१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

एमाले –माओवादीमा चुलिँदो युवाहरुको विकर्षण !


३ आश्विन २०८२, शुक्रबार  


अनुत्पादक र बेरोजगारहरुका क्लब हुन्, नेपालका कम्युनिष्ट पार्टीहरुको थरीथरीका दोकान । जसप्रति नयाँ पुस्ताको आकर्षण शून्य जस्तै छ । नयाँ पुस्ता कम्युनिष्ट पार्टीको सदस्यता लिनै चाहन्न । किनकी उसले कम्युनिष्ट विचार बोकेर आफ्नो आर्थिक तथा सामाजिक भविष्य देखेकै छैन ।नयाँ पुस्ताले यो त जनता झुक्याउने औजार ठानेको छ । भर्खरैको जेनजी पुस्ताको आन्दोलनले संविधानमै टेकेर सुधार गर्न माग ग¥यो । तर, कम्युनिष्टहरु ठीक हुन् भन्न चाहेन । किनकी नेपालका कम्युनिष्टहरु गाला बजाएर जिविका चलाउने मानिसहरु हुन् ।

यस विषयमा एमाले नेता विष्णु रिमालले अब नयाँ पुस्ता पार्टीमा देख्नै गाह्रो भएको बताएका छन् , उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, उहिले -उहिले पाकाहरुलाई अतिथि बनाएर कार्यक्रम गरिन्थ्यो । अहिले युवालाई राखेर कार्यक्रम गर्दा पनि पाउन सकिन्न । जेनजी पुस्ता त झन् धेरै परको कुरा भो । एमाले नेता रिजालले भने जस्तै हालत छ,नेपालका कम्युनिष्टहरुको । बुढा नेताले भरिभराउ कम्युनिष्ट पार्टीहरुमा युवाहरुको रुझान् लगभग शून्य भएको पाइन्छ । मुलतः यस्तो हुनुमा युवालाई नेतृत्वमा स्वीाकर्न नसक्नु र बदलिदो परिवेश अनुसार पार्टीहरुमा रुपान्तरण र पुस्तान्तरण नहुनु हो ।

माओका नेपाली अनुयायी तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने जेनजीको माग र आफ्नो पार्टीको मुद्दा मिलेको भन्दै अनुनय विननय गरिरहेका छन् ।यस्तो समस्या माओवादीमा मात्रै छैन । एमालेभित्र पनि ठूलो अन्तरविरोध छ । एमाले पार्टी ओलीले निजी कम्पनी जस्तो बनाएका छन् । उनलाई जे जस्तो सन्की चल्छ, त्यही अनुसार पार्टी चलाउँदै आएका छन् । ओलीलाई सधै बोक्दै आएका जबजका व्याख्याकार भनिने एमाले महासचिव शंकर पोखरेलले रोइलो गरिरहेका छन् । जेनजी समूहको दुई दिनको सडक आन्दोलनले सत्ताबाट लघारिएको एमालेको महासचिव रहेका पोखरेल आफूहरुलाई निषेध गरिएको भन्दै रोइलो गरिरहेका छन् ।

यहाँ प्रश्न एमालेको मात्रै हैन । लगभग नेपालका सबै जसो कम्युनिस्ट पार्टीको यस्तै प्रवृत्तिगत कुरा हो। विगतमा सबैभन्दा बढी युवालाई आकर्षण गर्न सफल नेपालका यी कम्युनिस्ट पार्टीहरु यतिबेला सबै भन्दा बढी विकर्षणको केन्द्र बनेका छन् । जेनजी आन्दोलनमा देखिएको युवा पुस्ता एमालेप्रति निकै क्रुद्ध छ । १९ जना युवाको कत्लेआम गरेपछि उनीहरु एमालेसंग बढी क्रोधित भएका हुन् ।

उता विप्लव लगायतका सानातिना दलमा युवाको आकर्षण झन् कमजोर छ । विपप्लव नेतृत्वले युवाको भावना र चाहनालाई बेलैमा सम्बोधन गर्न सकेको भए । पछिल्लो जेनजी विद्रोहमा पंक्तिवद्ध युवाहरुको मन जित्न सक्ने थियो । दुर्भाग्य विप्लव प्रचण्डसंग एकता गरेर सरकारमा जाने हतारो जस्तोमा देखिन्थे । कहिले माओवादी अध्यक्ष प्रचण्डसंग सम्वाद त कहिले एमाले शंकर पोखरेलसंग लहसिदैमा ठिक्क थिए ।

विप्लव अहिलेसम्मका वेदागी नेता हुन् । उनले पनिअहिलेसम्मको वेदागी चरित्र, उत्पादन संस्कृतिसंगै प्रविधिमा युवा पुस्ताको भविष्य देखाउन सकेनन् । उही माक्रर्स,लेनिन र माओका कहानी सुनाएर पार्टी बनाउने कोशी गरे । त्यसप्रति युवाको कुनै आकर्षण हुँदैन । युवा पुस्ता पृथ्वीनारायण शाहको नेपाल एकीकरणको विषयमा बहस गर्न चाहन्छ । तर, संसारबाटै फेजआउट भएको थोत्रो माक्रर्सवादको ठेली पढ्न, मनन गर्न र जीवनमा लागू गर्न चाहान्न । किनकी यो हाम्रो समाज र विद्यमान परिवेशसंग कतै मेल खाँदैन । त्यसकारण विप्लवले नयाँ पुस्ताको नेतृत्व लिने पहलकदमी गुमाए । अब यस्तो अवसर असम्भव छ। इतिहास दोहोरिदैन । बरु निरन्तर अघि बढ्छ ।

नेपालमा युवा भनेको नै कम्युनिष्ट हो । उसको विचार, आचरण र व्यवहार क्रान्तिकारी र प्रगशिल हुन्छ भन्ने भाष्य एकताका खुबै थियो । तर, पछिल्लो समय मुलतः कम्युनिष्ट पण्डितहरुको आचरण, व्यवहार र तिनले व्यक्त गर्ने अभिव्यक्तिको कारण नयाँ पु्स्ता कम्युनिष्ट बन्न नसकेको हो । ७५ वर्ष भन्दा लामो इतिहास बोकेको नेपालको कम्युनिष्ट आन्दोलन यतिबेला रक्षात्मक अवस्थामा छ । जतिबेला यी कम्युनिष्टहरु सत्तामा गएका थिएनन्। त्यत्तिबेला यीनीहरुमा उत्पादन संस्कृति, सर्वहारा जीवनशैलीसंगै क्रान्तिकारी चेत र व्यवहार थियो ।

तर, २०५१ सालमा एमाले सत्तामा गयो भने २०६४ सालमा माओवादी सत्ताको धुरीमा पुग्यो । जब जब यी कम्युनिष्टहरु सत्तामा पुग्छन्,तब तब कम्युनिष्टहरुको हालत अहिलेका नेपालका एमाले र माओवादीको जस्तो हुन्छ । यस्तो प्रवृत्तिगत समस्या नेपालमा मात्रै होइन, संसार भर भएको पाइन्छ ।

सर्वहारा वर्गको नारा लिएर सत्तामा पुगेपछि उनीहरुका अस्वभाविक वर्गउत्थान हुन्छ। अनि त्यही विन्दुबाटै पतनका यात्रा शुरु हुन्छ । साँचो आकर्षण भनेको सिद्धान्त विचार सहित आन्दोलन प्रतिको इमान्दारिता हो । सत्ता र शक्तिको लागि हुने आकर्षण बालुवाको महल हो जो कुनै आन्दोलनको हिस्सा हैन ।फगत स्वार्थ केन्दित बालुवाको महल हो । यो संकटमा कहिल्यै काम लाग्दैन । हात्ती जत्रा दल एमाले र माओवादी भएपनि जेनजी आन्दोलनमा संगठन र विचारको रक्षा गर्न उनीहरुले सकेनन् ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ३ : ४७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित