११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

खानेपानी उपभोक्ता समितिको अधिकार नखोस्न अध्यक्ष ओलीको आग्रह


१६ माघ २०८२, बिहिबार  



राष्ट्रिय साना सहरी खानेपानी महासंघका केन्द्रीय अध्यक्ष खेमराज ओलीले खानेपानी क्षेत्रमा सरकारले लगाएको कर, विद्युत महसुल तथा उच्च ब्याजदरले जनताको मौलिक अधिकार हनन गरेको बताएका छन् ।

उनले उपभोक्ता समितिहरू खारेजी तथा विघटन गरी स्थानीय सरकारलाई दिइएको अधिकारप्रति कडा विरोध गर्दै अधिकार हनन गरेको बताएका हुन् ।

त्यसैगरी राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश बिष्टले गाउँपालिकाले गरिब तथा विपन्न जनतालाई धारा जडान गर्दा ५० प्रतिशत छुट प्रदान गर्ने नीति लिएको बताएका छन् । उनले खानेपानी क्षेत्रको जिम्मेवारी उपभोक्ता समितिले लिएकोमा प्रशंसा गर्दै सरसफाइ क्षेत्रमा समेत समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

भक्तपुरको नगरकोटमा भएको दुई दिने क्षमता अभिवृद्धि कार्यक्रममा सरोकारवालाहरूले पानीको अधिकार र उपभोगको विषयमा धारणा राखेका थिए।

राष्ट्रीय खानेपानी, सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र र राष्ट्रिय सानासहरी खानेपानी उपभोक्ता महासंघको संयुक्त आयोजनामा दुई दिने क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरिएको थियोे ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय खानेपानी नवप्रवर्तन केन्द्रका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथिका रूपमा राष्ट्रिय सानासहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली तथा विशेष अतिथिका रूपमा महसुल निर्धारण आयोगका अध्यक्षको उपस्थिति रहेको थियो।

कार्यक्रममा खानेपानी उपभोक्ता संस्थाहरूको नेतृत्व विकास, आर्थिक पारदर्शिता, नवीन प्रविधि प्रयोग, तथा पानी शुद्धीकरण सम्बन्धी आधुनिक अभ्यासहरू जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही विज्ञ टोलीमार्फत सहजीकरण गरिएको थियो। कार्यक्रममा चोका प्रसाद ढिटाल, सीवा अमात्य, तथा डा। रणजीत वाझा लगायतका विषय विशेषज्ञहरूले सहजीकरण गरेका थिए ।
देशभरका विभिन्न मध्य क्षेत्रका १६ वटा खानेपानी उपभोक्ता संस्थाबाट अध्यक्ष तथा कार्यालय प्रमुखहरूको सहभागिता रहेको यस कार्यक्रमले संस्थागत क्षमता सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा सेवा प्रवाह प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रमले उपभोक्ता संस्थाहरूलाई दिगो व्यवस्थापन, पारदर्शिता र आधुनिक प्रविधि अपनाउँदै गुणस्तरीय खानेपानी सेवा प्रदान गर्न थप सक्षम बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १६ माघ २०८२, बिहिबार  १० : ३६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित