उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी मुलुकको विद्यमान विपद् व्यवस्थापन, उद्धार कार्य र पूर्वाधार विकासका विषयमा सुझाव दिएका छन् ।
बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी विपत्तिबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझाव दिएका हुन् ।
भेटका क्रममा घिसिङले मुलुकमा आइपरेको संकटको घडीमा उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई एकीकृत रूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए ।
विशेषगरी बाढी र पहिरोका कारण सुरुङभित्र फसेका नागरिकहरूको उद्धारका लागि आवश्यक प्रविधि र उपकरण परिचालनमा जोड दिन उनले आग्रह गरे । सडक सञ्जालको पुनःस्थापनाका विषयमा छलफल गर्दै उनले स्याफ्रुबेँसीलगायत क्षेत्रमा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन र रणनीतिक स्थानमा बेलिब्रिज निर्माण गर्न सुझाव दिए ।
यस्तै, ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै घिसिङले क्षतिग्रस्त जलविद्युत् आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताए ।
अध्यक्ष घिसिङले भने, ‘सुरुङभित्रको अवरोध हटाउन र उद्धार कार्यलाई प्रभावकारी बनाउन विशेष उपकरण आवश्यक छ । भौगोलिक विकटताका कारण उपकरण पुर्याउन कठिन भएका स्थानमा हेलिकोप्टरमार्फत हेभी इक्विपमेन्ट ढुवानी गरेर भए पनि कामलाई गति दिनुपर्छ । करिब २३५ मेगावाटका आयोजना प्रभावित भएका छन्। निजी क्षेत्रका प्रवर्द्धकलाई प्रोत्साहन गर्न र बीमा भुक्तानी प्रक्रिया सहज बनाउन सरकारले नीतिगत सहजीकरण गर्नुपर्छ ।’
भेटका अवसरमा दीर्घकालीन सुरक्षाका लागि जलविद्युत् आयोजनाको डिजाइनमा पुनरावलोकन गर्नुपर्ने र बेसिन म्यानेजमेन्ट ९नदी किनारा व्यवस्थापन० मा ध्यान दिनुपर्ने विषयमा पनि छलफल भएको थियो । घिसिङले जोखिम विश्लेषण गरेर मात्र नदी किनारमा सडक तथा अन्य संरचना निर्माण गर्न सुझाव दिए ।
जवाफमा प्रधानमन्त्री साहले घिसिङले प्रस्तुत गरेका सुझावलाई सकारात्मक रूपमा लिँदै विपद् व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञहरूको सल्लाहबमोजिम प्रभावकारी कदम चाल्ने आश्वासन दिए ।








