१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

असार पन्ध्र र धान दिवसः माटोको गीत, पसिनाको सङ्गीत!


१५ असार २०८३, सोमबार  


‘असारको पन्ध्र, दही चिउरा खान्छन्, जति दुःख परे पनि मुसुमुसु हास्छन ।’


जब मेघमल्लार राग गुञ्जाउँदै आकासे बादलले तिर्खाएको धर्तीलाई अङ्गाल्छ,तब नेपाली मन–मस्तिष्कमा एउटा स्वर्णिम बिम्ब सल्बलाउँछ— त्यो हो असार पन्ध्र । यो माटो र मानवको आदिम अविच्छिन्न सम्बन्धको महाउत्सव हो, पसिनाको चाड हो र नेपाली जीवनपद्धतिको जीवन्त राग हो । नेपाल सरकारले यस दिनलाई राष्ट्रिय धान दिवसका रूपमा संस्थागत गरेपछि यसको गरिमा झन् चुलिएको छ । मानो रोपेर मुरी उब्जाउने यो उल्लासमय समय प्रकृति र मानवको सामूहिक सौदावाजी हो, जहाँ सृष्टिको नयाँ अध्याय कोरिने गर्छ ।


नेपाली संस्कृतिमा असार पन्ध्र र कृषि कर्मको सम्बन्ध अत्यन्तै प्राचीन आध्यात्मिक र दार्शनिक छ । हाम्रा सनातन वाङ्मयले भूमिलाई ‘माता’ र अन्नलाई ‘ब्रह्म’ मानेका छन् । वैदिक कालदेखि नै भूमिलाई उर्वर बनाउन र अन्नपूर्णको आशिष पाउन गरिने प्रार्थनाहरू आज पनि हाम्रा असारे भाकाहरूमा जीवितै गुञ्जिरहेका छन् ।

असार महिनालाई प्रकृतिको नव–सृजना काल मानिन्छ, जहाँ धर्ती माता नयाँ जीवन अङ्कुरण गर्न तत्पर हुन्छिन् । यसै पवित्र अवसरमा दही–चिउरा खाने विशिष्ट परम्परा छ, जसको पृष्ठभूमि वैज्ञानिक र सांस्कृतिक दुवै दृष्टिले अनुपम छ । असारको प्रचण्ड गर्मी र हिलोमा काम गर्दा शरीरलाई ऊर्जा, स्फूर्ति र शीतलता प्रदान गर्न दही र चिउराको समिश्रण एउटा अचुक ओषधि र अमृततुल्य आहार सिद्ध हुन्छ, जसले हाम्रो रैथाने पोषण विज्ञानको गौरवलाई समेत झल्काउँछ ।


किसान यो धर्तीका वास्तविक अन्नदाता हुन्, जसका हत्केलाका ठेलाहरूले देशको अर्थतन्त्रको इतिहास लेख्छन् र जसका खुट्टाका कुर्कुच्चाका बुट्टाहरूले माटोलाई प्राण दिन्छन् । जब असारे बादल गर्जन्छ, किसानको मनमा आशाको नयाँ मुरली बज्छ । हिलो उनीहरूका लागि फोहोर होइन सुन फलाउने दिव्य चन्दन बन्छ ।

हिलो र पसिनाको त्यो अद्वितीय सुगन्धभित्र आउने दिनहरूको देशकै समृद्धि लुकेको हुन्छ । छुपुछुपु धान रोप्दै गर्दा रोपाहार र बाउसेहरूको असारे गीतको सुरिलो भाकामा विरक्तिका आँसु र भोलिको सुन्दर सपनाको त्रिवेणी बग्छ । हलोको छाँया, गोरुको सुस्केरा र हिलाम्मे अनुहारभित्र लुकेको त्यो एउटा निष्कपट, उज्यालो मुस्कान नै यो धर्तीको सबैभन्दा सुन्दर कलाकृति हो ।
धान नेपालको अर्थतन्त्रको मेरुदण्ड मात्र नभई हाम्रो राष्ट्रिय स्वाभिमान र संस्कृतिसँग गाँसिएको जनविश्वास पनि हो । यो दिवस एउटा यस्तो अटल विश्वासको जगमा उभिएको छ, जहाँ आजको दिन माटो छोएमा, हिलोमा पसेमा वर्षभरि रोगव्याधि लाग्दैन र अन्नको कहिल्यै सह टुट्दैन भन्ने विश्वास छ ।

बालकदेखि वृद्धसम्म, सहरका आधुनिक पुस्तादेखि गाउँका पाका अनुभवीसम्म सबै यस दिन खेतको हिलोमा ओर्लनुले यसको अभूतपूर्व लोकप्रियतालाई दर्साउँछ । यो प्रकृतिसँग एकाकार हुने, कङ्क्रिटको कृत्रिम सहरबाट उम्केर धर्तीको वास्तविक सुगन्ध सुँघ्ने र श्रमको सच्चा सम्मान गर्ने एउटा राष्ट्रिय पर्व हो जसले हरेक नेपालीलाई आफ्नो जरासँग जोड्ने काम गर्छ ।

यद्यपि, असार पन्ध्रको यो सांस्कृतिक र पौराणिक सौन्दर्य जति लोभलाग्दो छ, यसको भित्री यथार्थ र वर्तमान अवस्था उत्तिकै चुनौतीपूर्ण र मर्माहत छ । आज खेतहरू बाँझा छन्, ऊर्जावान् युवा शक्ति विदेशी मरुभूमिमा पसिना बगाउँदैछ र आधुनिकताको नाममा हाम्रा उब्जाउ योग्य फाँटहरू प्लटिङको निसासमा छटपटाइरहेका छन् ।

केवल वर्षको एक दिन हिलोमा ओर्लेर तस्बिर खिचाउने वा ओठे औपचारिकतामा रमाएर धान दिवसको वास्तविक मर्म र किसानको घाउमा मलम लाग्न सक्दैन । यस अवसर र दिवसलाई वास्तविक कृषि र किसानसँग आत्मीय बनाउन अब सरकार लगायत राष्ट्रिय तहबाट ठोस र क्रान्तिकारी सुधारमुखी कार्यहरू गर्नु अनिवार्य भइसकेको छ ।


अबको आवश्यकता भनेको किसानलाई ‘आकासे पानी’ र ‘आकासे मल’को निरन्तरको छटपटीबाट मुक्ति दिनु हो । राज्यले समयमै उन्नत बीउ, रासायनिक तथा प्राङ्गारिक मलको सुनिश्चितता गर्नुका साथै हिउँद र वर्षा दुवै समयमा खेतका गराहरू तिर्खाउन नपरोस् भन्नका लागि दीर्घकालीन सिँचाइ आयोजनाहरूलाई युद्धस्तरमा अघि बढाउनुपर्छ । बिचौलिया प्रथाको अन्त्य गर्दै किसानका उत्पादनलाई उचित समर्थन मूल्य र सुरक्षित बजारको ग्यारेन्टी राज्य आफैँले लिनुपर्छ । परम्परागत कृषिलाई आधुनिक प्रविधिसँग जोड्दै युवाहरूलाई कृषि उद्यममा आकर्षित गर्न सुलभ ऋण र पारदर्शी अनुदानको व्यवस्था गरिनुपर्छ ।


अन्तमा असार पन्ध्र केवल दही–चिउरा खाने र साङ्केतिक रूपमा हिलो छ्याप्ने पर्व मात्र होइन, यो श्रमप्रतिको निष्ठा पुनर्जागृत गर्ने राष्ट्रिय सङ्कल्पको दिन हो । हिलोभित्र सुन फलाउने किसानका हातहरू सुरक्षित, सुखी र सम्मानित नभएसम्म देश कहिल्यै पनि समृद्ध हुन सक्दैन ।

जबसम्म देशको नीतिले किसानको पसिनाको सही मूल्य र माटोको संवेदनशीलता बुझ्दैन तबसम्म धान दिवसको नारा केवल कागजी उत्सवमा सीमित रहनेछ । आऔँ, माटोलाई माया गरौँ, श्रमलाई पुजौँ र नेपाली कृषिलाई आत्मनिर्भरताको मार्गमा डो¥याउने सच्चा प्रण गरौँ ।

लेखक : माेहन विष्ट

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १२ : ४० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित