३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

विश्व हिन्दु महासंघले भन्यो-‘राजा र धर्म फरक विषय हुन्,चर्चामा रहेका पात्रसंग राजश्री गुण छैन’


१५ जेष्ठ २०८२, बुधबार  


विश्व हिन्दु महासंघले धर्म र राजा फरक विषय भएको भन्दै हिन्दु धर्मसँग राजा जोड्न आवश्यक नरहेको बताएको छ । महासंघले वर्तमानमा राजाका लागि चर्चामा रहेका पात्रमा राजामा हुने गुणसमेत नरहेको ठहर गरेको छ ।

हिन्दु राष्ट्र भएपछि उपयुक्त पात्र राजा बन्ने बाटो भने खुला रहेको महासंघले बताएको छ । धर्म जनताको आस्था र श्रद्धासँग जोडिएको विषय भन्दै विज्ञप्तिमा राजा राजनीतिक विषय भएको उल्लेख छ । हिन्दु राष्ट्रमा राजा निषेधित नभए पनि त्यसको अस्तित्व जनचाहना तथा गरिमा र गुणयुक्त व्यक्तित्वमा निर्भर हुने उल्लेख छ ।

“राजकीय गुण र गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जो–कोही व्यक्ति राजा बन्न सक्छ,” विज्ञप्तिमा भनिएको छ, “चर्चामा रहेका पात्रहरूमा राजामा हुनुपर्ने गुण–गरिमा पाइँदैन । अहिलेको परिस्थिति बुझ्दा मुलुक फेरि द्वन्द्वमा फस्ने हो कि भन्ने खतराप्रति हामी चिन्तित छौँ ।”

महासंघका अध्यक्ष रामचन्द्र अधिकारीले वर्तमानमा अघि सारिएका व्यक्तिको एउटा सानो झुन्ड चलाउने नेता बराबरको मात्र व्यक्तित्व भएको बताए । राजा सबैको साझा हुनुपर्नेमा झुन्ड चलाउने व्यक्ति अघि सारिएको उनको निष्कर्ष छ ।

“राजा फर्काउने भनेर अघि सारिएका व्यक्तिमा राजामा हुने गुण नै छैन । सानो-सानो झुन्ड बटुलेर ‘लन्च मिटिङ’ गरेर त त्यही झुन्डको नेता मात्र हुन सकिन्छ,” महासंघका अध्यक्ष रामचन्द्र अधिकारीले बाह्रखरीसँग भने, “राजा त सबैको साझा हुनुपर्छ । देशभरका जनताको प्रतिनिधित्व गर्नुपर्ने राजा एउटा पाँच प्रतिशत जनतालाई प्रतिनिधित्व गर्ने पार्टीको पनि साझा बन्न कठिन भइरहेको देखिन्छ ।”

उनले अहिलेको मुद्दा हिन्दु राष्ट्रको मात्र भएको भन्दै स्वार्थ समूहले मुद्दा कमजोर पारिरहेको बताए । उनले चालु आन्दोलनमा आफ्नो संस्थागत सहभागिता नरहेको भन्दै मौका मिल्दा जनताको अधिकार खोस्नेलाई राजा मान्न नसकिने बताए ।

“मौका पर्दा संवैधानिक सीमा नाघेर जनताका हक अधिकार चोरी निरंकुश तानाशाह बन्ने नेपाली शाही राजतन्त्रको विगत प्रवृत्तिसँग हामी परिचित छौँ,” विज्ञप्तिमा भनिएको छ, “राजा धर्म फरक विषय हुन् । हामी राजालाई धर्मसँग जोड्दैनौँ । राजा राजनीतिक विषय हो, समयक्रममा त्यो स्थापित विस्थापित हुन सक्छ ।”

महासंघले सम्बन्धित सबैलाई संयमित हुन भन्दै ‘घोर दक्षिणपन्थी र उग्रवामपन्थी’ धारबाट देशलाई जोगाउन आह्वान गरेको छ । “वैदिक सनातन हिन्दु राष्ट्र हाम्रो लक्ष्य हो,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  १ : ५८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित