पुस महिनाभित्र चार वटा बैंकले वार्षिक साधारणसभा गर्न पनि नसक्ने अवस्थामा पुगेका छन् ।
साधारणसभा गर्न नसक्ने बैंकहरू हुन्: नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक ।यी बैंकहरूले साधारण सभा पुस मसान्तसम्म सम्पन्न नहुने देखिएको हो ।
यी बैंकले हालसम्म राष्ट्र बैंकबाट एजीएम क्लियरेन्स पाएका छैनन् । पुस मसान्त नजिकएसँगै यी ४ बैंकको साधारण सभा केही समय पर धकेलिने निश्चित भएको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र कुमारी बैंकले गएकाे वर्ष पनि समयमै साधारण सभा सम्पन्न गरेका थिएनन् ।
एनआईएमबीका नायव महाप्रबन्धक (डीजीएम) राजेश शर्मा एजीएम स्वीकृतिको प्रक्रियाका लागि राष्ट्र बैंकमा पत्र पठाएको बताउँछन् । अन्तिम चरणमा रहेकाले स्वीकृति पाउने बित्तिकै छिट्टै वार्षिक साधारण सभा आह्वान गर्ने उनको भनाइ छ ।
उनी भन्छन्, ‘गएकाे वर्षको साधारण सभामा चुनाव रोक्न अदालतमा मुद्दा पर्यो, अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले चुनाव हुन सकेन, त्यसैले यसपटक राष्ट्र बैंक र अदालती प्रक्रियाका कारण केही ढिला हुन पुगेको हो। ‘
उनका अनुसार अदालतले चुनाव गर्ने बाटो खुला गरेकाले राष्ट्र बैंकको स्वीकृति आउने बित्तिकै साधारण सभा बोलाइने भएको छ ।
कुमारी बैंकका कम्पनी सचिव तथा चिफ फाइनान्स अफिसर अश्वीनबाबु श्रेष्ठ स्वीकृतिको प्रक्रियामा रहेकाले राष्ट्र बैंकबाट स्वीकृति आउनेबित्तिकै साधारण सभा आह्वान गर्ने बताउँछन् ।श्रेष्ठ भन्छन् ‘हामीले समयमै आफ्नो काम गरेर अगाडि बढाएका छौं । राष्ट्र बैंकमा रिभ्यूको काम भइरहेको छ । अहिलेको परिस्थितिमा थोरै समय लागेको हो । ‘गएकाे वर्ष भने मर्जरका कारणले ढिला हुन पुगेको उनको भनाइ छ ।
यस्तै, नेपाल बैंकको पनि लेखापरीक्षणको कार्य जारी रहेकाले ढिला हुन पुगेको जनाएको छ । अडिटको काम अन्तिम चरणमा रहेकाले केही दिनमा स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने तयारी रहेको बैंकको भनाइ छ । लाभांश क्षमता कम रहेकाले पनि हतार नगरी बिस्तारै साधारण सभा गर्ने योजनामा यी बैंकहरू रहेका छन् ।
समयमा साधारण सभा गर्न नसक्ने बैंकमाथि विभिन्न आशंकाले हेर्ने गरिएको एक बैंकर बताउँछन् । ‘संस्थागत निक्षेप लिन जाँदा सम्बन्धित संस्थाले क्यापिटल एडुकेसी, एनपीएको सीमा यति हुनुपर्ने भनेको हुन्छ । साथै ६ महिनाभित्र एजीएम सम्पन्न गरेको हुनुपर्ने शर्त राखेको हुन्छ । यदि ६ महिनाभित्र एजीएम गरेको छ भने निक्षेप दिन नमान्न सक्छन् ।’
हालसम्म १६ वटा वाणिज्य बैंकले वार्षिक साधारण सभा आह्वान गरिसकेका छन् । जसमध्ये एभरेष्ट बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकको वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ ।
यस्तै, नेपाल एसबिआई बैंकले पुस २१ गते, लक्ष्मी सनराइज बैंकले पुस २४ गते, एनएमबि बैंकले पुस २५ गते, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले पुस २८ गते वार्षिक साधारण सभा बोलाएका छन् । यस्तै, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएकाे छ।