४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

होशियार ! फर्मालिन प्रयोग गरिएका माछा खाँदा हुन सक्छ, ‘प्राणघातक क्यान्सर’


१० माघ २०८१, बिहिबार  


झापाको शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध लगाएको छ।

माछालाई धेरै दिनसम्म ताजा देखाउन मानव स्वास्थ्यका लागि हानिकारक मानिएको फर्मालिन रसायन प्रयोग गरिएको पाइएपछि बिक्री वितरणमा रोक लगाइएको पालिकाका उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।

‘पालिका अनुगमनको संयोजक समेत रहेकी उपप्रमुख कार्कीले स्वास्थ्यका लागि हानिकारक फर्मालिन प्रयोग गरिएको माछाको सेवनले क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने भएकोले प्रतिबन्ध लगाइएको बतईन्। आगामी दिनमा ‘माछामा फर्मालिन प्रयोग तथा मरेका माछा बिक्री वितरण समेत नगर्न निर्देशन दिएको पनि उनले बताईन् ।

नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाहाम्फेले फर्मालिन प्रयोग भएका र मरेका माछा बिक्री वितरण हुन नदिन स्थानीय बजार व्यवस्थापन समिति र स्थानीय प्रहरीसँग मिलेर नगरपालिकाले नियमित बजार अनुगमन गरिरहेको बताइन् । भारतबाट आयातित माछालाई सड्न नदिन फर्मालिनको घोलमा डुबाउने गरिएको पाइएको हो नगरपालिकाले हानिकारक रसायन फर्मालिन प्रयोग गरेको र मरेका माछा बिक्री भएको थाहा भएमा नगरपालिकामा तत्काल खबर गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

पाँच वर्षअघि झापाको बिर्तामोड नगरपालिकाले फर्मालिन रसायनको प्रयोग भएका माछाको बिक्री वितरणमा रोक लगाइसकेको छ । झापामा माछापालन उत्साहजनक रहेको र स्थानीय उत्पादनले नै खपत धान्ने भएकाले भारतबाट आयातित मरेका माछाको बिक्रीमा रोक लगाउनु पर्ने उपभोक्ताले माग गर्दै आएका छन् । उपभोक्ता जागरण अभियान झापाका अध्यक्ष शालिकराम भट्टराईले फर्मालिन रसायनको प्रयोग मानव स्वास्थ्यका दृष्टिले अत्यन्त घातक भएकाले माछामा मात्र नभएर जुनसुकै खाद्यपदार्थमा यसको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक रहेको बताए ।

उनले विर्तामोड र शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएको माछाको बिक्री वितरणलाई रोक लगाउन गरेको निर्णय स्वागतयोग्य रहेको जनाउँदै पूर्ण कार्यान्वयनका लागि उपभोक्ता संस्थाका प्रतिनिधि र विज्ञको टोलीको सहयोगमा नियमित अनुगमन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ९ : ५५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित