
जब प्रधानाध्यापक आफ्नो पेशाप्रति इमान्दार र लगनशील बन्छ, तब त्यो विद्यालयको शैक्षिक गुणस्तरले आफ्नै इतिहास भत्काउँदो रहेछ। आफ्नै इतिहास भत्काउने त्यस्ता कुशल नेतृत्वदायी क्षमता र दक्षताका एक गज्जबका उदाहरणीय पात्र बनेका छन्,विश्व निकेत माध्यमिक विद्यालय त्रिपुरेश्वर, काठमाडौका, प्रधानाध्यापक हेरम्बराज कँडेल। शिक्षण पेशामा आज भन्दा २९ वर्ष अघि प्रवेश गरेका उनी यतिबेला विश्व निकेतन माध्यमिक विद्यालयको इतिहास ब्रेक गरेर शैक्षिक क्षेत्रमा राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्। विगत ९ वर्षदेखि उनको नेतृत्वमा सञ्चालित विश्व निकेतन माध्यमिक विद्यालयले देशभरीमै सर्वाेकृष्ट अंक र संख्यामा नयाँ रेकर्ड बनाएको हो ।

विश्व निकेतन माध्यमिक विद्यालयमा करिब ९ वर्ष अघिदेखि उनी विद्यालय प्रशासनको पूर्ण जिम्मेवारीमा छन्। १ सय ६० जना शिक्षक कर्मचारीको नेतृत्व र ४ हजार ४ सय विद्यार्थीको कुशल गुरु बनेका उनको विद्यालय २०८० को माध्यमिक शिक्षा परीक्षा( एसईई)मा ९४ प्रतिशत विद्यार्थीले सर्वाेकृष्ट र उत्कृष्ट नम्बर लिएर देशकै पहिलो विद्यालय मात्रै बनेन। विगतको साल २०७९ मा रविनप्रसाद धितालले३.९२ जीपीए ल्याएकोमा २०८० मा चार जनाले ४ जीपीए सहित उत्कृष्टता हासिल गरेपछि विद्यालयले आफ्नै रेकर्ड पनि भत्काएको हो ।विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सपना देखेका र सकल्प बोकेका हेडसर हुन्, हेरम्बराज कँडेल।त्रिभुवन विश्वविद्यालय, विज्ञान संकायको वनस्पतिशास्त्रमा स्नाकाेत्तर (एमएस्सी) गरेका,शैक्षिक नेतृत्वमा दर्शन शास्त्र स्नाकोत्तर(एमफील) र विद्यावारिधि(पीएचडी)का शोधार्थीको रुपमा रहेका कँडेलले नेतृत्व गरेको करिब ९ वर्षमा शैक्षिक गुणस्तरमा उथलपुथल आएको हो ।

जहाँ २०८० को माध्यमिक शिक्षा परीक्षा( एसईई)मा ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भए। जबकी देशभर करिब ४९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। देशभरका धेरै सरकरी विद्यालयहरुको नतिजा शूल्य भैरहेका बेला विश्व निकेतनले भने यस अघिको आफ्नै इतिहास ब्रेक गर्दै देशकै अब्बल विद्यालय कहलिएको हो। जहाँ ४ जना विद्यार्थीले ४ जीपए प्राप्त गरे ,४ जीपीए हासिल गर्ने विद्यार्थीहरु हुन्ः स्वस्तिक अधिकारी, अन्जु भुसाल,आकृति महासेठ र एन्जन थापा मगर। यसैगरी झण्डै ४ जीपीए ल्याउने १९ जना ३ जीपीए माथि ल्याउने ९२ ३ जीपीए ल्याउने ८६ जना र ५८ जनाले २.४ माथि जीपीए प्राप्त गरे।

मिति २०७२ पुस २१ गतेको दिन हो, जुन दिन कँडेलले विश्व निकेतनको नेतृत्व सम्हाल्दै थिए, त्यत्तिबेलाको शैक्षिक नतिजा ७० प्रतिशतको हाराहारीमा थियो। यति मात्रै होइन, महाभूकम्पले विद्यालयका भौतिक संरचनाहरु ढलेका थिए, विद्यालयको शैक्षिक गुणस्तर उकास्न मात्रै होइन, भौतिक संरचना पुनः उठाएर विद्यालय सञ्चालन गर्नुपर्ने उनको काँधमा थियो । तर,उनी प्रधानाध्यापक भएर आएको पहिलो वर्षदेखि शैक्षिक सुधार हुँदै गयो, निकेतनले २०८० मा आइपुग्दा ९४ प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको हो ।४ जना विद्यार्थीले ४ जीपए प्राप्त गरे । देशकै शैक्षिक नतिजा खस्किएको बेला विश्व निकेतनको शैक्षिक सुधार सबैका लागि अनूकरणीय बनेको हो ।२०७६को कोरोनामहामारीको बेलामा पनि अनलाईन माध्यमबाट अध्यापन गराइएको थियो । त्यत्तिबेला पनि नतिजा उत्कृष्ट आयो।

अत्यन्तै शालीन र मृदृभाषी प्रधानाध्यापक कँडेल धादिङको बेनीघाटमा मिति २०२५ मंसिर २५ गते जन्मिएका थिए। स्वर्गीय पण्डित मोतिराम कँडेल र आमा नरकुमारीका छोरा हुन् कँडेल। घरमा पढ्न पर्छ भन्ने वातावरण पाएका उनले चन्द्रोदय माध्यमिक विद्यालय विशालटार धादिङबाट २०४२ मा प्रथम श्रेणी उत्तीर्ण गरेका थिए ।

उनी यतिबेला विद्यावारिधिका लागि शोधार्थीको रुपमा छन्। उनै कँडेलको नेतृत्वमा विश्व निकेत माध्यमिक विद्यालय देशकै नमुना बनेको छ। विद्यालय यसरी नमुना बन्नुमा अर्काे कारण हो, यस विद्यालयमा कार्यरत ९० प्रतिशत शिक्षक कर्मचारीका सन्ततीले यसै विद्यालयमा अध्ययन गर्दछन्। आफ्नै सन्ततीले पनि अध्ययन गर्ने भएपछि शिक्षक र अभिभावककै भूमिमा उनीहरु रहँदा शैक्षिक वातावरण सुदृढ भएको देखिन्छ।

यति मात्रै होइन, जहाँ ४ सय बढी अन्य विद्यालय,विश्वविद्यालयका शिक्षक र प्राध्यापकका छोराछोरीले अध्ययन गर्दछन्। निम्न र मध्यम वर्गक मात्रै होइन, माथिल्लो वर्गका अभिभावक समेत विश्व निकेतन खोज्दै पुग्छन् देशको ७७ जिल्ला बालबालिकाको रोजाइमा पर्दछ, विश्वनिकेतन भन्छन्, प्रधानाध्यापक हेरम्बराज कँडेल। उनी भन्छन्,“तीनै तहका सरकारको सहयोग छ, अभिभावकहरुको उत्तिकै माया, साथ र समर्थनले हामीलाई हौसिला दिएको छ। हामी वर्षमा तीन पटक अभिभावकहरुसंग सामूहिक छलफल गरेर समीक्षा गर्दछौ, नयाँ योजना बनाएर अघि बढ्ने गरेका छौ, जसको परिणाम एसईइको परीक्षामा देखियो ।”उनी थप्दै भन्छन्,शिक्षकले चाह्यो भने विद्यालयलाई नमुना बनाउन सकिदो रहेछ, हामी उपचारात्मक कक्षा संचालन पनि गरेका छौ,कमजोर विद्यार्थीहरुलाई। पहिलो पाठशाला घर हो। अनि विद्याय भनेर अभिभावकसंग बारम्बार आग्रह गर्दै आएका छौ, हाम्रो आग्रहलाई पनि अभिभावकहरुले मनन गर्नु भएको छ भने विद्यार्थीहरुले पनि पालना गरेका छन्। जसले गर्दा विद्यालयको शैक्षिक वातावरण पनि राम्रो बनेको छ।

यस विद्यायमा व्यवस्थापन, विज्ञान, मानविकी, कानून, शिक्षा भने इलेक्ट्रेकिल इन्जिनियरिङ ९ – १२ को पढाइ हुन्छ। वि. सं. २०७४ र २०७५ मा लगातार राष्ट्रिय शिक्षा पुरस्कार पाएको यस स्कुलको अन्य कुरामा पनि आफ्नो गुणस्तर प्रमाणित गरेको छ । यहि वर्ष यस विद्यालयका १० जना विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन्, भने ४० जना भन्दा बढी विद्यार्थीले निःशुल्क अध्ययनका लागि छात्रवृत्ति पाएका छन् । अझ गौरवपुर्ण उदाहरण छ कि गएको वर्ष यहि विद्यालयका विद्यार्थी आशिक झाले एमबीबीएस प्रवेश परिक्षामा नेपालभरमै सर्वोत्कृष्ट स्थान बनाएका थिए ।

यस विद्यालयको शैक्षिक उपलब्धिको विषयमा काठमाडौ महानगरका प्रमुख बालेन्द्र साहले निकै तारिफ गरेका छन्, सामाजिक सञ्जालमा उनी लेख्छन्,“आजको घरदैलोमा यी जानकारीहरु पाए पछि लाग्यो, विद्यालयको गुणस्तरका लागि मानक र उदाहरणहरु त हाम्रै महानगरमा पनि छन् । महानगरका लागि शिक्षाक्षेत्रको यो नमुना उपयोगी हुनेछ । याद गर्नै पर्छ, सरकारी स्कुललाई प्राथमिकतामा नराखी, सरकारी स्कुलको शिक्षा सर्वसुलभ र गुणस्तरिय नहुन्जेल देश अगाडि बढ्छ भन्ने सोच्नु दिवास्वप्न मात्र हो । ”

हो, पक्कै पनि सरकारी विद्यालयको शिक्षा सर्वसुलभ र गुणस्तरीय नहुन्जेल देश विकास असम्भव छ। त्यसका लागि शैक्षिक क्षेत्र सुधारमा राज्यको उपल्लो तहमा बस्ने नीति निर्माताहरुले इमान्दारितापूर्वक सोच्न जरुरी छ। विश्व निकेतन जस्ता नमुना विद्यालय र हेरम्बरजा कँडेल जस्तो अब्बल हेडसरको नमुनायोग्य सत्कर्मको अनुशरण गर्न देशभरका अन्य विद्यालयले पनि सकून्।