बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
तामाङ यसअघि प्रदेशको सहकारी मन्त्री पनि भएका थिए।
नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्य रहेका तामाङ राप्रपा नेता बुद्धिमान तामाङका आफ्नै भाइ तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा हुन् ।बुद्धिमान भने घिसिङका आफ्नै ससुरा हुन् ।
धादिङ(२ ९ख० बाट निर्वाचित तामाङ प्रदेशको सहकारी मन्त्री पनि भएका थिए ।घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले दबाब दिएर आफ्ना काका ससुरा तामाङको कम्पनीलाई दिलाइदिएको सबस्टेसन निर्माणसम्बन्धी विवादमा तामाङलाई पक्राउ पुर्जी जारी भएको स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।
ललितपुर जिल्ला अदालतले ५ फागुन २०८१ मै पक्राउ पुर्जी जारी गरेकोमा त्यसविरुद्ध तामाङ लगायतले उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिएका थिए । उच्च अदालतले पनि गत ९ असारमा उनीहरुको निवेदन खारेज गरिदिएको छ ।
विवादको भित्री कुरा यस्तो छ।
चिलिमे–त्रिशुली २२० के।भी प्रसारण लाइन अन्तरगतको चिलिमेको २२० केभीएको जिआईएस सव–स्टेशन र त्रिशुलीको २२० केभीएको हाइव्रिड सव–स्टेशन निर्माणको ठेक्का कात्तिक २०७४ मा चीनको पिगांओ ग्रुप अफ कम्पनिजले १ अर्ब ११ करोडमा पाएको थियो । त्यो ठेक्काको सव–कन्ट्रयाक्ट सहन इन्जिनियरिङ कन्सर्न प्रालिले पाएको थियो ।
प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङले दबाब दिएर सहन इन्जिनियरिङबाट पनि लेबर कन्ट्राक्ट भने आफ्ना कान्छा ससुरा बागमती प्रदेश सांसद डम्बर तामाङको प्रो–सोलुसन्सलाई दिलाएका थिए ।
त्यस ठेक्कामा सहन कन्स्ट्रक्सनले करिब ६६ करोड लगानी गरिसकेकोमा करिब ३८ करोड भुक्तानी पाएको स्रोतले जनायो । पिंगाओले सहनलाई पैसा भुक्तानी गरेपछि उसले तामाङको प्रो सोलुसन्सलाई दिनुपर्नेमा घिसिङको दबाबमा कामको रकम पिगांओ मार्फत सोझै प्रो– सोलुसन्सलाई दिइएको थियो ।
तर, उसले सहन कन्स्ट्रक्सनलाई उसले पाउनुपर्ने रकम नदिएको स्रोतले बतायो । यही विवादमा आपराधिक विश्वासघातको आरोपमा तामाङलगायत विरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतको भनाइ छ ।
पक्राउ पुर्जी जारी हुनेहरूमा प्रोसोलुसन्सका संस्थापकहरू सन्तोष पौडेल, संचिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादव छन् ।








