८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

२०८२को वर्षान्तलाई फर्केर हेर्दा ! महाभ्रष्टहरु विरुद्धको ऐतिहासिक दुर्लभ युवा विद्रोह !


३० चैत्र २०८२, सोमबार  


एक जुगमा एक दिन, एकचोटी आउँछ । उलटपुलट, उथलपुथल हेरफेर ल्याउँछ…’
गीतकार गोपालप्रसाद रिमाल र गायकहरू रामकृष्ण दुवाल, अभिज्ञा घिमिरे र बेनुप क्षेत्रीको कालजयी यस गीतले भनेझैँ वर्ष २०८२को वर्षान्त नेपाली राजनीतिका लागि निकै उलटपुलट र उथलपुथलकारी वर्षको इतिहास लेखाएर बिदा हुँदै छ ।

गएको भदौ २३ र २४ को युवा पुस्ताको नेतृत्वमा भएको विद्रोहले २४ घण्टाभित्र सत्तापलट गर्दै सात दशकभन्दा लामो इतिहास बोकेका राजनीतिक दल र तिनका नेतालाई विस्थापित मात्र गरेन, गएको फागुनको चुनावमार्फत पुनः बौरिनै नसक्ने गरी किनारीकृत गरिदिएको छ । तत्कालीन प्रधानमन्त्री केपी ओली करिब १४ महिना नेतृत्व गरेर २४ भदौमा विस्थापित भए । कांग्रेस सभापति शेरबहादुर देउवालाई २० महिनापछि आलोपालो सरकारको नेतृत्व दिनेसहितको सातबुँदे सहमति गरेर सरकारमा आएका ओली भदौ २३ को जेन–जी आन्दोलनमा १९ जना युवाको गोली लागेर ज्यान गएपछि आक्रोशको केन्द्रमा परे ।

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधबाट सुरु भएको असन्तुष्टिलाई नजरअन्दाज गर्दै आन्दोलनलाई दबाउने योजनामा रहेका ओलीले न सत्ता–सहयात्री कांग्रेससहितका दलको विश्वास जितेर मुद्दा सम्बोधन गर्न सके, न देशलाई गम्भीर मानवीय र आर्थिक क्षतिबाटै जोगाउन सके । युवाको हत्यापछि राजीनामामा ढिलाइ गरेकै कारण भदौ २४ मा ओली बालुवाटारबाट नेपाली सेनाको सहयोगमा उसैको हेलिकोप्टर चढेर सुरक्षित स्थानमा लुक्न बाध्य भए ।
ओलीको अहंकार, हठ र उनलाई सहयोग गर्ने देउवादम्पतीले मुस्किलले ज्यान जोगाए । प्रमुख प्रतिपक्षी दल नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड, शीर्ष नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरूको निवास जल्यो । सिंहदरबार, संसद् भवन, राष्ट्रपति भवन, मन्त्रीनिवास र नेताका निवास जलाइए । भदौ २४मा आन्दोलनकारी मात्र होइन, प्रहरी र सर्वसाधारणले समेत ज्यान गुमाए । राजनीतिक पार्टीका कार्यालयहरू समेत जले  र जलाइए । देशले अर्बाैको क्षति बेहो¥यो । एक जना सनक शासककै कारण देशले मानवीय भौतिक क्षति अकल्पनीयरुपमा बेहोर्न प¥यो ।

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक निकासका विकल्पमा काम गरे ।उनकै विशेष पहलमा संसद् विघटन र अन्तरिम सरकारसहित मध्यावधि निर्वाचनमार्फत ताजा जनादेशमा जाने सहमति भयो । भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार बन्यो र सरकारले त्यसैदिन अर्थात भदौ २७ मै फागुन २१ को मितिमा निर्वाचनको घोषणा ग¥यो । अनेक आशंका र जटिलटाका बीचमा त्यही सरकारले ६ महिनामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरायो । यस चुनावबाट पुराना दलहरू विस्थापित मात्र भएनन्, अहिलेसम्मकै ठूलो क्षति उनीहरुले बेहोर्न प¥यो ।
विगत र विरासत बोकेका दलहरुको चुनाव संगठनका बलमा जितिन्छ भन्ने दलीय विश्वास पनि टुट्यो । दलीय संगठनकै बलमा सत्तामा पटक पटक पुग्न सकिन्छ भन्ने एकांगी माइन्डसेट पनि नकाम ठहरियो । कांग्रेस, एमाले, नेकपा जस्ता दललाई कर्नरमै थन्किए । कम्तीमा अर्को चुनावसम्म पनि उनीहरू प्रतिपक्षी दलमा बस्नुपर्ने बाध्यकारी स्थिति बन्यो । जेन–जी आन्दोलनपछि सम्पन्न चुनावमा रास्वपाले २७५ मध्ये १८२ सिट जितेर सिंहदरबारको शासन सम्हाल्न अवसर पायो । विश्वका कैयन मुलुकमा वैकल्पिक राजनीतिक धारको उदय भइरहेकै वेला नेपाली जेन–जीले एउटा अद्वितीय इतिहास रचे । दुर्लभ राजनीतिक परिवर्तन ल्याए । देशले पहिलोपटक मधेशी समुदायको प्रधानमन्त्री पायोि । यो आफैमा समावेशी र युगान्तकारी परिवर्तनको बिम्ब पनि हो ।

२०७४ को निर्वाचनमा जनताले तत्कालीन नेकपालाई करिब दुई तिहाइ मत दिए । तर, कम्युनिष्टहरु यदुवंशी शैलीमा एकले अर्काेलाई सिध्याउन थाले । त्यहीँदेखि राजनीतिको मियो नराम्ररी खल्बलिन थाल्यो। त्यसपछिको २०७९ को निर्वाचनपछि यो अझै व्यापक भयो। ओली र प्रचण्ड कहिले देउवा बोक्ने त कहिले फाल्ने खेलमै लागे । ठूलो दल कांग्रेस कम्युनिष्टहरुले देखाएको लोभमा डुब्यो । जनताको सेवा गर्ने दलका नेता बिचौलियासँगको नियमित उठबसमा अल्झिन थाले । उनीहरूकै यही असफलता र अकर्मण्यताले जनतामा तीव्र असन्तुष्टि चुलिँदै गयो । युवाहरू सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट आक्रोशित बने । तर, असन्तुष्टिहरूलाई नजरअन्दाज गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीका ती कानै दुख्ने निम्छरो अभिव्यक्ति, सरकारको कार्यशैलीले जनताको असन्तुष्टिमा घ्यू थप्दै गयो । ओलीहरुको आइएम द स्टेट भन्ने अहंकारले अन्ततः जेन–जी विद्रोह भयो । तीन वर्षमै देश मध्यावधि निर्वाचनमा पुग्यो ।

कांग्रेसको विवाद चुलिदा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व त आयो । तर, देउवालाई विस्थापित गरेर कांग्रेस सभापति बनेका दोस्रो पुस्ताका गगन थापाले पूर्वप्रधानमन्त्रीहरूले जस्तै नमिठो पराजय व्यहोरे । पूर्वप्रधानमन्त्री देउवाले उम्मेदवारसमेत बन्ने अवसर पाएनन् । प्रचण्डले गढ पूर्वी रुकुमबाट उठेर चुनाव जितेर व्यक्तिगत साख त जोगाए । तरपनि उनको पार्टी अघिल्लो चुनावभन्दा जनमतका हिसाबले आधा मतमा खुम्चियो ।
यस चुनावबाट मधेशकेन्द्रित दल विस्थापित भए ।मधेशको ३२ सीटमा रास्वपाले प्रत्यक्षमा ३१सीटमा विजयी हासिल ग¥यो, भने प्राविधिक त्रुटिका कारण नेकपाले एक सीट जित्यो । २०६४ को चुनावमा चौथो शक्तिका रूपमा उदाएका मधेश केन्द्रीत दल आफ्नै क्षेत्रमा नराम्ररी सोत्तर भए । ००००

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ९ : २६ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित