३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

सरजु नदीको यस्तो छ, प्राचीन तथ्य !


२५ जेष्ठ २०८१, शुक्रबार  


भन्छन् नि नजिकको तीर्थ हेला। हो, सरजु नदीको उद्गम र पौराणिक महत्वको विषय हेलाको तीर्थ जस्तै भाछ,भगवान श्री रामप्रति आस्था र विश्वास राख्नेहरुका लागि । घर छेवैमै उद्गमस्थल भएर अयोध्या पुग्छिन् सरजु नदी । रामाणकालीन युगमा सरजु नदीको महिमा बेजोड छ। यही सरजुको उत्पत्ति भएको भूमि हो,दाङ। भगवान राम र सरजु नदीबीचको अन्योन्याश्रित सम्बन्ध भएको रामायणमा चर्चित छ, वर्णित छ। रामायणको कथा जान्ने र सुन्नेहरुले बुझेकै प्रसंग हो यो । तर, हरिणले आफ्नै वीनाको सुगन्ध नचिने झै छ, सरजु नदीको गरिमा र महत्वको विषय पनि ।

भगवान श्रीरामलाई आस्था र विश्वास गर्नेहरु अयोध्या पुग्छन्,अयोध्याको छेवैमा विशाल सरजु नदी छ। रामको बाल्यकालसंग जोडिएको छ,यही पवित्र सरजु नदी। जसको मुहान भने दाङको घोराही उपमहानगरपालिका १ रामपुरका मालझाक्री सामुदायिक वन भित्र छ। जसको अध्ययन आज भन्दा ८ वर्ष पहिले बर्दियाका इतिहास जानकार अयोध्याप्रसाद श्रीवास्तवको नेतृत्वमा गरिएको थियो।


रामायण ग्रन्थमा सरजु नदीको निकै महिमा गान गरिएको छ । भारतको विश्वविख्यात पुण्य तीर्थ अयोध्या यसै नदीको तटमा अवस्थित छ । भगवान रामको जन्मभूमि र क्रीडास्थल रहेको यो पुण्यतीर्थमा आज पनि लाखौं तीर्थयात्री यस नदीमा नुहाएपछि पवित्र हुने विश्वास गर्दछन्। तर, हाम्रै घर छेवैको सरजु नदीको मुहान आज नजिकको तीर्थ हेला भने जस्तै भाछ। विश्वका सय करोड हिन्दुहरुको आस्था विश्वासको धाम भएको अयोध्या पुग्ने यही सरजु नदी हो ।

हामी धर्म र पूण्य कमाउन भन्दै घर छेवैकै सरजुको मुहान छोडेर भारतको अयोध्या धाउँछौ । हामीलाई हाम्रो भन्दा पराइको प्यारो लागेरै हुन सक्छ, या यसको गहिरो अध्ययन र अनुसन्धानसंग प्रवद्र्धन गर्ने कुरामा राज्य संचालकहरु जिम्मेवार नभएर हो । आखिर जे होस्, सरजु नदीको उद्गम स्थल दाड हो, भन्ने तथ्यहरुले यसलाई प्रमाणित गर्ने कोशीस गरेका छन्। जुन तथ्यहरुलाई जाँचेर हेरौ है त।
तथ्य नम्बर १
कर्णाली नदी कैलाशको राक्षस तालबाट निस्केको हो, भने सरजु नदी मानसरोवरबाट निस्किएको भनि पुराणमा भनिएको छ। यद्यपि वर्तमान समयमा मानसरोवरबाट ब्रम्हपुत्र र रावी नदीमात्र देखा पर्छन् । यद्यपि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कुलसचिव प्राध्यापक डाक्टर जगतप्रसाद उपाध्यायले कर्णाली नदी नै सरजु नदी हो, भन्ने तर्क गर्छन्। उता बर्दियाका इतिहासका अध्ययेता अयोध्याप्रसाद श्रीवास्तव , प्राध्यापक डाक्टर उपाध्यायको तर्कमा सहमत देखिन्नन्।, उनी भन्छन्,“सरजु नदीको उद्गम स्थल दाड हो। जसको लामो अध्ययन र पुराना पाकाहरुको कथनले सत्यताको नजिक पुराएको देखिन्छ ।”

तथ्य नम्बर २
सरजु नदीको पौराणिक आधार खोज्दै जाने हो भने सुखसागर भन्ने धर्म ग्रन्थमा उल्लेख गरिएको पाइएको छ। पुराना पाकाहरु अनुसार प्राचीन कालमा ऋषिमुनिहरुको तपस्थलीमा पानीको आवश्यकता पूरा गर्नका लागि भगवान विष्णुले धर्तीमा बाँण हानेर जलको उत्पन्न गरेको प्रसंग छ। यद्यपि त्यो प्रसंगमा यसै ठाउँको हो भनेर किटानी नगरिएपनि बाँणलाई “सर” र उत्पत्तिलाई “जू” भनिएको छ । यहीबाट “सरजू” को उत्पत्ति भएको पाइन्छ। तर, त्यो सरजू अथवा सरयू नदी यही हुनु पर्दछ, जसको मूहान दाङको ऋषिमुनिहरुको तपस्यास्थलमा हो । हालको बबइ नदीको नाम स्थानीयहरुले “बाबाजी” “बाबाजी” भन्दाभन्दै “बाबाई” र अन्तमा अपभ्रंस हुन गई बबई भएको पाइएको छ। रैथानेहरुले बबइ भन्दै प्रचलनमा धेरै ल्याइएपनि यसको नाम सरजु नदी भएको बर्दिया जिल्ला गुलरिया नगरपालिका सुहेलवाका गंगाराम अधिकारीले लाेक स्मृतिमा भएको तथ्य बताएका थिए, हामीसंग।

ऐतिहासिक यथार्थ धरातलको खोजी गर्दै जाँदा,यो नदीको उद्गम स्थलको बारेमा केही कथन पाइएको छ । जहाँ गुलरिया नगरपालिका सुहेलवा गाउँमा बस्ने गंगाराम अधिकारीले बताए अनुसार घोराही उपमहानगर वडा नम्बर १ रामपुरको मालझाक्री सामुदायिक वन भित्र रहेको पानीको मुहान नै सरजु नदीको उद्गम हो । उनै अधिकारीले बताए अनुसार हर्नक काउलेगाउँको नजिकैको पहाडबाट एउटा पातलो चीरो छ। यही पहाडको वर्षाती पानीको झरन तल आउँछ, यसमा पानी टिक्दैन, रही रहदैन । तल आएपछि यसैमा पहाडबाट निस्केको पानीको अर्काे मसिनो सानो श्रोत देखिन्छ, जसमा गाउंलेहरुले ढुंगे धारो बनाएका छन् र तुर्र आउने पानी हात थापेर पिउने र साना तिना आवश्यकता पूरा गर्ने गर्दछन् । यसलाई स्थानीय मानिसहरुले “सरजुको शिर” भन्दछन् । थोरै तल आएपछि यसमा पानी बृद्धि हुन्छ र यसलाई “बालिम” खोला भनिन्छ ।

यो खोला दाङको समतल भूमिमा पुगेपछि यसलाई बबइ भनिन्छ। बबई बग्दै जाँदा घोराहीको पूर्वबाट आएको “कटुवा खोला” पश्चिमको सेवार खोला र त्यसदेखि पूर्वबाट आएको “सिसने खोला,” मिसिएपछि यसलाई खास गरी “बबई खोला” भनिन्छ भनि बताएका थिए । कोइरेपानीबाट बबई भएर हिंडेको यो नदीमा सल्यानबाट आएको “शारदा खोला” मिसिएपछि बल्ल यसको आकार अलि ठूलो हुन पुग्दछ र त्यहाँ देखि बर्दियामा प्रवेश हुँदा यिनी सरजु नदी बन्छिन्, भनेर उनै अधिकारीले कथन सुनाएको अध्ययेता श्रीवास्तव बताउँछन्।
बर्दियामा भूमिसुधारको प्रचार र औलो उन्मूलन भए पछि २०२५ साल देखि पहाडका मानिस बर्दिया झर्र्ने क्रममा दाङको समतल भूभागबाट बर्दिेया आएका मानिसहरु बबई नामसंग परिचित रहेकाले बर्दियामा पनि यसलाई बबई नै भन्न थालेका हुन् जसले गर्दा यसको मूल नाम सरयू ओझलमा पर्न गएको हो, भन्छन्,शुशिल कुमार लामिछाने।
तथ्य नम्बर ३
साना ठूला खोलाहरुलाई समेट्दै यो सरयू नदी अगाडि बढ्दै भेरी कर्णाली नदी जसलाई भारतमा घाघरा भनिन्छ, चौकाघाटमा गएर घाघरामा विलय हुन्छ र विशाल आकार प्राप्त गर्दछ । यो घाघरा अगाडि बढ्दै गएपछि नेपालको महाकाली नदी,जसलाई भारतमा शारदा भनिन्छ, यो शारदा र घाघरा एकाकार भएर रामायणमा गुणगान गरिएको भगवान रामको जन्मभूमि अयोध्या तीर्थमा पवित्र सरजु नदी कहलिन्छन् ।


दाङको बबई समेतका खोलाहरु मिश्रित नदीलाई बर्दियामा सरयू नदी र भारतमा प्रवेश गर्नासाथ यो नदीलाई सरजु नै भनिएको छ । तर नेपालको तराईमा कोही कोहीले कर्णाली र महाकालीलाई पनि यदाकदा सरजु भनेको सुनिन आउँछ । यी दुइ नदीहरु भारतमा गएर सरजु मिसिएपछि सरजु ू नै बन्न पुगेकाले सरजु नदीको माथिल्लो खण्ड कर्णाली र महाकालीलाई पनि सरजु भनिएको हो,भन्ने भनाई छ । तर,कर्णाली र महाकालीलाई नेपालमा सरजु भनेर उल्लेख भएको तथ्य र प्रमाण पाइएको छैन,भने यीनलाई भारतमा पनि सरजु भनेर कहीं उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ९ : ४४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित