राजनीतिमा यतिबेला कोही बेचैनी छन्, भने ती मानिस हुन्, ओली प्रचण्ड । जनताले दिएको १७४ सीट सम्झिएर ओली – प्रचण्ड बेचैनी भएका हुन् । २०७४ को पहिलो संघीय निर्वाचनमा जनताले एमाले र माओवादी केन्द्रलाई करिब दुई तिहाइ मत दिए । त्यही १७४ सीट लिएर शक्तिशाली कम्युनिस्ट पार्टीको सरकार बनेको थियोे । लाखौं श्रमजीवी वर्गले देश अब बन्छ,भन्ने अपेक्षा र विश्वास गरे । २०७४ फागुनमा नेकपाको शक्तिशाली सरकारका प्रधानमन्त्री केपी ओली बने । उनी देशको कार्यकारी प्रमुख बन्दा सबैेले ठूलो भरोसा गरेका थिए । जतिबेला संघीय सरकार मात्रै कम्युनिस्टहरूको थिएन । ६ वटा प्रदेशमा कम्युनिष्ट सरकार थिए। ४५० बढी स्थानीय सरकारमा कम्युनिस्टहरूले नेतृत्व गरेका थिए ।
कम्युनिष्टहरुका लागि यो देश देश बनाउने ऐतिहासिक रूपले ठूलो अवसर थियोे र हो पनि । इतिहास खास समयमा मात्रै अवसर दिन्छ । जुन अवसर त्यत्तिबेला कम्युनिष्टहरुले पाएका थिए । यस्तो अवसर इतिहासले कहिल्यै दिनेवाला थिएन, छैन र दिन्न पनि। अवसर त एक पटक आउँछ। घरीघरी दोहोरिन्न। अवसरको सदुपयोग गर्ने इतिहास बनाउँछन्। अवसरको उपयोग गर्न नसके अहिले ओली र प्रचण्डले जस्तै पम्पुरामा हात लगाएर न्याउरी मारी पछुतोमै तड्पिन्छन् । यतिबेला ओली प्रचण्डका लागि पनि पम्पुरामा हात लगाएर रूनु बाहेक अरु विकल्प केही छैन। उनीहरु यतिबेला त्यही विगतको करिब दुई तिहाइ मतको कम्युनिष्ट सरकार सम्झिन पानी छम्किनेमै छन् ।
गएको करिब दश वर्षमा यस्तो अवस्था आयो की, उनै शक्तिशाली ओली प्रचण्ड यतिबेला दाह्रा र नंग्रा झरेको बुढो बाघ झै छन् । उनीहरु यतिबेला इतिहासले रछ्यानमा हुत्याइएका छन् । उनीहरू अब ,राष्ट्रका लागि मात्रै होइन, स्वयं उनीहरू र उनकै पार्टीको लागि पनि अल्झो हुन्। यदि त्यो ऐतिहासिक अवसरमा ओली प्रचण्डबीच स्वार्थको झगडा नभैदिएको भए, देशले यो स्थिति बेहोर्ने थिएन। जेनजी विद्रोह हुन्थेन, निर्दोष युवाहरूको हत्या हुने थिएन, करोडौं भौतिक सम्पत्ति ध्वंस हुने थिएन। प्रचण्डको लोभ र अस्थिर चरित्र अनि ओलीको दम्भले विशाल कम्युनिस्ट संगठन र सरकार ढल्यो। कम्युनिस्ट शक्ति छिन्नभिन्न भयो । देशले अपूरणीय क्षति बेहोर्यो।
कतिसम्मको अति थियो भने, जतिबेला प्रचण्ड आफैले प्रस्ताव गरेका र समर्थन गरेका प्रधानमन्त्री थिए केपी ओली । आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री भएका ओली विरुद्ध प्रचण्ड उनी स्वयं सडकमा पुगे । तलबाट परे पनि काँइ, माथिबाट परेपनि काइँ गर्ने प्रचण्ड शैलीले विशाल पार्टीभित्र यदुवंशी शैलीमा झगडाको बिख वृक्ष झाँगियो। यो विमति र झगडा पार्टीको विचार ,संगठन र सिद्धान्तका लागि थिएन र होइन। यो त केवल प्रचण्ड –ओलीलाई प्रधानमन्त्री र पार्टीको अध्यक्ष पनि चाहिएको थियोे । पार्टी एउटै भएपछि प्रचण्ड ओलीले भाग लगाउँथे । उनीहरु भाग खोज्दथे । प्रचण्ड प्रधानमन्त्रीदेखि राजदूत,संवैधानिक नियुक्ति, विश्वविद्यालय उपकुलपतिको भागको झगडा थियोे ।उनको चरित्रले दिक्क भएर ओलीले भन्थे, ’आज यता टाल्यो, भोलि उता भ्वाङ !’
सरकार चलाउने कि प्रचण्ड मनाउने ओली हुक्क पर्थे। प्रचण्ड कि पार्टी चाहियो कि, प्रधानमन्त्री भन्दै रून थाल्थे । सरकार फागुनमा बनेको छ । तीन महिनापछि उनी प्रचण्ड गुटबन्दी गर्न लागे। आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री छ। तर,उनी सरकार ढलाउन हिडे। अग्रगमन र प्रतिगमनका राजनीतिक फुस्रा शब्द ओकलेर उनी सरकार ढलाउन जीवनमरणकै चरणमा भिडे।ओलीको आरिसले बुढानिलकण्ठमा मस्त निदाएको देउवालाई व्यउझाउन पुगे। देउवालाई प्रधानमन्त्री खाउ भन्दै सर्वोच्चमा लाइन लगाएर लोकलाई तमासा देखाए ।जबकि नेकपाको शक्तिशाली सरकार बनेपछि विपक्षी कांग्रेस समेत पाँच वर्ष ढुक्क थियोे । स्थिर सरकारका लागि कांग्रेसको पनि समर्थन थियोे ।
सरकारले आधार वर्ष ,उत्पादन र रोजगारी र समृद्धिका वर्ष भनेर काम गर्दै थियोे । वैदेशिक लगानी भित्रीदै थियोे ।राष्ट्रिय पूर्वाधार क्षेत्रमा ठूला ठूला गौरवका आयोजनाहरू अघि बढेका थिए। पोखरा विमानस्थल ,भैरहवा विमानस्थल, कोशी मरिण डाइभर्सन, नागढुंगा सुरूङमार्ग ,मध्यपहाडी लोकमार्ग उत्तरदक्षिण करिडोर लगायतमा लगानी भइरहेको थियोे ।
यद्यपि यी आयोजनामा भएका चरम भ्रष्टाचारप्रति सहमत हुन सकिन्न ।तर, भौतिक विकास वास्तवमा ओलीको ४१ महिने शासनमा धेरै भएका थिए। इतिहासको यो वास्तविकतालाई कदापि विषयान्तर गर्नु हुन्न। उनीमा अहंकारसंगै देश बनाउने हुटहुटी पनि थियोे । उनलाई उनकै पार्टीबाट सबैभन्दा ठूलो घेराबन्दी गरियो। उनलाई घेराबन्दी गर्ने उनै अस्थिर प्रचण्ड थिए र हुन्।यदि प्रचण्डले पार्टी भित्र किचलो नझिकेको भए, अहिलेसम्म पनि कम्युनिस्ट पार्टीहरूकै सरकार हुन्थ्यो । देशको आर्थिक तथा भौतिक विकास धेरै भैसकेका हुन्थे । स्वदेशमा रोजगारी र उत्पादन वृद्धि भएपछि लाखौं युवा स्वदेश फर्किने थिए। जनताको अभूतपूर्व विश्वासलाई प्रचण्डले प्रधानमन्त्री लोभमा लिलाम गरे। जसको नतिजा २०७९ को निर्वाचनबाटै देखिन थाल्यो ।
अन्ततः उनकै अस्थिर चरित्रले २०८१ असार १५ मा देउवा र ओलीले सत्ता भागबन्डाका लागि सहमति गरे। स्वर्ग र नर्क संगै जाम्ला भन्ने ओलीबाट बेस्सरी धोका खान पर्यो। हिजो अरूलाई धोका दिएका प्रचण्ड २०८१ असार १५ मै उनलाई अरूले धोका दिए। ओली र देउवाकै कारण जेनजी विद्रोह भयो । मानवीय र भौतिक क्षति मुलुकले अकल्पनीय ढंगले बेहो¥यो ।
त्यसको जगमा २१फागुन निर्वाचनले सबैलाई बगायो।नयाँ शक्तिशाली सरकार बन्यो। शासन सत्तामा रहँदा गरेको कुकर्मको नतिजा भोग्ने बेला फेरि कपटपूर्ण एकता र सहकार्यको तुरूपको अर्थ छैन । अब सम्पत्ति शुद्धिकरण र भ्रष्टाचारको मुद्दा झेल्नु बाहेक अरू उपलब्धि देखिन्न। लोकतन्त्र खतरामा परेको होइन । अधिनायकवाद पनि होइन, प्रतिशोध पनि होइन। मात्रै हो, विगतका कर्मको फल भोग्नुपर्ने डर । हिजो जे रोप्यो ,त्यही फलेको हो, आज । जस्तो कर्म गरिन्छ ,त्यस्तै फल भोगिन्छ। यही शाश्वत सत्य कुरा लुकाएर अझै पनि जनता झुक्याएर फेरि सत्तामा गइएला भन्ने सपना देख्नु र देखाउनु प्रचण्ड– ओलीको महाभ्रम मात्रै हो। ००००








