१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

लेवल भएका वस्तु मात्रै बिक्री गर्ने भाटभटेनी र बिगमार्टको प्रतिवद्धता


१८ बैशाख २०८२, बिहिबार  



देशका दुई ठूला चेन सपिङ मल भाटभटेनी र बिगमार्गटले लेवल भएका वस्तु मात्रै विक्री गर्ने प्रतिवद्धता जनाएका छन् ।

निजी क्षेत्रबाट सञ्चालित नेपालका दुई ठूलो चेन सपिङ मल भाटभटेनी सुपर मार्केट र बिग मार्ट प्राइभेट लिमिटेडले भारतसहित तेश्रो मुलुकबाट आयात हुने लेवलसहितको उपभोग्य वस्तु मात्रै आफ्ना स्टोरबाट बिक्री बितरण गर्ने प्रतिवद्धता जनाएका हुन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ अनुसार उत्पादकले उत्पादन गरेका वस्तु तथा पैठारी भएका वस्तुमा अनिवार्य रुपमा नेपाली वा अंग्रेजी भाषामा उत्पादन मिति, उपभोग्य मिति, उत्पादन ब्याच नम्बरलगायतका विवरण खुलेको लेवल भएको सामान बिक्री गर्न ती दुवै सुपर मार्केटका प्रतिनिधीलाई निर्देशन दिएको छ ।

विभागका महानिर्देशक कुमार दाहालले दुवै सुपरमार्केटका प्रतिनिधिलाई विभागमै बोलाएर छलफल गरी आयात भएका र आफै उत्पादन गरेका सामग्रीमा अनिवार्य रुपमा लेवल उल्लेख गर्न भनेका थिए ।

विभागको आग्रहपछि भाटभटेनी सुपर मार्केट र बिग मार्टले आफैले उत्पादन गरेका र बाह्य मुलुकबाट आयात गरेका वस्तुमा अनिवार्य रुपमा लेवल उल्लेख गरी बिक्री बितरण गर्ने प्रतिवद्धता जनाएका हुन्।

यस्तै विभागले सोमबार नै कस्मेटिक, फुड्स सप्लिमेन्ट्स तथा न्यूट्रास्युटिकल उत्पादन र आयात गर्ने उद्योगी तथा आयातकर्तालाई सात दिनभित्र व्यवसाय दर्ता, प्यान तथा भ्याट कर चुक्ता प्रमाणपत्र, एक्जिम सर्टिफिकेट, उत्पादक कम्पनीको दर्ता तथा वस्तु उत्पादनको इजाजत पत्र, प्रज्ञापन पत्र, वस्तुको एनालाइसिस रिपोर्टलगायतका कागजातसहित उपस्थित हुन निर्देशक दिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  ६ : ५३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित