१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

असार १५ को दही–च्यूउराले डुबाएको ओली देउवाको राजनीति !


१५ असार २०८३, सोमबार  


असार १५ त्यस्तो दिन हो । जुन दिन नेपाली किसानहरुको लागि विेशेष रहन्छ । दही चिउरा खाने यस दिन किसानका लागि महत्वपूर्ण हो । यसको प्राकृतिक, सांस्कृतिक र आर्थिक आयामहरु छन् । यसै दिन किसान या गैर किसानले पनि दही च्यूउरा खाने र असार पन्ध्र मनाउने प्रचलन छ । तर, नेपाली राजनीतिमा असार पन्ध्रको शुभसाइत फापेन । ओली देउवाले असार पन्धको दही च्यूउरा खाँदै गरेको सहमति त्यस्तो बन्यो । जसले ओली र देउवालाई राजनीतिको मुलधारबाट सडकमै हुत्याइदियो ।


२०८१ को असार १५ मा ओली देउवा दम्पत्तिका लागि दही च्यूउरा खाएर खुशीयाली बनाएको सन्दर्भ कालान्तरमा निकै महंगो बन्यो । ओली र देउवालाई छक्याएर र भिडाएर सत्तामा माउते झै गरिरहेका प्रचण्डलाई धोका दिन २०८१ असार १५ गते देउवा र ओलीले दहीच्यूउरा खाएसंगै राजनीतिक निर्मम निर्णय गरेका थिए । जसले प्रचण्डको बैशाखी सरकार २०८१ असारको मसान्तमै हुत्तियो । २०८० साल फागुन २१ गते ओलीको चतु¥याईमा तत्कालीन माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धन भत्किएको थियो । प्रचण्डले तत्कालीन एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरी सरकार बनाएका थिए ।


तर,समकालीन राजनीतिका चतुर खेलाडी ओली जसरी पनि गठबन्धन भत्काएर आफ्नै नेतृत्वमा सरकार बनाउने दाउमा हेदै थिए । त्यतिबेला प्रचण्ड सरकारका गृहमन्त्री थिए, रास्वपाका सभापति रवि लामिछाने । रवि लामिछानेले प्रचण्डकै सहमतिमा देउवा पत्नी डा.आरजु राणा लगायत प्रभावशाली नेताहरू पक्राउ गरी अनुसन्धान गर्ने योजनामा थिए । पक्राउ गर्न लागेको सूचना चुहिएपछि २०८१ साल असार १५ गते दही चिउरा खाने बहानामा आरजु र देउवा ओली निवास बालकोट पुगेका थिए । ओली निवासमै बसेर देउवा र ओलीले प्रचण्ड सरकार ढालेर कांग्रेस–एमालेको गठबन्धन सरकार बनाउने सैद्धान्तिक सहमति गरेका थिए । तर,सत्ता समीकरण फेरबदल गर्ने योजना ओली, देउवा र राणाबिच मात्र सीमित राखिएको थियो । पूर्वयोजना अनुसार ओली र देउवा दम्पती असार १७ गते क्याप्टेन रामेश्वरा थापाको घरमा बसेर ७ बुँदे सहमति गरेका थिए । सहमति अनुसार दुई वर्ष ओलीले, बाँकी डेढ वर्ष देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने भनिएको थियो । मध्यरातमा भएको सहमति दुवै पक्षले पार्टीका शीर्ष नेताहरूलाई पनि जानकारी दिएका थिएनन् ।


त्यतिबेला समीकरण फेरबदल हुन लागेको चर्चाबिच प्रचण्डले ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर स्पष्टता खोजेका थिए । तर,ओलीले सहमति भएको भोलिपल्टसम्म पनि देउवासँग सत्ता समीकरणको विषयमा कुनै सहमति नभएको ढाँटेका थिए । ओलीले आफूलाई ढाँटेको भन्दै प्रचण्डले संसदमा विलौना गरेका थिए ।


अन्ततः देउवा–ओलीबिच भएको त्यही सात बुँदे सहमतिको आधारमा असार ३० गते प्रचण्ड सरकार विस्थापित भयो । कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बने । देउवा–ओलीबिच भएको त्यही सहमति नेपालको राजनीतिले नयाँ मोड लियो । अघिल्लो संसदका पहिलो र दोस्रो ठुला दलको नेतृत्वमा बनेको शक्तिशाली सरकारको गतिविधिबाट आम नागरिक सन्तुष्ट हुन सकेनन् । ओली सरकारले विपक्षी दलहरूसँग प्रतिशोध साध्ने । तर सत्ता पक्षका नेताहरू जतिसुकै बदमासी गरे पनि कारबाही नहुने प्रवृत्ति हाबी हुँदै गयो । विपक्षी दल रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा पक्राउ गरियो । त्यतिमात्र नभई सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोजन गरी काठमाडौँ, कास्की, चितवन, रुपन्देही र पर्सा जिल्ला अदालतमा सरकारले मुद्दा हाल्यो ।


तत्कालीन ओली सरकारको यति धेरै ज्यादती थियो की, मानौ मुलुकमा हिटलरी शासन चलिरहेको छ । ओली देउवा गठबन्धन सरकारको यही ज्यादतीकै कारण आम नागरिकमा असन्तुष्टि चुलिदै गयो । त्यसको पहिलो झट्का २०८१ साल चैत १५ गते तीनकुनेमा राप्रपाले सरकार विरुद्ध कार्यक्रम ग¥यो । सरकारी हस्तक्षेपमा दुई जनाको मृत्यु हुनुका साथै आक्रोशित भिडले आगजनीको प्रयास गरेको थियो । तर, सुरक्षाकर्मीको सक्रियताले त्यतिबेला धेरे क्षति हुन पाएन । तीनकुने प्रकरण नै जनअसन्तुष्टिको पहिलो सङ्केत थियो भन्ने हेक्का राखेन । बरु, राजावादी आन्दोलन दमन गरेको खुसीयालीमा विपक्षी दलहरूमाथि सरकार झन् निर्मम बन्यो ।


सरकार विरुद्ध बिस्तारै आक्रोश बढ्दै जाँदा सरकारले २०८२ साल भदौमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायो । बेथिति र भ्रष्टाचार विरुद्ध जेनजी युवाहरूले भदौ २३ गते नयाँ बानेश्वरमा शान्तिपूर्ण रूपमा गरेका आन्दोलनमाथि सरकारले चरम दमन गर्दा २३ जना युवाको हत्या भयो । आक्रोशित भिडले भोलिपल्ट देशको प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, मन्त्री निवास लगायत देशभरका सरकार सम्पत्ति, राजनीतिक दलहरूको कार्यालय, निजी निवास, व्यापारी प्रतिष्ठानमा आगजनी गरे ।

प्रधानमन्त्री ओली प्रधानमन्त्री निवासबाटै हेलिकप्टेर चढेर भागे । मन्त्रीहरू, सांसद, पूर्वराष्ट्रपतिहरू, पूर्वप्रधानमन्त्रीहरू, राजनीति दलका शीर्ष नेताहरू सेनाको सहयोगमा सुरक्षित स्थानमा लुके । तर, देउवा दम्पती बुढानीलकण्ठ निवासमै निर्घात कुटिए । ओली सरकार विघटन भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । त्यही सरकारले संसद् विघटन गरी फागुन २१ गते निर्वाचन घोषणा ग¥यो ।

निर्वाचनमा रास्वपा झन्डै दुई तिहाइ मत ल्याएर सरकार गठन गर्दा कांग्रेस, एमाले, नेकपा, मधेसी दलहरू बढारिए । जेनजी विद्रोहपछि गगन थापाले विशेष महाधिवेशन बोलाएर पार्टी कब्जा गरे । गगन थापाको नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि मान्यता दियो । जीवनको उत्तराद्र्धमा पार्टी र राज्यसत्ता गुमाएका देउवा दम्पती सिंगापुर हुँदै अहिले हङकङमा लुक्दै हिडेका छन् । यता, केपी ओली आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा बालेन शाहसँग पराजित भए ।

रास्वपाको सरकार बनेको भोलिपल्टै ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ समेत परे । देउवा दम्पतीविरुद्ध पनि सम्पत्ति शुद्धीकरण विभागले छानबिन अगाडि बढाइराखेको छ । पक्राउ पर्ने डरले उनीहरु कहिले हङकङ त कहिले सिंगापुर गरिरहेका छन् । २०८२ असोज २८ गते कांग्रेसको केन्द्रीय समिति बैठक सम्बोधन गरेर निस्किएका देउवा त्यस यता सार्वजनिकरुपमा देखिएका छैनन् । ००००

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ४ : ५५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित