२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

कहाँ चुक्यो, हाम्रो पर्यटन उद्योग ?


११ आश्विन २०८१, शुक्रबार  



पर्यटन मानवीय व्यवहार र आचरणमा निर्भर रहने सेवामूलक उद्योग हो । हामीले गर्ने हरेक व्यवहारले पर्यटनलाई प्रभावित गरिरहेको हुन्छ। एक अर्थमा भन्ने हो भने पर्यटन उद्योग निकै संवेदनशील क्षेत्र हो । जसले सिधै मानवीय धारणा र रुची निर्माणमा प्रभाव पार्दछ। यसर्थ हामीले गर्ने आतिथ्यतापूर्ण व्यवहार र पर्यटकीय सरचनाको विषयमा हामी सधै संवेदनशील बन्न सक्ने हो भने विश्वका ७९० मिलियन पर्यटक मध्येबाट कम्तीमा २ प्रतिशत विदेशी पर्यटक भित्र्याउन सक्छौ । किनकी यो देश पर्यटकीय हिरा हो । जसले संसारलाई सम्मोहित गरिरहेको छ।

पर्यटनको चर्चाको प्रारम्भ गरौ आतिथ्यता भनेको के हो ?

अतिथि देवो भवः यो वाक्यांशको अर्थ हो, पाहुना हाम्रा देवता हुन्। जुन कृराउपनिषद्मा चर्चा गरिएको छ । जहाँ ‘मातृ देवो भवः, पितृ देवो भवः, आचार्य देवो भवः,’ पछि ‘अतिथि देवो भवः’ भनिएको छ। यसको अर्थ हुन्छ माता, पिता र आचार्य (गुरु) पछि अतिथि हुन् । अतिथिलाई देवता समान मानेको छ ।यो कुरा आजको समाजले सिर्जना गरेको होइन। यो कुरा वैदिककालमै चर्चा गरिएको थियो । यसले के अथ्र्याउँछ भने हामी वैदिक कालदेखि नै पाहुनालाई उच्च सम्मान र सत्कार गर्दै आएका छौ । हाम्रो संस्कृति परम्पराले अतिथिलाई कति महत्व दिएको छ भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ । पञ्चमहायज्ञमा एउटा मनुष्य यज्ञ अर्थात् अतिथिहरुलाई सत्कार गर्ने काम समेत पर्दछ । यसको अर्थ हो,हरेक दिन एक जना अतिथिलाई सकेसम्म आफ्नो घरमा सत्कार गर्नुपर्दछ। जुन कुरा पूर्वीय संस्कृतिमा छ ।

अतिथिलाई कसरी सत्कार गर्ने भन्ने विषयमा विभिन्न लोक कथा एवं पौराणिक कथाहरु समेत पाउने गरिन्छ । किनकी अतिथिलाई आफूले भोगि आएको सुविधाभन्दा धेरै सुविधा दिएर जसरी हुन्छ प्रसन्न र प्रफूल्ल गराउनु पर्दछ भन्ने मान्यता रहेको हुन्छ र छ पनि । त्यसको लागि हामीले विधि र परम्परा पूर्वक अतिथि सत्कार गर्नुपर्ने हुन्छ र गछौ पनि । अतिथिको सत्कारमा नै अतिथि र स्वागत गर्ने व्यक्तिको समेत जीवनशैली र व्यवहारको स्तर थाहा हुने भएकोले अतिथि सत्कार आफ्नो सामाजिक प्रतिष्ठासँग पनि उत्तिकै जोडिएको हुन्छ ।

अतिथिको रुपमा भगवान समेत समय समयमा आएको पौराणिक किंवदन्तीहरुको आधारमा सबै अतिथिलाई पूर्वीय दर्शनले भगवान सरह मानेको छ । यसलाई वेद र वैदिक ग्रन्थहरुमा समेत महत्वका साथ उल्लेख गर्ने गरिएको छ । अतिथि सत्कारको लागि झकिझकाउ बासस्थान र ८४ व्यञ्जनको आवश्यकता पनि पर्दैन । अतिथिलाई त ओढारमा तपस्या गर्ने ऋषिहरुले समेत स्वागत गरेको प्रमाण पुराण एवं उपनिषद्हरुमा समेत पाउन सकिन्छ । तर, यसको लागि मन भने शुद्ध हुनु आवश्यक छ ।
यी माथिका पौराणिक सन्दर्भहरु पर्यटन क्षेत्रका लागि निकै महत्वपूर्ण छन्, हामी मनैदेखि शद्ध भएर पाहुनाको स्वागत गर्नुपर्दछ, तर, के हामीले पाहुनालाइ माथिका श्लोकमा भनिए जस्तै व्यवहार गरेका छौ त रु एकपटक हामीले हाम्रै व्यवहार र आचरणको ऐनामा हे¥यौ भने हामी त्यत्ति लायकको देखिन्नौ विद्यमान अवस्थाम । किनकी हामीमा पाहुनालाई सत्कार गर्ने संस्कार र शिक्षाको कमी छ। आधुनिकताको नाममा हामी पाहुनाको सत्कार होइन उनीहरुमािथ अत्याचार गरिरहेका हुन्छौ। जुन कुरा हाम्रो धर्म, संस्कार र मान्यताले पनि अस्विकार गरेको छ।

पाहुनालाई देवता सरह मान्ने वैदिककालदेखि प्रारम्भ भएको पाइन्छ। जुन कुरा अहिलेको विश्व पर्यटन बजारका लागि निकै ठूलो खुराक हो । हिजोका वैदिक कालमा पाहुनालाई निशुल्क गास बास र सत्कार गरिन्थ्यो ।तर, अहिले समाज बदलिएको छ। पाहुनालाई राम्रो सेवा र सत्कार गरे, प्रतिष्ठासंगै पैसा पनि कमाउन सकिन्छ। त्यो पैसा कमाउने माध्यम भनेको पर्यटन क्षेत्र हो । विशेष गरी औद्योगिक क्रान्तिपछि पर्यटनको विषयले संसारभर चर्चा पायो। एकताका तिर्थाटनको रुपमा विकसित भएको यस क्षेत्र आधुनिक समाजको विकाससंगै पर्यटनको रुपमा स्थापित छ।

पर्यटन नेपालको अद्धितीय हिरा

पर्यटन भनेको नै जिज्ञासा र कौतुहुलता हो । नयाँ नयाँ ठाउँको अध्ययन र अवलोकन गर्न मानिसहरु घरबाट निस्किन्छन्। उनीहरु अवलोकन भ्रमणसंगै रकमको खर्च पनि गर्दछन्। पैसा लिएर अतिथि सत्कार गरिने परिपाटी नै पर्यटन उद्योग हो । नेपालको सन्दर्भमा पर्यटन उद्योग एउटा बहुमूल्य हिरा हो। यही टल्किरहेको हिराको सुन्दरता र अनुपम छटा देखेर संसारका मानिसहरु लालायित भएका छन्। चोमलुङदेखि राराका सुन्दरतामा स्पर्श गर्न उनीहरु आतूर छन्।

जुन हिराको मूल्यले हाम्रो गरिबीका दर्दहरु सधै हट्नेछन्, आफ्नो स्वाभिमानलाई लिलाम गरेर लाखौ युवाहरु विदेशका गल्ली गल्ली चाहार्नुपर्दैन । जवानीको जोशसंगै रातो र तातो रगत दुइँ चार डलरमा बगाउनुपर्दैन । त्यसको लागि नेपाल पर्यटनको हिरा हो भनेर राज्यले नयाँ पुस्तालाई शिक्षा र संस्कार दिनुपर्दछ। नयाँ पुस्तालाई प्रकृति र संस्कृति पढाउनुपर्छ। त्यसका लागि समयसापेक्ष नीति र कार्यक्रम बनाउनुपर्छ। २०३५ सालको पर्यटन ऐनलाई बोकेर पर्यटनको नयाँ ट्रेण्डलाई नगदीकरण असम्भव छ। पुरानो ढर्राको पर्दा च्यातेर नवीन सोच र दृष्टिकोणबाट मात्रै नयाँ योजना र कार्यक्रम बन्न सक्छन्। त्यसका लागि काबिल पात्रहरुलाई यसको प्रवद्र्धनात्मकको नेतृत्व दिनुपर्दछ राज्यले ।

पर्यटनको नीति र नेता बदलौं

पर्यटनको विकासको लागि प्रधानमन्त्री आफै अघि सर्नु पर्दछ। एउटा मामूली मन्त्रीले मात्रै हाँक्न सक्ने क्षेत्र होइन यो । तर, यो राज्य संयन्त्रले त्यो हिराको महत्व र गरिमाको नजरअन्दाज गरिरहेको छ। प्रकृति र संस्कृतिले संसारकै उत्कृष्ट गन्तव्य भएपनि दलाल प्रवृत्तिको राज्यसत्ताले पर्यटन क्षेत्रका लागि ठोस नीति र कार्यक्रम ल्याउन सकेको छैन । सन १९५३ मे २९ मा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणपछि नेपालमा पर्यटन उद्योगको अवधारण आएको देखिन्छ । सन १९६२ देखि नेपालमा विदेशी पर्यटकले भ्रमण गरेको गणना गर्न थालियो । पहिलो पटक ६ हजार विदेशी पाहुनाले नेपाल भ्रमण गरेका थिए । त्यस यताको अवधि हेर्ने हो भने सन १९९८ मा पाँच लाख, सन २०११ मा ७ लाख ५० हजार र सन २०१८ मा १२ लाख पर्यटक आगमन भएको तथ्यांक छ।

पर्यटन उद्योगको प्रारम्भ भएको ६५ वर्ष बढीको यस अवधिमा पनि हामीले २० लाख पर्यटक भित्र्याउन पनि सकेका छैनौ । संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनका अनुसार विश्वभर ७९० मिलियन पर्यटकले अन्तर्राष्ट्रिय भ्रमण गर्ने गरेका छन्। यो आंकडा सन २०२४ को हो । हामीले यस वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने र उनीहरुको बसाइ अवधि र खर्चको दर बडाउने भनेका छौ । तर, उनीहरुलाई नेपाल ल्याउने हाम्रो नीति र कार्यक्रम कस्ता छन् ? त्यतातिर हामीले ध्यान दिएको देखिन्न । हाम्रो अवस्तुवादी नीति र कार्यक्रमकै कारण पर्यटनमा उल्लेख्य प्रगति हुन नसकेको हो । यस वर्षमा हाम्रो देशमा ७९० मिलियनको एक प्रतिशत पनि नेपालमा विदेशी पर्यटक आउँदैनन्। नेपाल प्रकृति र संस्कृतिको अनुपम गन्तव्य भएपनि यसको भ्रमण गर्न उनीहरुले प्राथमिकता किन दिएका छैनन् ? यो निकै सोचनीय र पेचिलो प्रश्न हो ।

यो प्रश्नको धेरै जवाफहरु हुन सक्छन्। त्यस मध्ये एउटा प्रश्न हो, हामीले पाहुनालाई देवताको व्यवहार गरेका छैनौ। अतिथि देवो भवःको हाम्रो आचरण र व्यवहार पक्कै भएको छैन । हाम्रै छिमेकी भारतको भन्दा हाम्रो पाहुनाका लागि गरिने व्यवहार उन्नत र उच्च त छ। त्यहाँ त पर्यटकलाई बलात्कार गरेर लुटिएको घटनाले विश्व लज्जित भएको थियो । यद्यपि हामीले पनि पर्यटन क्षेत्रको विकासका लागि मानवीय आचरण र पर्यटकीय योजनामा पुनः विचार गर्नुपर्ने बेला भएको छ। करिब ७ दशक लामो पर्यटन उद्योगमा लागि रहँदा पनि विश्वको पर्यटन बजारमा दुई प्रतिशत मानिसलाई स्वागत गर्न नसक्ने हो, भने विद्यमान संरचना र नीतिको विषयमा निर्मम बन्न आवस्यक छ।

समयको पदचापसंगै पर्यटनको ट्रेण्ड बदलिएको छ। मानवीय रुचीहरु भिन्न भएका छन्। मानवीय रुचीहरु अनुसार पर्यटकीय प्रडक्टको हामीले बजारीकरण गर्न सकेका छैनौ । सरकारले पर्यटनको प्रवद्र्धनको जिम्मा निजी क्षेत्रको हो भन्ने,तर, गतिलो सडक, सञ्चार र शिक्षाको क्षेत्रमा लगानी नगर्ने परिपाटी छ। पर्यटनका लागि उत्पादित जनशक्ति हाम्रो होटेल हस्पिटालिटी क्षेत्रमा परिचालित छ या छैन । नाथमकै भरमा यो सबै पर्याप्त हुन्छ त रु पर्यटन क्षेत्रको दीगोपना भन्दा पनि क्षणिक लाभ उठाउने प्रवृत्तिबाट के पर्यटनको उनयन होला त ?

नेपालको पर्यटनको मुख्य गन्तव्य हिमाल आरोहण हो, प्रकृति हो, संस्कृति हो । तर, हाम्रा होटल तथा होमस्टेहरुले कसरी सेवा दिइरहेका छन् भन्ने विषयमा कोही कसैले अनुगमन र नियमन गरेको छ त ? उड्डयन क्षेत्र होस् या यातायात क्षेत्र के पर्यटनमैत्री छन् त ? पर्यटक भनेकै डलर लिएर आएका हुन्, यीनलाई जति सकिन्छ, यही मौकामा लुट्ने हो भन्ने हाम्रो मनोविज्ञानले पर्यटन फेरि फर्केर नेपला र आउने र नयाँ ल्याउने गर्ला त ? पर्यटकीय रुटका हरेक चोक र गल्लीमा पर्यटकसंग दाम झार्ने र अनेक दुःख दिने प्रवृत्तिले हामी संसार मानिसका लागि गतिला भयौ त ? पर्यटन उद्योग संवेदनशील क्षेत्र हो। जहाँ मानवीय व्यवहारले ठूलो अर्थ राख्दछ, पर्यटकहरुले महल र तारे होटल आवस्यकै पर्दछ भनेका हुँदैनन्। तर, होमस्टेमा बस्दा सुरक्षा सरसफाइ र मिठो व्यवहार र आचरणको खाँचो पर्दछ। त्यस्ता कुरामा हामीले ध्यान पुराएका छौ त ? यी र यस्ता विषयमा हामीले गहिरो गरी अध्ययन र अनुसन्धान नगर्ने हो, भने हाम्रो पर्यटन उद्योग उभो लाग्ने देखिन्न । हिजोकै मनस्थिति र मनोविज्ञानले पर्यटन क्षेत्रमा कायापलट गर्न सकिन्न ।

पर्यटनक्षेत्रमा मनस्थिति र परिस्थिति बदलौं

पर्यटन क्षेत्रका लागि हामीले सूचना तथा सञ्चारको पहुँचको विस्तार तथा भरपर्दो सम्प्रेषण, सुव्यवस्थित उद्दारका संयन्त्र, पाहुनामैत्री होटल तथा होमस्टे, पर्यावरणमैत्री सडक सञ्जाल, पर्यटकमैत्री उड्डयन तथा यातायात क्षेत्र, रैथानी बाली र संस्कृतिको प्रवद्र्धन, सशक्त र प्रभावकारी राज्य संयन्त्र, निजी क्षेत्रको सक्रियता, सञ्चार क्षेत्रको प्राथमिकता, पर्यटन शिक्षाको व्यापकता, सम्पदाहरुको संरक्षण र सम्वद्र्धनमा ध्यान दिन सकेमा हामीले पर्यटन क्षेत्रमा फड्को मार्न सक्छौ ।

पर्यटनका लागि मुख्य शर्त हुन्, आकर्षण, बन्दोबस्त, र पहुँच । यी तीन महत्वपूर्ण पक्षलाई ध्यानमा राखेर होटल हस्पिटालिटीदेखि होमस्टेसम्म पर्यटकीय व्यवहार र आचरण हुनुपर्छ ।पर्यट पूर्वाधार, पर्यटन सञ्चार पर्यटन व्यवहारले मात्रै पाहुनाको मन जित्न सक्छ। हामीले जति विदेशी पाहुनाको मन जित्न सक्छौ उति हाम्रो बारेमा संसारभर सकारात्मक सन्देश जान्छ। जुन सन्देशले नेपालको पर्यटन उद्योगको प्रवद्र्धन गर्न अतुलनीय योगदान राख्दछ । यसर्थ विमानस्थलदेखि ट्रेकिङ होस् या होटेलदेखि होमस्टेसम्म पाहुनामैत्री व्यवहार गरौ ।

अहिलेसम्म जे जस्ता कोशीस भए यी कोशीसहरुको निरन्तरताबाट पर्यटन क्षेत्रले गति लिन सक्दैन । पर्यटनक्षेत्रमा मनस्थिति र परिस्थिति बदलौं।हाम्रो वैदिक कालमा विकसित भएको अतिथि देवो भवःलाई आत्मसाथ गरी पाहुनाहरुको सत्कार गरौ, पाहुनालाई सत्कार गर्ने वैदिक चेतनालाई हामीले संसार भर फैलाउन जरुरी छ। नयाँ पुस्तालाई यस्तो शिक्षा र संस्कार दिने विद्यालय र विश्वविद्यालयका पाठयक्रममा राखौ । पर्यटन नै मुलुकको आर्थिक सम्वृद्धिको आधार हो भन्नेमा कसैको विमति नहोला । तर, राज्य तहबाट जुन पहल कदमी लिनुपर्ने हो । त्यो अहिलेसम्म भएको देखिन्न । जसले गर्दा हामीले करिब ७ दशकको पर्यटन प्रवद्र्धनको अभ्यासमा अपेक्षाकृत प्रगति गर्न सकेनौ,त्यसको गम्भीर समीक्षा गर्न बिलम्ब नगरौ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ८ : ४४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित