२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब सातै प्रदेशमा उडान


२५ बैशाख २०८२, बिहिबार  


सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका सातै प्रदेशमा हवाई उडान भर्ने गरी तयारी थालेको छ ।


पोखरा महानगरपालिकाको अगुवाइमा यहाँबाट आन्तरिक हवाई सेवा विस्तार सम्बन्धी छलफल गरिएको हो ।

छलफल कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे सहित पोखराका मेयर धनराज आचार्य, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।

छलफलका क्रममा तीन वटै विमान कम्पनीले थप नयाँ गन्तव्यमा उडान भर्न सहमति जनाएका छन् । यति एयरलाइन्सले पोखराबाट पूर्वतर्फको रुटमा उडान भर्न इच्छा देखाएको छ । श्री एयरलाइन्सले पश्चिमतिरको रुटमा नयाँ उडान गर्न सहमति जनाएको हो।

बुद्धले भने बिचतिरको नयाँ रुटमा उडान भर्ने गरी सल्लाह भएको छलफलका सहभागीले जनाएका छन् । ‘तीन वटै एयरलाइन्स कम्तीमा १–२ वटा नयाँ रुटमा उडान भर्न सहमत भएका छन्।।एउटा कम्पनीले सुरु गरेको गन्तव्यमा तत्काल अर्को कम्पनीको जहाज नउडाउने गरी अनौपचारिक सहमति पनि भएको बताइएको छ ।

छलफलमा बुद्ध एयरका अपरेसन डाइरेक्टर सुवर्ण खरेल, यति एयरलाइन्सका अध्यक्ष सोनाम शेर्पा, श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तल, समिट एयरका मनोज कार्की लगायतले आफूहरू सेवाका लागि तयार रहेको बताएका छन् ।

सेवाको दिगोपनाका सम्बन्धमा आवश्यक सम्भाव्यताको अध्ययन गरी नियमित बाहेक निश्चित क्षेत्रहरूमा सेवा उपलब्ध गराउन तयार रहेको उनीहरूले प्रतिबद्धता जनाए ।

उनीहरुले पहिले भन्दा ग्राहक घट्दै गएकोमा चिन्ता व्यक्त गरे । सरकारले टिकटमा भ्याट लगाएर महँगो भएको छ भने फ्लाइटमा आकर्षण पनि घट्दो क्रममा रहेको उनीहरूको रिपोर्टिङ छ । उनीहरुले विमानको सञ्चालन खर्च समेत ४३ प्रतिशतसम्म महँगिएको बताएका छन् ।

विमान कम्पनीको व्यापार बढाउनका लागि पर्यटन बोर्डले गन्तव्य खोजी गरी प्रवर्द्धनको काम गर्ने पर्यटन बोर्डका पोखरा प्रमुख मणीराज लामिछानेले बताए ।

सेप्टेम्बर २७ मा पर्ने विश्व पर्यटन दिवसबाट फ्लाइट सुरु गर्ने तयारी भइरहेको बताइएको छ । यसबाहेक पोखराको पुरानो एयरपोर्टबाट समिट एयरले पनि डोल्पा वा रारामा उडान भर्ने गरी छलफल अघि बढाएको छ ।

कार्यक्रममा पोखराका नगरप्रमुख धनराज आचार्यले पोखरा सबै हिसाबले तयार रहेकाले तत्काल मुलुकका सात वटै प्रदेशमा सञ्चालनमा रहेका विमानस्थलहरूमा हवाई सेवा सञ्चालनको व्यवस्थापन गर्न निजी वायुसेवा प्रदायकसँग आग्रह गरेका छन् ।

पर्यटनको राजधानीबाट मुलुकको कुनै पनि कुनामा हवाई यात्रा मार्फत पुग्न सकिने सुनिश्चितता गर्न आफूहरू आवश्यक सहजीकरणको लागि तयार रहेको आचार्यको भनाई छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सन्दर्भमा पछिल्लो पटक चर्चामा आएका विषयवस्तुहरू कपोलकल्पित र भ्रामक रहेको दाबी गरे । विमानस्थल पूर्ण क्षमतामा सेवा दिन सक्षम रहेको भन्दै उनले देशभरका सम्भाव्य स्थानहरूमा पोखराबाट सेवा प्रदानका लागि आवश्यक व्यवस्थापन प्राधिकरणले मिलाउने प्रतिबद्धता जनाए ।

मन्त्री पाण्डेले पर्यटनको राजधानी पोखरामा सञ्चालनमा रहेको सुविधा सम्पन्न विमानस्थलबाट सम्भाव्य आन्तरिक गन्तव्यहरूमा नियमित उडान सञ्चालन गर्न सेवा प्रदायकहरूलाई आग्रह गरे ।

मन्त्री पाण्डेले छिटै नेपाली र विदेशीलाई हवाई भाडा समान गर्न सरकार सकारात्मक रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  १० : ५५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित