१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

बजारबाट ५० अर्ब झिक्दै नेपाल राष्ट्र बैंक


१६ आश्विन २०८१, बुधबार  


बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि आज (बुधबार) राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

वित्तीय प्रणालीमा तरलता नघटेको र यसअघि तानेको रकमको परिपक्वता अवधि सकिएकाले पुनः ५० अर्ब रुपैयाँ झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन खरिदका लागि बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बोल–कबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।

घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी बोल–कबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको बोल–कबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोल कबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोल–कबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप बढिरहेका बेला कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (ऋण दिन मिल्ने रकम) थुप्रिएको हो । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले सात दिनका लागि उक्त रकम झिक्न लागेको हो । अन्तर बैंक ब्याज दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १ : ३० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित