नेपालका कम्युनिष्टहरुको कहानी बडो अचम्मको छ, उनीहरुको शैली अनाडी झै देखिन्छ । दुनियाँ जित्नका लागि एकतामा जोडिन्छन्। नेपालका कम्युनिष्टहरु जितिसकेपछि फोडिन्छन्, टुक्रिन्छन् । सामान्य कुरामा अन्तरविरोधमै एकले अर्काेको धुइपत्ताल खोइरो खन्दै दक्षिणपन्थी, उग्रपन्थी, संशोधनवादी र अवसरवादी आदि आदि ट्याग लगाउन भ्याइहाल्छन् ।
जति विमित राख्नेलाई ताछ्न सकियो उत्ति क्रान्तिकारी भइने उनीहरुमा ज्यादा भ्रम छ । नेपाली समाजमा बहुल कम्युनष्टि भएपनि यीनीहरुको कार्यशैली र असहिष्णु प्रवृत्तिकै कारण जितेर पनि उनीहरु बार बार हारिरहन्छन् । जितले मात्तिएर टाउको फोडाफोड गर्ने नेपालका कम्युनिष्टहरुको मुल धारा हुन्, एमाले र चुनाव अघि बनेको नेपाली कम्युनिष्ट पार्टी ।
२०७४ को पहिलो संघीय निर्वाचनमा जनताले दिएको करिब दुई तिहाइ मतले उम्लिएर टुक्रा टुक्रा भएका यीनीहरु गएको फागुन २१ मा सोत्तर भए । युवाहरुको नेतृत्वमा नयाँ सरकार बन्यो । भ्रष्टाचार र नरसंहारले धेरै झ्यालखानामा पुराउने संकेत देखिएपछि फेरि एकतामै फर्कन थालेका छन् । जब यीनीहरु रक्षामत्मक बन्छन् । तब अस्तित्वका लागि फेरि एकताको बाटो समाउँछन् । जब एकतापछि बलियो पार्टी बन्छ । तबफेरि उही पुरानै नियतीमै टुटफुट हुन्छन् ।
जुट्नुमा भन्दा फुट्नुमा उनीहरुले आफूलाई ज्यादा क्रान्तिकारी देख्छन् । पछिल्लो समय नेकपा र एमाले निर्वाचनमा अकल्पनीय पराजय भोगेपछि फेरि एकताको लागि हात अघि बढाएका छन् । विशेष गरी सरकारले भ्रष्टाचार र नरसंहारका फाइल खोल्न थालेपछि इन्तु न चिन्तु भएका ओली प्रचण्ड एकताबाटै ओत खोजिरहेका छन् । घरले जा जा र वनले आइजा आइजा भन्ने उमेरमा झ्यालखानामै बास हुने देखिएपछि उनीहरुबीच फेरि चाटाचाट शुरु भएको छ । नरसंहारको आरोपमा पक्राउ परेपछि अस्पतालमै रहेका ओलीलाई प्रचण्डले भेट मात्रै गरेनन्। एकता नभए कोही पनि सुरक्षित नहुने भन्दै पुरानो माया प्रेमलाई व्युँउताउन लागेका हुन् ।
लामो सयमदेखि ओलीलाई बोक्दै आएका महासचिव शंकर पोखरेल र विष्णु पौडेलले ओलीलाई अध्यक्षबाट हटाउने सूर कसेपछि ओलीले पूर्व माओवादी रामबहादुर थापालाई बेस्सरी च्यापेका छन् । ओली विरुद्ध मोर्चाबन्दी कसेका शंकर विष्णुलाई कारबाही गर्ने तहमा पुगेका ओलीले प्रचण्डसंग हिमचिम बढाएका हुन् । एमालेमा महेश बस्नेतलाई महासचिव बनाएर शंकर विष्णुलाई कारबाहीको तरबार सोझ्याएका छन् ।
उता प्रचण्डले पनि दुई दर्जन कम्युनिष्टहरुलाई बटुलेर पार्टी त बनाए । तर, चुनावमा जनताले पत्याएनन् । संसदमा विगतको भन्दा पनि आधा हैसियत लिएर प्रचण्ड संसदमा छन् । रास्वपाको देशभर चलेको हुरीबाट सुरक्षित रहन रुकुम पूर्व चुनावमा हानिएका उनले जित त निकाले । तर, उनी संसद एक्ले बाँदर जस्तै भएका छन् । संसदमा सबै नयाँ पुस्ताहरुको अघि उनी कागको बथानमा बकुल्लो झै देखिन्छन् ।
गएका संसदमा चाटाचाट गरेपनि काटाकाट गरेपनि ओली देउवा थिए दोस्ती ।प्रचण्डका दोस्तीहरुको पनि कन्तविजोग भएपछि प्रचण्ड पनि एक्ला भएका हुन् । संसदमा कहिले ओलीसंग झगडा गर्ने त कहिले औधि माया गर्ने प्रचण्ड फेरि ओलीलाई बोकेर कम्युनिष्ट पार्टी व्यूउँताउने झोकमा छन् । बालेन सरकारले अकुत धनको हिसाबकिताब खोज्न थालेपछि अत्तालिएका प्रचण्डको ओलीसंगको एकता सफल हुन्छ या हुन्न । त्यो भोलिका दिनमा थाहा होला नै । तर, हिजो स्वर्ग र नर्क संगै जाउँला भनेर थाङनामा सुताएका ओलीसंग फेरि एकता सम्भव होला जस्तो भने देखिन्न । ००००








