१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मधेस प्रदेशमा धान उत्पादनमा वृद्धि


२३ मंसिर २०८१, आइतबार  



मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ ।

गएकाे आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय ७ मेट्रिकटन धान उत्पादन भएको थियो ।

गएकाे आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा दुई लाख पाँच हजार दुई सय ५१ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि प्रसार अधिकृत रोशनकुमार मेहता बताउँछन् । रोपाइँ र त्यसपछिको समयमा पानी परेको तथा मल र बीउ समयमा नै उपलब्ध भएकाले उत्पादन बढेको उनको भनाइ छ । गएकाे वर्षको तुलनामा यस वर्षमा पाँच हजार दुई सय हेक्टर बढी जमिनमा धानखेती गरिएको थियो ।

गएकाे वर्ष प्रतिहेक्टर तीन दशमलव ५० मेट्रिकटन धान उत्पादभएको थियो भने चालु आर्थिक वर्षमा प्रतिहेक्टर चार मेट्रिकटन उत्पादन भएको छ । सबैभन्दा बढी सप्तरीमा तथा सबैभन्दा कम रौतहटमा धान उत्पादन भएको छ । सप्तरीमा दुई लाख ६१ हजार एक सय २० मेट्रिकटन, रौतहटमा एक लाख ५० हजार चार सय ८० मेट्रिकटन, पर्सामा एक लाख ८४ हजार सात सय ४९ मेट्रिकटन, सर्लाहीमा एक लाख ८२ हजार एक सय ६० मेट्रिकटन र धनुषामा एक लाख ६६ हजार दुई सय ६० मेट्रिकटन धान उत्पादन भएको छ ।

यसैगरी, महोत्तरीमा एक लाख ६७ हजार सात सय ७० मेट्रिकटन, सिरहामा दुई लाख नौ हजार पाँच सय २० मेट्रिकटन र बारामा एक लाख ८० हजार तीन सय मेट्रिकटन धान उत्पादन भएको अधिकृत मेहताले जानकारी दिए । यसैबिच, जनकपुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ५८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित