भारतले गएको सेप्टेम्बर १४ मा सूचना जारी गर्दै नेपालबाट निर्यात हुने तेलमा १० प्रतिशत मात्रै भन्सार शुल्क लगाईएपछि नेपाली खाने तेलको माग उच्च छ।
जबकि नेपाल बाहेकका मुलुकबाट निर्यात हुने खाने तेलमा भारतले २७ प्रतिशत भन्सार कर लगाएको छ। नेपाली खाने तेलमा भन्सार सहुलियत भएकोलेे भारतीय बजारमा नेपाली तेलकाे माग धेरै हुने गरेको व्यवसायी विभाेर अग्रवाल बताउँछन् ।
यसको प्रभाव नेपाली उपभोक्तामा पनि परेको अग्रवाल बताउँछन् । पछिल्लो समय खाने तेल भारततर्फ निर्यात हुन थालेपछि नेपालमा तेलको मूल्य ३० प्रतिशतसम्म बढेको उनको भनाइ छ ।
यस अवधिमा नेपालले २१ मुलुकबाट कच्चा तेल आयात गरेको छ । जसमध्ये सबैभन्दा धेरै युक्रेनबाट आयात हुने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा युक्रेनबाट ६ अर्ब २४ करोड २९ लाख २१ हजार रुपैयाँको तेल आयात भएको छ ।
यसैगरी दोस्रोमा अर्जेन्टिनाबाट ४ अर्ब ८६ करोड ६० लाख ७६ हजार रुपैयाँको तेल आयात भएको छ । मलेसियाबाट १ अर्ब ५३ करोड ९३ लाख ६५ हजार रुपैयाँ बराबरको तेल आयात हुँदा ब्राजिलबाट ६९ करोड ७९ लाख ४९ हजारको तेल आयात भएको छ ।
यस्तै, ६० करोड बराबरको तेल थाइल्याण्डबाट आयात भएको छ । बाँकी तेल टोगो, बेनिन, इटाली, स्पेन, इन्डोनेसिया, साइप्रस लगायतका १७ मुलुकबाट १ अर्ब ६४ करोड ५० लाख ८३ हजार रुपैयाँ बराबरको आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
तेलको आयात बढेसँगै निर्यात पनि उत्तिकै बढेको विभागको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १ अर्ब ६७ करोड ४५ लाख रुपैयाँ बराबरको तेल निर्यात भएको विभागले जनाएको छ ।
गएको वर्ष समीक्षा अवधिमा १ अर्ब ४८ करोड ८८ लाख रुपैयाँको तेल निर्यात भएको थियो । गएकाे वर्षको तुलनामा यो वर्ष १८ करोड ५७ लाख रुपैयाँभन्दा बढीको तेल निर्यात भएको देखिन्छ ।
यस अवधिमा सबैभन्दा ठुलो परिमाणमा भारततर्फ निर्यात भएको विभागले जनाएको छ । भारतमा १ अर्ब ६६ करोड ७९ लाख ७ हजार रुपैयाँको तेल निर्यात भएको छ । जसमध्येमा ९४ करोड ८ लाख ५९ हजारको भटमासको तेल, ३७ करोड ४ लाख ४० हजारको पाम तेल, ३४ करोड ९२ लाख ९४ हजारको सूर्यमुखी तेल र ५ हजार रुपैयाँको रायो/तोरीको तेल निर्यात भएको छ ।
यसैगरी २१ लाख ८६ हजार रुपैयाँको तेल अष्ट्रेलिया, १ लाखको तेल क्यानडा, ४ लाख २५ हजारको अमेरिका र ८८ हजार रुपैयाँको तेल डेनमार्क निर्यात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । नेपालले विभिन्न मुलुकबाट तेल आयात गरी भारततर्फ निर्यात गर्ने गरेको गरेको छ ।