१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

अण्डाको बजार मूल्य अहिलेसम्मकै उच्च,किसानलाई भने राहत


१३ पुस २०८१, शनिबार  



कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाउने भएका छन्। निरन्तर घाटामा बिक्री हुँदै आएका उनीहरूले अण्डाको मूल्य शनिबारदेखि हालसम्मकै उच्च मूल्यमा बिक्री हुने भएपछि लागत रकममा रहात हुने भएको हो।

शनिबारदेखि लागू हुने गरी ठूलो अण्डाको फार्म मूल्य प्रतिपेटी (सात क्रेट) ३ हजार ६ सय रूपैयाँ र मझौलाको ३ हजार ५ सय रूपैयाँ कायम गरिएको छ।

नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा १६.५६ रूपैयाँ पर्न आउँछ। भाउ बढेसँगै उपभोक्ता मूल्य प्रतिगोटा २२.५० रूपैयाँ कायम गरिएको छ।

नेपाल लेर्यस कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार मूल्य बढेसँगै किसानले लागत मूल्य पाउने भएका छन्। दाउन्ने एग्रोफार्म, हिमचुली पोल्ट्री, खिलुङकाली (जनकपुर एग्रो)सुविश पोल्ट्री भिज्जु पोल्ट्री, शिवम् लेयर्स फार्म लगायतले काठमाडौंको होलसेल बजारमा शनिबारदेखि कायम हुने गरी नयाँ भाउ कायम गरेका छन्।

जाडोका कारण उत्पादनमा कमी, अण्डा उत्पादन गर्ने कुखुरामा गिरावट, पर्यटक बढेको र स्कुल, कलेज सञ्चालनमा आएसँगै अण्डाको माग बढेकाले मूल्य पनि बढेको उनले बताए।

किसानको फार्ममा बुढो कुखुरा बिक्री भएसँगै धेरै किसान विस्थापित भएकाले नयाँ चल्ला हाल्न नसकेको पनि उनको भनाइ छ।
उनी भन्छन्,‘अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ,अण्डाको मूल्य बढेपछि किसान उत्साहित बनेका छन्। अहिले दैनिक २२ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएको छ।’

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले पनि उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य बढेको बताउँछन्।नोक्सान थपिँदै गएपछि धेरै किसान विस्थापित भएको उद्योग संघ चितवनका निवर्तमान अध्यक्षसमेत रहेका कुखुरापालक किसान त्रिलोचन कँडेलले बताए। गएको वर्ष पनि पुस महिनामा चार पटक अण्डाको भाउ बढेको थियो।उनका अनुसार अब किसानले लागत मूल्य पनि पाएनन् भने बाँकी रहेका किसान विस्थापति हुन्छन्।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ११ : ४७ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित