किसानहरुले उत्पादन गरेको फूलको प्रवद्र्धन गर्नुपर्ने स्थानीय सरकार घोराही उपमहानगरपालिका त्यसप्रति कुनै जवाफदेही देखिन्न। घोराहीमा किसानहरुले लगाएको फूलले बजार पाउन हम्मेहम्मे भएको बेलामा पनि घोराहीका बजारहरुमा आयातित प्लाष्टिकका फूलले बजार कब्जा गरेका छन्।
प्लाष्टिक फूल बिक्री वितरणमा देशभरका स्थानीय सरकारले कडाइ गरेपनि घोराही उपमहानगर भने द्धिविधामा देखिन्छ। वर्षेनी देशभर करिब ४० लाख मालाको खपत हुन्छ। जस मध्ये दाङमा मात्रै ५० हजार भन्दा बढी फूलका खपत हुने भएपनि त्यसतर्फ स्थानीय सरकारको खासै चासो नदेखिएको हो । स्थानीय किसानले उत्पादन गरेको फूलको बजारको समय यही तिहारको बेला हो । तर, यही मौकामा चौका हान्दै बजारमा आयातित प्लाष्टिकका फूलले बजार कब्जा गरेका छन्। घोाराही उपमहानगरपािलिकाको वडा नम्बर १० मा रहेको नारायणपुर बजारमा प्लाष्टिकका मालाले बजार छपक्कै छोपिएको छ।
फूल खेतीको हिसाबले दाङ देशकै एक अब्बल जिल्ला हो। जहाँबाट किसानले उत्पादन गरेका फूलहरु बाहिर जिल्लामा समेत निर्यात हुने गर्दछ । तर, बजारमा आयातित प्लालिष्टकका फूलहरुकै कारण किसानको फूलले उचित मूल्य पाउन सकेका छैनन्। यस विषयमा हामीले पालिका प्रमुख नरुलाल चौधरीसंग जिज्ञासा राखेका थियौ,हाम्रो जिज्ञासामा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी भन्छन्, “व्यवसायीहरुले गरिखाउन्। उनीहरुले व्यापार गरेर खाएका हुन्। त्यसप्रति उपमहानगरपालिकाको साथछ। ” स्थानीय किसानले उत्पादन गरेका फूलले बजार नपाएको बेला यस्ता प्लाष्टिकका फूलको बिक्री वितरणमा नगरको दायित्व होइनर भन्ने प्रश्नमा उनले आफूहरुको त्यस्तो नीति नभएको बताए।
यही जिज्ञासा लिएर हामीले उपमहानगरपालिकाका उपमेयर हुमा डिसीलाई प्रश्न गरेका थियौ, हाम्रो जिज्ञासामा उपमेयर डिसीको प्रतिक्रिया फरक आयो। उनले भनिन्, “पोहोर सालदेखि प्लाष्टिकका माला बजारमा विक्री वितरणमा रोक लागएका हौ। गएको वर्ष सबैलाई प्लाष्टिकमा माला बेच्न पाइदैन भन्ने राम्रोसंग जानकारी छ। तर, यस पटक फेरी उही अटेरी दोहोरिएको छ।”
प्लाष्टिकको माला देशभर प्रतिबन्ध भैरहेको बेला घोराही उपमहानरका प्रमुख र उपप्रमुखको बुझाइ र गराइ भन्ने विल्कुल फरक पाइयो ।एउटै नगरका प्रमुख र उपप्रमुखको फरक- फरक जवाफ आएपछि हामीले फेरि नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेतसंग पनि यस विषयमा प्रश्न गरेका थियौ। हाम्रो प्रश्नमा उद्योग वाणिज्य संघ अध्यक्ष बस्नेत भन्छन्, “केही दिन अघि हामीले बजारको अनुगमन गरेका थियौ। अनुगमनकाक्रममा हामीले सबैलाई भनेका थियौ, अखाद्य वस्तुदेखि प्लाष्टिकका मालाहरु बिक्री वितरण नगर्नु , हामीले अनुगमनमा जानकारी गराएपछि व्यवसायीहरुले पनि समर्थन जनाएका थिए।तर, हामी चाडबाडतिर लाग्यौ, अलिक कोही नभएपछि नदेखेपछि प्लाष्टिक माला बेच्न थाले। म गढवा आएको छु, महासचिवलाई भनेर यस्लाई रोक लगाउँछु । “
फेरी हामीले यही विषयलाई नारायणपुृर इलाका प्रहरी कार्यालयका प्रमुख सागर घर्तीलाई सोधेका थियौ, इप्रका प्रमुख घर्तीले पनि नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्षकै लाइनमा आफ्नो प्रतिक्रिया दिए, उनले पनि थप्दै भने, “गएको वर्ष रोक लगाइएको हो । तैपनि व्यवसायीहरुको अटेरी उस्तै देखियो। यसलाई माथिल्लो निकायसंग समन्वय गर्छाै ।”
बजारमा हुने यस्ता अखाद्य र प्रतिबन्धित प्लाष्टिक वस्तुको नियन्त्रण र रोकथाममा जिम्मेवारहरुको बीचमा एकरुपता देखिएन। जनताको मतबाट निर्वाचित भएका मेयर चौधरीले किसानको पक्षमा भन्ददा पनि भारतबाट प्लाष्टिकका माला बेच्नेहरुप्रति सहानुभूति देखाए।दुई कार्यकाल मेयर चलाइरहेका उनी यस विषयमा मात्रै होइन, अन्य विषयमा पनि जवाफदेही त्यत्ति देखिन्नन्। जसको परिणाम घोराही उपमहानगर भौतिक तथा मानवीय विकासले पुछारमा रहेको स्थानीय जानकारहरु बताउँछन्।