२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

बैशाख ११मा एमालेको युवा प्रदर्शन,’जनताले जितेको दिन’को स्मरण कि,सत्ताको हुँकार ?


९ बैशाख २०८२, मंगलबार  


सत्तारूढ नेकपा एमाले जनताले जितेको दिन
बैशाख ११ गते ५० हजार युवालाई राजधानीमा उतार्ने तयारीमा छ।

पछिल्लो समय राजावादी शक्तिहरू सलबलाउन थालेपछि युवा सेलिब्रेसन भन्दै युवा प्रदर्शन गर्न लागेको हो।
गणतन्त्रको पक्षमा एकै स्वरमा उभिएको एमालेले शक्ति देखाउन युवा प्रदर्शन गर्न लागेको टिप्पणी भइरहेको छ। यद्यपि बैशाख ११ गते जनताले जितेको दिन पारेर उसले युवा प्रदर्शन गर्नुलाई लोकतन्त्र र गणतन्त्रको पक्षमा एमाले प्रतिवद्ध भएको एकथरीको विश्लेषण छ।


एमालेले शक्ति प्रदर्शनका निम्ति देशभरबाट युवाहरू राजधानी उतार्ने योजना अन्तर्गत आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरिरहेको छ । तयारीकै निम्ति एमाले महासचिव शंकर पोखरेलको संयोजनमा केन्द्रीय मूख्यालय च्यासलमा दिनहुँ जसो बैठक बसिरहेको छ ।

एमाले नेताहरू छलफलमा

नेकपा एमालेले लोकतन्त्र दिवसका दिन राजधानी उपत्यकामा शक्ति प्रदर्शनको तयारी गरिरहेको छ । वर्षेनि १० वैशाखका दिन पार्टी स्थापना दिवस मनाउदै आएको एमालेले यसपटक ‘युथ सेलिब्रेसन’ शीर्षकमा शक्ति प्रदर्शन गर्न लागेको हो।

एमालेले हरेक वडाबाट कम्तिमा एक जना महिला सहित दुई युवा काठमाडौं पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । युवाहरू काठमाडौं ल्याउने कामको अगुवाई भने एमालेबाट निर्वाचित प्रतिनिधिहरूलाई दिइएको छ।

शीर्ष नेताहरूकाे छलफल

जनप्रतिनिधिहरूको उपस्थितिलाई अनिवार्य गरिएको छ। देशभरबाट युवाहरू ल्याउने काम भइरहेको छ । जिल्ला–जिल्लाबाट काठमाडौंका लागि गाडी छुटिरहेको छन्। एमालेले यो वर्षको लोकतन्त्र दिवसलाई एमालेले ऐतिहासिक दिन बनाउने नेताहरूको दाबी छ।

एमाले नेताहरूले गणतन्त्रको सुदृढीकरण र पार्टी नेतृत्वको रक्षार्थ देशभरका युवा सडकमा उतार्नुपर्ने आवश्यकता परेको बताइरहेका छन् । तयारी बैठकहरूमा, सामाजिक सञ्जाल र अन्तर्वार्ता मार्फत् एमाले नेताहरूले युथ सेलिब्रेसनको औचित्य प्रष्ट्याउने काम गरिरहेका छन् ।

गणतन्त्रको लागि र प्रतिक्रियावादको विरुद्धमा, खासगरी राजावादीहरूको विरुद्धमा युथ सेलिब्रेसन नेकपा एमालेको आयोजनामा हुन गइरहेको एमाले नेता खिमलाल भट्टराईले सञ्जालमा उल्लेख गरेका छन्।
‘यसमा सहभागिताका लागि म देशभरीका युवाहरूलाई आह्वान गर्दछु’ एमाले पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गरेका छन् ।

भट्टराईले जस्तै एमालेका कयौं नेताहरूले भिडियो सन्देश मार्फत् ११ वैशाखमा हुने युथ सेलिब्रेसनमा सहभागिताका निम्ति अपील गरिरहेका छन् ।

एमाले नेताहरूले भेला मार्फत जनप्रतिनिधिहरूलाई आफ्नो वडाबाट बढी भन्दा युवाहरू सडकमा उतार्न निर्देशन दिएका छन् । पार्टीका स्थानीय नेतृत्वहरूसँगको बैठक पनि एमालेले राखिसकेको छ ।युवा प्रदर्शनलाई व्यवस्थित ,प्रभावकारी र मर्यादित बनाउने उसको रणनीति छ।

Oplus_131072

ज्ञानेन्द्र शाहले गएको फागुन ६ गते प्रजातन्त्र दिवसको अवसर पारेर भिडियो सन्देश मार्फत् राजतन्त्रको पक्षमा अपील गरेपछि एमाले सडक प्रदर्शनमा उत्रिएको छ । तीन महिने वडा केन्द्रीय अभियान चलाइरहेको एमालेले ज्ञानेन्द्र शाहको सक्रियता पछि रणनीति बदलेको हो।

गणतन्त्रको रक्षाका जनमत देखाउन उसले यस्ता कार्यक्रम गर्दै आएको छ। सत्ता साझेदार कांग्रेस भित्र राजावादी र गणतन्त्रवादी कित्ता देखिएपनि एमाले गणतन्त्रको पक्षमा एक मत छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : ५४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित