मध्यरातमा नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठक सकियो। विशेष गरी विद्या भण्डारीलाई नेतृत्वमा रोक्ने उदेश्यमा केन्द्रित बैठकमा ओलीले तमासा देखाए।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने निर्णयप्रति विमति जनाउने कर्ण थापालाई ओलीले बोल्नै दिएनन्। स्थायी कमिटी सदस्य कर्ण थापाले बोल्दै गर्दा अध्यक्ष केपी ओलीले बैठक सकियो भन्दै निस्किए ।
कर्ण थापाले तीन मिनेट मात्रै के बोलेको थिए। ओलीले छिटो सक्न आदेश दिए। अनि ओलीका अन्य अनुयायी हल्ला गरे। ओलीले विधान अधिवेशन अगावै आफूलाई तेश्रो कार्यकालको अध्यक्षको रुपम फेरि उभ्याए। आफ्नो प्रतिस्पर्धामा जो कोही आए सिध्याउने ओली रणनीतिको शिकार भीम रावलपछि विद्या भण्डारी बनिन्। दुई कार्यकाल र ७० वर्षे उमेरहदले आफूलाई रोक्ने व्यवस्थाको अन्त्य गर्दै ओली अब आजिवन पनि अध्यक्ष हुन सक्ने बाटो खुला गरियो ।
ओलीको यस घोषणाको पक्षमा ताली बजिसकेको थियो । उपाध्यक्ष युवराज ज्ञवालीले प्रतिवाद गरे । सँगै अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि बोल्न खोजे । पहिले पाण्डे नै बोले । उपाध्यक्ष पाण्डेले हतारमा कुनै निर्णय लिन नहुने र पूर्वराष्ट्रपति भण्डारीको विषयमा पनि बसेर छलफल गर्न उचित हुने तर्क गरे । हल र ओलीलाई मनाउन पाण्डेले लामै भूमिका बाँधेका थिए ।केन्द्रीय कमिटीका नेताहरुको सुझाव लिएर सचिवालयबाट निर्णय गर्ने पार्टीको परम्परा समेत सम्झाउँदै पाण्डेले ओलीलाई निर्णय बदल्न आग्रह गरेका थिए ।तर ओलीले ‘हुँदैन, अहिले गर्नुपर्छ’ भने ।
उपाध्यक्ष पाण्डेले अगाडि बढेर एमालेकै इतिहास सम्झाएका थिए । छैटौं महाधिवेशनमा योगेश भट्टराई र रुपनारायण श्रेष्ठलाई हटाउने निर्णय एमालेको जीन्दगीमा महँगो पर्न गएको सन्दर्भ उनले सम्झिएका थिए । ‘छैटौं महाधिवेशनबाटै योगेश र रुपनारायणलाई सदस्यबाटै हटाइयो, त्यो पछि मान्य भएन’ पाण्डेले तर्क गरेका थिए । बरु पार्टी विभाजनसम्म पुग्नलाई त्यो सन्दर्भले भूमिका खेलेको पनि तर्क गरेका थिए ।
ओलीका अगाडि अरु नेता डराएर सत्य बोल्न नसकेको निष्कर्ष सहित पाण्डेले स्टालिन र खुश्र्चेबको सन्दर्भमै सुनाएका थिए ।पाण्डेकै जस्तो तर्क गर्दै पूर्वराष्ट्रपतिबारे गरिएको निर्णय सच्याउन उपाध्यक्ष युवराज ज्ञवालीले आग्रह गरेका थिए । विद्या भण्डारीलाई कम नआँक्न ओलीलाई ज्ञवालीले सुझाव दिएका थिए ।
‘दुईपटकको उपाध्यक्ष, पूर्वराष्ट्रपति, मदन भण्डारीसँग लिगेसी जोडिएको नेता, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरिसकेको मान्छेलाई कम आँक्नु हुन्न’, ज्ञवालीले भने, ‘यो निर्णय फिर्ता नलिने हो भने ठूलो संकट आउन सक्छ, पार्टी बिग्रहमा जान सक्छ ।
ज्ञवालीले बोलिरहँदा बीचबीचमै ओलीले जवाफ दिइरहे । ‘युवराज कमरेडले संकट आउन सक्छ भन्दा पनि ओलीले आए आओस् भन्दै जवाफ फर्काए । जे पर्छ त्यो सहुँला भन्दै प्रतिवाद गरिरहे । पदाधिकार तहका नेताहरुको अनुरोध र आग्रहलाई ओलीले सुनेन् बरु, पार्टी भड्खालोमा गए जाओस् भन्दै आफ्नै पदका लागि जे कुरा पनि झेल्न तयार भए। भण्डारीलाई कुनैपनि हालतमा पार्टी नेतृत्वमा फर्कन नमिल्ने कुतर्कं गरिरहे । बैठकको समापन सम्बोधनका क्रममा त ओलीले भण्डारीप्रति आक्रोश नै पोखेका थिए ।
ओलीको पछिल्लो पदलोलुपताको कदम, तत्कालीन सोभियत संघका कम्युनिष्ट तानाशाह स्टालिनसंग ठ्याक्के मिल्दो छ। तत्कालीन सोभियत संघको कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका तानाशह स्टालिनले आफ्ना दर्जनौं प्रतिस्पर्धीलाई एक–एक गरेर मृत्युदण्ड दिएका थिए । स्टालिनको त्यो बर्बरतापूर्ण इतिहासको पुनरावृत्ति एमालेभित्र ओलीले गरेका छन।
मुलुककै लोकतान्त्रिक पार्टीको रुपमा माधव झलनाथले हुर्काएको र मदनले जन्माएको एमाले यतिबेला निजी कम्पनी जस्तो भएको छ। मानौ केपी ओली एमालेको सीइओ हुन्। उनै सिइओ ओलीले जे जे आदेश र फरमान गर्दछन् र दिन्छन्। त्यही त्यही एमालेको विधि र विधान बन्ने गरेको छ। त्यसैको पछिल्लो श्रृंखला हो, मदनपत्नी विद्यालाई पार्टी राजनीतिमा आउन निषेध गर्न गरिएको खलनायकीपूर्ण ओली शैली ।
हरेक नागरिकलाई राजनीतिक अधिकार छ। विद्या भण्डारीको लागि पनि त्यत्तिकै खुला र अधिकार छ। राष्ट्रपति भैसकेको व्यक्ति सक्रिय राजनीतिमा आउनु हुन्न भन्ने दुनियाँकै कुतर्क हो। मुलुककै ठूलो कम्युनिष्ट पार्टी भएपनि विगत दश वर्षदेखि एमाले पार्टी भन्दा पनि निजी कम्पनी जस्तो भएको छ। पार्टीको निजीकरणबाट जोगाउन विद्या सक्रिय राजनीतिमा आउन चाहेकी हुन्। यो उनको चाहना मात्रै होइन, एमालेभित्रको आवस्यकता हो। देशको लागि पनि खाँचो हो। तर, नेतृत्वमा आउने बाटो नै बन्द गरिदिए ओलीले ।विद्या भण्डारीको नवीकरण भइसकेको पार्टी सदस्यता चपाएर खाइदिए। यसले विद्याको पार्टीभित्रको योगदान र मदनको बलिदानमाथि ओलीको अपमान हो ।
यस्तो प्रवृत्तिले पार्टी बर्बादी र विभाजनतिर पक्का जान्छ नै । यसले एमालेभित्र ओलीको स्वेच्छाचारितालाई थप मलजल गरेको छ। ओली बाहेक अन्य नेता छैनन् भन्ने थप भाष्य बनाएको छ भने ओली बाहेक सबै नेता कार्यकर्ता उनका दास, नोकर, रैती र हलि हुन् भन्ने सिद्ध फेरि भएको छ। यसले के सन्देश पनि दिएको छ भने अबको दुनियाँमा कोही मान्छेहरू कम्युनिस्ट पार्टीको सदस्य बन्ने छैनन्। किनकी ओलीको यो लज्जास्पद र घृणित अनि अधिनायकवादी शैलीले सबैलाई तर्साएको छ।








