रदेश लुम्बिनीमा ३ लाख २ हजार ९ सय ३९ हेक्टरमध्ये ८७.९३ प्रतिशतका दरले २ लाख ६६ हजार ३ सय ६९ हेक्टरमा रोपाई सम्पन्न भएको छ । यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी र वाग्मतीमा क्रमशः ९६.९९, ८७.९३, ७९.२९ र ८७.१९ प्रतिशतका दरले धानको रोपाई भएको छ ।

चुरे दोहनले निम्तिदै मधेशमा संकट

जलस्रोतविद् गोविन्द शर्माका अनुसार तराईको उत्तर र चुरे पर्वत मालाको दक्षिणमा ३८० मिटरको उचाइसम्म फैलिएको साँघुरो पेटी भएको भावर क्षेत्र (चुरे र तराईको बीचको क्षेत्र) मा भूमिगत जलस्रोतको सतह निक्कै तल पुगेको छ ।अवैध रुपमा वन फँडानी, अतिक्रमण, खोलानालाबाट ढुंगागिट्टी उत्खनन र मानवीय क्रियाकलापका कारण चुरेको भावर क्षेत्र संकटग्रस्त अवस्थामा पुगेको हो । यसले गर्दा भूमिगत जलस्रोतको तहमा पानी रिचार्ज हुन नसक्दा अहिले तराई मधेशमा खानेपानीको ट्युबवेल र खेतमा पानी हाल्ने डिप ट्युबवेलमा पानी आउन छाडेको छ । यसका साथै तल्लो तटीय क्षेत्रमा बाढी र डुवानको समस्या बढेको छ ।

उनका अनुसार भूमिगत जलस्रोतको तह सुक्दै जानुमा नेपालीको मात्रै दोष छैन । दक्षिणी छिमेकी मुलुक भारत गहिरो स्थानमा पर्छ । नेपाल अग्लो स्थानमा पर्छ । मधेशसँगै टाँसिएको भारतीय क्षेत्रमा सिँचाइको लागि हजारौंको संख्यामा डिप ट्युबवेल जडान गरिएका छन् ।स्वाभाविक रुपमा अग्लो स्थानबाट कुनै पनि वस्तु गहिरो स्थानतर्फ जान्छ, हाम्रो जलसतह घट्नुमा यो पनि एउटा ठूलो कारण हो।

चुरेको ८ देखि १० माइलसम्म चौडाइ भएको भावर प्रदेशले मुलुकको कूल क्षेत्रफलको ४.५ प्रतिशत भूभाग ओगटेको छ ।नार्कका धान वैज्ञानिक डा.उज्जवल कुशवाहाका अनुसार मधेशमा यो वर्ष देखिएको सुक्खा समस्या तत्कालै आएको होइन ।मधेशको पानीको मुख्य स्रोत चुरे क्षेत्रको अवैध रुपमा दोहन र जलवायु परिवर्तनको असरका कारण मधेशमा अकाशे पानी र भूमिगत पानीको समस्या आएको उनको भनाइ छ ।

उनका अनुसार पछिल्लो १० वर्षयता तराई मधेशमा मनसुन सक्रिय हुने प्रवृति परिवर्तन भएको छ । १० वर्ष अघिसम्म असार महिनामै मनसुनी वर्षा सक्रिय हुन्थ्यो । असारमै मनसुनी वर्षा सक्रिय हुँदा असारदेखि नै बर्खे धानवालीको रोपाई हुन्थ्यो ।पछिल्लो १० वर्ष यता तराई मधेशको मनसुनी वर्षा हुने प्याटर्न नै परिवर्तन भइसकेको छ, प्याटर्न परिवर्तन भएका कारण अहिले साउन महिनामा मात्रै तराई मधेशमा थोरवहुत मनसुन सक्रिय हुन थालेको छ, यो सबै जलवायु परिवर्तनको असरका कारण भएको हो।

पानीको रिचार्ज प्रणाली ध्वस्त हुँदा चुरे क्षेत्रमा कम पानी पर्नु र परेको पानी पनि भूमिगत रुपमा रिचार्ज अर्थात पुर्नभरन हुन नसक्नुले खानेपानीको ट्युबवेलका साथै खेतमा सिँचाइ गर्न कम गहिराइमा जडान गरिएको डिप ट्युबवेलमा पनि पानी आउन नसकेको उनको भनाइ छ ।जलवायु परिवर्तनको असरका कारण उत्पन्न भएको जोखिमलाई न्युनिकरण गर्न तत्कालै सरकारले तत्कालीन, अल्पकालीन र दीर्घकालीन नीति तयार गरी योजना कार्यान्वयनमा नल्याए आगामी वर्षहरुमा झन भयावह अवस्था सिर्जना हुने उनले बताए ।

अध्ययन प्रति सरकारी बेवास्ता

केहि वर्षअघि नेपाल कृषि अनुसन्धान परिषद (नार्क ले गरेको एक अध्ययनले जलवायु परिवर्तनका कारण नेपालीको कृषि प्रणालीमा ठूलो प्रभाव पारेको निष्कर्ष निकालेको थियो ।यो प्रतिवेदनले औषत तापक्रममा वृद्धि भए धानको उत्पादन उल्लेख्य परिमाणमा घट्ने औंल्याएको छ ।

अधिकतम तापक्रममा २ डिग्री सेल्सियस र न्यूनतम तापक्रममा १ डिग्री सेल्सियसको वृद्धि हुँदा धान उत्पादनमा सकारात्मक असर पाइएको उल्लेख गर्दै प्रतिवेदनले भनेको छ, ‘तर त्योभन्दा माथिको तापमान वृद्धिले ठूलो परिमाणमा उत्पादन घटेको पाइएको छ ।संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन अफ द युनाइटेड नेशन- अन्तर्गतको अग्रिज इन्टरनेशनल सिस्टम फर एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी)ले तराई मधेशमा गरेको एक अध्ययनले तराईमा अधिकतम तापक्रममा १ डिग्री सेल्सियस वृद्धि हुँदा प्रतिहेक्टर धान उत्पादनमा करिब ९ ले कमी आउने निष्कर्ष निकालेको छ।


यस्तै पछिल्लो २५ वर्षको अवधिमा तापक्रम अत्यधिक बढेको र वर्षा हुने दर घटेको उल्लेख गरेको छ । यसले गर्दा गहुँको उत्पादनमा ह्रास आउनुका साथै छोटो समयमा हुने गहुँवाली लगाउनु पर्ने सुझाव दिइएको छ ।तर सरकारले यी प्रतिवेदनप्रति कुनै चासो देखाएन । चुरेमाथिको दोहन निरन्तर जारी राख्यो। चुरे संरक्षणका नाममा सरकारले वर्षेनी अर्बाै रकम बगायो।तर, चुरे संरक्षण भएको देखिएन। त्यसको नतिजा अहिले देखिन थालेको छ।

पूर्व राष्ट्रपति डा. रामवरण यादवको पहलमा चुरे जोगाउने प्रयास थालिएपनि यसले व्यवहारतः परिणाम दिन सकेन। त्यसको नतिजा मधेशले खडेरी झेल्न परेको छ।पानीका मुहान सुकेपछि पिउने पानीका लागि ठूलो संकट आइलागेको छ। यसले अब पानीको मात्रै होइन, धान उत्पादनमा ठूलो कमी आइ खाद्य संकट पनि निम्तिन सक्छ। मधेशले कुल उत्पादनको एक चौथाइ धान उत्पादन गर्दै आएको त्यो घट्ने निश्चित छ। महंगीले लाखौ उपभोक्ताको ढाड सेक्नेछ, भने लाखौ किसानको यस वर्षको बर्खे उत्पादनमा व्यापक गिरावट आउने पक्का छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, आइतबार  ७ : ४३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित