२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

वैदिक सनातनी सभ्यता संसारकै उत्कृष्ट : युवा विश्लेषक रिजाल


४ आश्विन २०८१, शुक्रबार  


यहाँको औपचारिक अध्ययन के हो ?
-मैले श्री महाकाली उच्च माध्यमिक विद्यालयबाट एसएलसी ९प्रवेशिका० परीक्षा उत्तीर्ण गरे, भने त्रिभुवन विश्वविद्यालयबाट शिक्षा संकायमा प्रविणता तह उत्तीर्ण गरेको छु। औपचारिक शिक्षा आर्जनतिर भन्दा पनि म अनौपचारिक अध्ययनमा बढी सक्रिय छु, विशेष गरी म वैश्विक समाजको विकासक्रमका सिद्धान्त र विचारहरुको अध्ययन गर्ने गर्दछु। त्यसैमा पनि पूर्वीय सभ्यताको खास रुची राख्ने व्यक्ति हुँ । सनातन धर्म,संस्कृति र त्यसभित्रका वैदिक र बौद्धिक ज्ञानको खोजी मेरा अध्ययन र चासोका विषय हुन्।

तपाईको राजनीतिक पृष्ठभूमि के हो ?

-हो, म राजनीतिमा सक्रिय मानिस हुँ ,म राजनीतिलाई नजिकैबाट अनुभव र विश्लेषण गर्दै आएको छु, यतिबेला म माओवादी पार्टीसंग आवद्ध छु। यद्यपि मेरो राजनीतिक यात्राको प्रारम्भ भने नेपाल विद्यार्थी संघबाट भएको थियो । २०५४ सालमा धादिङको महाकाली उच्च माध्यमिक विद्यालयमा प्रारम्भिक कमिटीको अध्यक्ष भएँ । तर, म २०५६सालदेखि माओवादी विचारबाट प्रभावित भएर विद्यार्थी राजनीतिमा जोडिए, माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीसंग जोडिदै त्यसपछिका दिनमा म पूर्णकालीन कार्यकर्ता भएँ । पार्टी भित्रको मेरो सक्रियताले मलाई पार्टीले जिम्मेवारी पनि दियो। इलाका पाटी सदस्य, जिल्ला सदस्य हुदै मजदुर संगठनको केन्द्रीय सचिव भएँ । अहिले म नेकपा माओवादी केन्द्र सम्पर्क समन्वय समिति सदस्य तथा धादिङ जिल्लाको सह–इन्चार्जको जिम्मेवारी बहन गरिरहेको छु ।

माक्र्सवादले धर्मलाई अफिम भन्छ, तपाई वैदिक सनातन धर्म ,संस्कृतिको विषयमा वकालत गर्नुहुन्छ , यो विरोधाभाष भएन र ?

-पक्कै पनि, म मालेमावादी दर्शन र विचारबाट लैस भएको एक क्रान्तिकारी युवा हुँ । म क्रान्तिकारी चैतन्यको आलोकमा उभिएर समाज र राजनीतिको विश्लेषण र व्याख्या गर्ने गर्दछु। विज्ञानसम्मत तरिकाले समाजको व्याख्या गर्ने मेरो स्वभाव र प्रवृत्ति छ। म हरेक पक्षलाई विज्ञानको आँखाले हेर्ने गर्दछु । समाजप्रतिको मेरो बुझाइ निरपेक्ष होइन, सधै सापेक्ष हुन्छ। म पूर्वीय दर्शनबाट प्रभावित छु भने भौतिकवादी दर्शनलाई पनि नजिकैबाट बुझ्ने कोशीस गरेको छु । यी मेरा बुझाइको कोशीसबाट आर्जित निचोड भनेको समाजलाई सापेक्षतावादी दृष्टिकोणबाट बुझ्नु र त्यसको व्याख्या गर्नु हो । यहाँले प्रश्न गरे जस्तै म माओवादी हुँ तर, म मेरो वैदिक सनातन धर्म र संस्कृतिप्रति उच्च सम्मान र गौरव गर्दछु, त्यसभित्र भएका ज्ञानको विषयमा वकालत गर्दछु । अणुबमका पिता ओपन हाइमरदेखि आइन्सटाइनले समेत गीताको चर्चा गरेका छन्। वेदका ज्ञान र विज्ञानका सुत्रबाट आफ्ना आविस्कार गरेका छन्। तर, हामीले हाम्रै वैदिक ज्ञानको विराट पक्षलाई भुल्यौ। माक्र्सले भने जस्तै धर्म अफिम होला। त्यो हाम्रो समाजमा होइन । तत्कालीन युरोपियन समाजमा हो। जतिबेला पादरीहरुले धर्मको विषयमा टिप्पणी गर्दा निषेध मात्रै गर्दनथे, पृथ्वी गोलो छ, भन्दा ग्यालिलियो दण्डित हुन प¥यो, डार्विनका अनुसन्धानहरु कोर्ष बुकबाट हटाइएको थियो । तर, हाम्रो सभ्यता र समाजमा त्यसको प्रभाव रहेन । किनकी युरोपको सभ्यता र हाम्रो सभ्यताका बीचमा धेरै भिन्नता छ। यही हो, सापेक्षात्मक बुझाइ भनेको पनि । जेष्ठमा काठमाडौमा घाम प्यारो नलाग्न सक्छ,तर मुस्ताङमा घाम न्यानो लाग्छ, हुन त सूर्य सत्य त नै हो । तथापि परिवेश अनुसार भिन्न महत्व हुन सक्छ।

धर्म, संस्कृति र राष्ट्रियताको सवालमा यहाँको ठोस धारणा के छ ?
-म जनयुद्धको राप र तापबाट खारिएको एक क्रान्तिकारी योद्धा हुँ। म देश,जनता र पार्टीप्रति सधै वफादार र इमान्दार व्यक्ति हुँ। मलाई मेरो नेतृत्वले देश र जनताका लागि लड्न जा भनेर कासन गरोस् म तत्काल फिल्डमा उत्रिन सक्छु । मातृभूमि जतिको प्यारो र गौरवको विषय दुनियाँमा अरु केही हुदैन । हामी सावैभौम र स्वतन्त्र राष्ट्रका सच्चा नागरिक हौ। श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहबाट एकसुत्रमा उनिएको नेपाल हो , यो । यसको इतिहास आदिम छ। यो देव भूमि हो । जहाँ हजारौ ऋषिमुनिहरुले तपस्या गरे। यो साधनास्थली हो,तपस्यास्थली हो, धर्मस्थली हो, पूण्य भूमि हो ,योगस्थली हो । हाम्रा सभ्यताको विकास आजको होइन, हजारौ वर्ष पुराना छन्। आज वेदमा लेखिएका कुरा, गीताका आख्यानहरु संसारका लागि अतुलनीय ज्ञानका भण्डार भएका छन्। ती अथाह ज्ञान नयाँ पुस्तालाई दिनुपर्छ। धर्म भनेको कसैमाथि उचोनिचो गर्न होइन, मानव जातिसहित समग्र प्राणीको हित र रक्षा हो । धर्मलाई ज्ञान र आचरणको कोणबाट बुझ्नुपर्छ र बुझाउनुपर्दछ। कुनै विषयवस्तुको गहिरो अध्ययन नगरी सतही टिप्पणी गर्ने र हिन्दू धर्मको हुर्मत लिने गरेको देखिन्छ, ती गलत कोशीस अज्ञानता र अविवेकीका नतिजा हुन्। यसर्थ नेपाल धार्मिक सहिष्णुतासहितको सनातन धर्म न्यायोचित तर, निरपेक्षतामा हुनुपर्दछ। धर्मले मानिसलाई सही बाटो हिडाउँछ, धर्मले मानवीयताको उजागर गर्दछ। धर्म भनेको कुनै दैविक कुरा भन्दा पनि मानवीय आचरण र व्यवहार हो, जसले हामीलाई स्वअनुशासित बनाउँछ।

समकालीन नेपाली राजनीतिको खास नायक को हो ?
-मलाई लाग्छ, यो देशमा गणतन्त्र स्थापना गर्ने र जनताका हक अधिकारसहितको लागि नयाँ संविधानका रचनाकार मध्येका एक नायक हुन प्रचण्ड । उनकै नेतृत्वमा मुलुकले समावेशी गणतन्त्र पाएको छ। जुन युगान्तकारी र ऐतिहासिक उपलब्धि हो । संसारमा मानिसहरु जन्मिन्छन्, आम मानिसहरु मध्येमा इतिहासको रचना विरलैले मात्रै गर्दछन्। हो,त्यस्तै हो प्रचण्ड पनि । जसले इतिहासमा क्रमभंगता ल्याइदियो। समाजमा दबिएका दमितहरु राज्य सत्तामा पुग्ने नयाँ ढोका खुल्यो । आज जनता निर्भिकताकासाथ आफ्नो भाग्य र भविष्यको फैसला गर्न स्वतन्त्र छन्, स्वाधीन छन्,। जनयुद्धले ल्याएको यो उथलपुथलकारी परिवर्तनको प्रभावकारीरुपमा संस्थागत हुन नसकेको सत्य हो । तर, हामीले राजनीतिक परिवर्तन गर्न जति सहज छ त्यत्ति सामाजिक रुपान्तरणको गति ढिला हुन्छ भन्ने कुरा भुल्न हुँदैन । यसर्थ गणतन्त्रकै कारण आज बालेन, हर्क र गोपीहरु उदाएका छन्। प्रचण्डले जुन कुरा स्थानीय तहको नतिजा आउना वित्तिकै गणतन्त्रका फूलको संज्ञा दिएका थिए। जुन कुरा एउटा दूरदर्शी नेताले सोच्ने कुरा हो । मलाई लाग्छ। देशको राजनीतिक परिवर्तन गर्न जसरी प्रचण्डको योगदान रह्यो। अब देश बनाउन पनि प्रचण्डको विकल्प देख्दिन समकालीन राजनीतिमा।

संघीयताको औचित्यता सकिएको हो ?
-संघीयताको औचित्यता झन् बढेको छ। किनकी भुँइ तहबाट यसको अभ्यास भैरहेको छ। लामो समय केन्द्रीकृत सत्ताबाट अभ्यस्त समाजका लागि यो अलि नमिलेको जस्तो भएको हुन सक्छ। संघीयता एउटा साधन मात्रै होइन यो । भावना र अपनत्वको विषय पनि हो । जसले यो राष्ट्र मेरो हो भन्ने अनुभुति आम जनतालाई गराउँदछ । शासकहरुमा भएको खराबीलाई लिएर संघीयतामाथि दोष लगाउनु न्योचित तर्क होइन। बरु हामीले भ्रष्टाचारको विषयमा निर्ममता अप्नाउनुपर्छ। राजकीय पदमा पुगेर अकुत सम्पत्ति कमाउनेहरुको कठोरताकासाथ निगरानी बढाउनुपर्छ। जब मुलुकमा जवाफदेही र पारदशी सरकार बन्छ। तब देशले परिवर्तनको बोध गर्न थाल्दछ । व्यवस्था त एउटा साधन हो,मुख्य कर्ता राजनीति हो । राजनीतिक नेतृत्वले इमान र जमान देखाउन सक्यो भने संघीयता थप बलियो भएर जान्छ।

राज्यभित्रको विभेदको अन्त्य कसरी ?
संविधानले सबैलाई बरोबरी हक अधिकार दिएको छ। यद्यपि त्यसको कार्यान्वयन तहमा बस्नेहरुले गम्भीरताकासाथ काम गरेका छैनन्। समाजमा भएको वर्गिय,लैङ्गिक, जातिय र क्षेत्रीय विेभेदको हल गरिनुपर्छ, त्यो संविधानसम्मत तरिकाले । अझै पनि जातभातका नाममा मानिसमाथि विभेद र हेयका भावना राखिन्छ। त्यसको विरुद्ध राज्य निर्मम र कठोर बन्न पर्दछ। कुनै पनि नेपालीले क्षेत्र जात आदिको नाममा दोश्रो दर्जाको नागरिक भएको हिनताबोध गर्ने वातावरण बन्नु हुँदैन । यद्यपि हिजोको भन्दा आज धेरै परिवर्तन भएको छ, समाजमा । तर,यत्तिले मात्रै पर्याप्त हुँदैन । समाजको अपेक्षा धेरै छन्। त्यसका लागि राज्य तहमा पुगेकाहरु बढी जिम्मेवार हुन पर्दछ, भने नागरिक तहबाट पनि जागरण पैदा गर्न पर्दछ। हिजो जसरी सतीप्रथाको अन्त्य भयो, अब जातिप्रथाको पनि त्यस्तै गरी अन्त्य गर्न जरुरी छ।

हाम्रो विकासको मोडल र परराष्ट्र नीति कस्तो हुनुपर्ला ?
-मैले यस अघि पनि भने ,हरेक सोच र दृष्टिकोणहरुलाई सापेक्षात्मकरुपमै बुझ्नुपर्छ। राम्रा पक्षहरुको अनुसरण र गलत कुरा छोड्दै जानुपर्दछ। यहाँले प्रश्न गरे अनुसार हाम्रो विकासको मोडल हाम्रै माटो अनरुपको हुनुपर्दछ। आधारभूत रुपमा हामीले हाम्रो धर्ती विर्सनुहुन्न । किनकी हाम्रो माटो सुहाउँदो विकास मोडल चाहिन्छ। त्यसमा नपुगेका कुराहरु हामी अरुको मोडललाई पनि अनुशरण गर्न सक्दछौ । तर, हामीले हाम्रो राष्ट्रियता, माटो र स्वाभिमानलाई विर्सेर विदेशीले लादेको विकासको तौरतरिकाले उभो लागिदैन । जुन कुरा हामीले अनुभव गरिसक्यौ। हामीले विक्रम सम्वत २०१३ सलादेखि योजनावद्ध विकासको अभ्यास गर्दै आएपनि हामी पीँधमै छौ । यसको सिहाँवलोकन गरिनुपर्छ। हामी संग–संगै स्वतन्त्र भएको भारत आज विश्वको पाँचौ धनी देश भयो,उता चीन विश्वको ठूलो अर्थतन्त्र ,सैन्य र प्रविधिको देश बन्ने होडमा छ। तर, हामी अझै परनिर्भर छौ, कहिले बिआरआइतिर त कहिले एमसीसीतिर छौ। हाम्रा लाभका लागि यस्ता शक्ति राष्ट्रका धुरीहरुसंग सम्बन्ध त बनाउनुपर्दछ । तर, हाम्रो सार्वभौमिकता, अखण्डता र स्वतन्त्रतालाई कदापि विर्सनुहुन्न । परराष्ट्र नीतिको विषयमा राष्ट्रिय शक्तिहरुबीच एउटै बुझाइ हुनुपर्दछ, हामी कहाँ भइरहेको अभ्यास भनेको चाँही दलैपिच्छेका विदेश नीति छन्। जुन गलत हो ।

राज्यको युवा नीति कस्तो छ ?
-सही प्रश्न गर्नुभयो, हामी कहाँ युवा नीति नभएको होइन । तर, जुन नीतिले युवालाई उद्यशील र अध्ययनशील बनाउन सकेन । युवाका नाममा वर्षेनी करोडौ खर्चिएपनि त्यसको खास उपादेयता देखिएको छैन । नेपाल यस्तो अवस्थामा छकी जहाँ ४० प्रतिशतको हाराहारीमा युवा शक्ति छ। जुन मुलुकका लागि ठूलो अवसर हो । तर,यो अवसरलाई राज्यले गम्भीरतारुपले लिएको देखिन्न। आज युवा खाडीदेखि युरोप -अमेरिकामा आफ्नो स्वाभिमान बेचेर बाँच्न विवश छ। स्वदेशमै उद्यमको वातावरण भैदिएको भए लाखौ युवा विदेश जादैन थियो, होला । युवा विदेश जानै हुदैन भन्ने पनि होइन तर, उसले त्यहाँ आर्जन गरेको पूँजी र सीप मातृभूमिमा लगानी गरेको छ, या गरेकै छैन भन्ने विषयमा घोत्लिनुपर्छ । त्यतातिर राज्य होस् या हाम्रो राजनीतिक दलहरु लागेको पटक्कै देखिन्न । त्यसका लागि राज्यले अब युवा नीतिको विषयमा समीक्षा गर्न जरुरी छ, विदेशमा भएका लाखौ युवालाई स्वदेश फर्काउनका लागि । हामीले अब राजनीतिक आन्दोलन गर्न जरुरी छैन। देशले अब आर्थिक क्रान्ति खोजेको छ। त्यसका लागि हामी जस्ता युवाहरु पनि चनाखो बन्नुपर्दछ, हामी उद्यमी बन्नुपर्दछ। सरकारले गरिदेला र खाउँला भन्ने मनोविज्ञान अन्त्य गर्दै यही धर्तीमा पसिना चुहाउने आँट गर्नुपर्दछ। म आफै पनि उद्यमी युवा हुँ। म पार्टीसंग जोडिएपनि मेरो आप्नै व्यवसाय छ। हामी व्यवसाय गरेर आत्मनिर्भर बन्ने हो । आत्मनिर्भर बन्न सकियो भने देश र जनताको विषयमा पनि सोच्न र केही गर्न सकिन्छ।

अन्तमा,
-मुलरुपमा संविधानले जे निर्दिष्ट गरेको छ सोही अनुसार यो देशको शासन व्यवस्था चल्नुपर्दछ। समाज अग्रगामी हुन्छ। समय सापेक्ष रुपान्तरण हुँदै जानुपर्छ। तर, हामीले हाम्रो धर्म संस्कृति, सभ्यता, मूल्यमान्यताहरुलाई विर्सनुहुन्न। आज संसारले वैदिक सनातनको खोज तथा अनुसन्धान मात्रै गरेको छैन । अनुशरण गरिरहेको छ। आज संस्कृत भाषा संसारकै लागि पृय भाषा बनेको छ। तर, हामीले हाम्रै भाषा र संस्कृति विर्सदै गएको छौ, जुन कुरा सर्वथा गलत छ। नयाँ पुस्ताले हाम्रा यस्ता अमूल्य निधिलाई चिन्नुपर्छ। नेपालीको पहिचान नै हाम्रो सनातनी सभ्यता हो, हाम्रो लुम्बिनी हो, हाम्रो सगरमाथा हो। यी मूल्य मान्यताहरुलाई आत्मसाथ गरे अघि बढौ,हाम्रै पालामा यो देश सम्वृद्ध र विकसित अवस्य हुनेछ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ११ : ४५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित