६ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026

प्रकाशकीय: संकल्प, सपना र संघर्षको यात्रामा…..


१३ असार २०८२, शुक्रबार  


एउटा सञ्चार उद्यमी बन्नु त्यत्ति सजिलो पक्कै छैन। त्यसैमा पनि महिलाले नेतृत्व गर्ने कुराहरु अझै चुनौतिपूर्ण छन् जस्तो लाग्छ। प्रतिस्पर्धाको यो दुनियाँमा खरो गरी व्यवसायीक सफलता हासिल गर्न झनै गाह्रो छ र हुन्छ ।

त्यसैमा पनि डिजिटल पत्रकारिताको यो भीडमा विश्वसनीयतासहित निरन्तर खबर संप्रेषण गर्नु पनि उत्तिकै कठिन छ। पत्रकारिताको गिर्दो विश्वसनीयता र खुम्चिदो बजार अवस्थाले चुनौतिमाथि चुनौति थपिरहेका छन्। सञ्चार उद्योग सञ्चालनको मुख्य आधार लगानी हो।लगानी गर्नु आम्दानीको उदेश्य हो। त्यसका लागि विज्ञापन बजार चाहिन्छ । यतिबेला विज्ञापन बजार सांगुरिदै गएको छ।

अर्थतन्त्रमा आएको शिथिलता र संकटले विज्ञापन बजार पनि खुम्चिएको हो। आर्थिक संकटले यसको बजारमाथि झनै चुनौति थपिदिएको हो ।यसैमा पनि पहुँचवालाको विज्ञापन बजारमा जबरजस्ती वर्चश्व छ। उनीहरुको एकाधिकारका कारण हामी जस्ता साना मिडियाहरु विज्ञापन बजारबाट बन्चित छन्। विज्ञापनको श्रोतसम्म पुग्न हामी जस्ता साना मिडिया उद्योगलाई सजिलो छैन । व्यक्तिगत सम्बन्धकै कारण बाहेक विज्ञापन पाउनु फलामको च्यूउरा चपाउनु सरह झै छ। यसैमा पनि सरकारी लोककल्याणकारी विज्ञापन र सूचना पाउनु त हाम्रा लागि सपना जस्तै हुन्। प्रेस काउन्सिल जस्ता निकायबाट क्षमता तथा सीप विकास जस्ता शीर्षकमा अनुदान प्राप्ति र पुरस्कार जस्ता कुरा पाउनु त कल्पना मात्रै हो।

स्थानीय तहदेखि संघीय तहसम्म पनि निश्चित समूहको उस्तै ठूलो प्रभाव छ। पावर र पहुँचवालाहरुले सरकारी सूचना र विज्ञापन पनि कब्जा गरेका छन्। यही समूहले खुम्चिदो विज्ञापन बजार पनि मुठ्ठीमा राखेपछि हामी जस्ता साना मिडियाको अवस्था निकै कठिन भएको हो । तैपनि हामी यस्ता दर्जनौ चुनौतिहरुका बीचमा पनि भोलिको सुन्दर सपनाको कल्पना गर्दै जुधिरहेका छौ ।वर्तमानको संघर्षबाट भोलिको सपना पूरा गर्ने हुटहुटीमा छौ।

आर्थिक तथा व्यवस्थापकीय हिसाबले ज्यादै अप्ठ्यारा पहाडहरुलाई छिचोल्दै सत्य र तथ्य खबर संप्रेषणमा हाम्रो सम्पादकीय टिम जुटिरहेको छ। एकातिर खुम्चिदो विज्ञापन बजार झेल्नु छ भने अर्कोतिर पत्रकारिताको नाममा भ्रमकारिताको कालो बादललाई चिर्नु छ।पत्रकारिता जस्तो संवेदनशील विषयमा गरिने खेलाँचीपूर्ण व्यवहारले सञ्चार उद्योगमाथि प्रश्न उठाएको छ,भने विश्वसनीयता पनि गुमाउँदै गएको छ।

संविधानको धारा १९ मा बन्दोबस्ती प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग भन्दा दुरुपयोग अनि राज्यको अस्वभाविक नियन्त्रणमुखी शैली पनि उत्तिकै खतरा छन्। खबर प्रकाशन तथा प्रशारण गरेकै भरमा साइबर मुद्दा लगाएर जेल जानु पर्ने अवस्था पनि छ। यस्ता जटिल परिस्थितिमा पनि सत्य र तथ्य खबर सम्प्रेषण गरेर हामीले अलग पहिचान बनाएका छौ। सानोतिनो श्रोत साधन र यसको परिचालन तथा प्रयोगबाट संकटमा पनि अस्तित्व जोगाएका छौ । पत्रकातिाको नाममा मौलाएको विकृति र विसंगतिबाट आफूलाई सधै टाढा राखेर हामी निरन्तर अघि बढी रहेका छौ।

लोकतन्त्रप्रतिको निष्ठा ,विश्वास र विश्वव्यापी पत्रकारिताको मूल्य मान्यता,सिद्धान्त र मर्मलाई शीरमा राखेर राष्ट्र,राष्ट्रियता र जनताप्रतिको हाम्रो वफादारिता, इमान्दारिता,त्याग र समर्पण सदैव छ र रहनेछ। हामीलाई यो पनि राम्रोसंग थाहा छकी, डिजिटल पत्रकारिताको यो अस्वभाविक भीडको बीचमा सही सूचना,ज्ञान र शिक्षा दिनु सहज छैन। यस्तो विषम र जटिल समयमा पनि सञ्चार उद्योगमा लगानी गरेर अघि सर्नु कम जोखिमयुक्त छैन।

तैपनि यीनै र यस्तै गम्भीर चुनौतीहरुको बीचमा पनि हामीले गरेका संकल्प पूरा गर्ने यात्रामा छौ। सपना,संकल्प र संघर्षको यात्रामा छौ। हामीलाई विश्वास छ की,कष्टकर हिलोको बीचमा कमल जसरी मुस्कुराएको हुन्छ। त्यसरी नै हामी कमलको फूल जस्तै बनेर सूचना, ज्ञान र अभिप्रेरणा बन्छौ, बनेका छौ र बन्नेछौ । कमल जस्तै अप्ठ्यारामा पनि फूलेर डिजिटल पत्रकारिताको क्षेत्रमा छुट्टै विशिष्ट पहिचान र परिचय बनाउने हाम्रो उदेश्य,लक्ष्य र संकल्प नै हो ।

सरजु अर्थात बबईको मुहानको जल जति पवित्र र कञ्चन छ। त्यस्तै पवित्र र कञ्चन उदेश्य लिएर हामी डिजिटल पत्रकारितामा संघर्षरत छौ। हामी सरजुकै पवित्र जलले सिंचित शीर, विचार र दृष्टिकोणले सुशोभित छौ। हामीलाई हाम्रो मेहनत र संघर्ष पृय लाग्छ। हामी तथ्यको कसीमा सत्य खबरको संप्रेषण गर्नु गौरव र स्वाभिमान ठान्छौ।

यही पवित्र उदेश्य र लक्ष्य चुम्ने सचेतपूर्ण सपना देखेर हामी शिवालिका मिडिया सेन्टर प्रालिद्धारा संञ्चालित सरजु अनलाइन डटकम लिएर आजकै मिति असार १३ गते बिहीबारका दिन औपचारिकरुपले दर्ता गरेका थियौ। त्यो मिति थियो,गएको साल २०८१ असार १३ गते बिहीबार। हाम्रो संकल्प यो छकी, हामी सामाजिक न्यायमा आधारित समाज निर्माणको बाहक बन्नेछौ ।

लोकतन्त्रको संस्थागत विकास गर्न प्रेसको ठूलो भूमिका छ। जहाँ प्रेस स्वतन्त्र हुन्छ, त्यहाँ लोकतन्त्र मजबुत हुन्छ भन्ने बुझेका छौ र हो पनि। राजनीतिक रूपमा हामी लोकतान्त्रिक भए पनि हाम्रा राज्य संचालक र संयन्त्रहरू लोकतान्त्रिक भैसकेका छैनन् ।यसर्थ लोकतान्त्रिक संस्कृति र समाज निर्माणमा हाम्रो जोड रहेनछ ।राजनीति आर्थिक, सामाजिक ,सांस्कृतिक र पर्यावरणीय मुद्दा हाम्रो मुख्य उदेश्य हुन र हुनेछन् । यी मुलभुत विषयहरूको सवलीकरण नभइ राष्ट्र बलियो र स्वाभिमान बन्न सक्दैन ।

बलियो राष्ट्र निर्माणका लागि बलियो र विश्वसनीय प्रेसको विकास हुन जरुरी छ। हामी यही दृष्टिकोणमा आधारित खबरहरुको तथ्यपरक संप्रेशण गर्दै आएका छौ र गर्नेछौं पनि । सत्य,तथ्य र गहिरो खबर विश्लेषण सामग्री पस्किने हाम्रो कार्यनीति अनि प्रवृत्ति हो र हुनेछ ।

सूचना प्रविधिको तीब्र विकास भएको यस दुनियाँमा हामी , हाम्रा प्राचीन तथा मौलिक ज्ञान सीप,प्रविधि र मौलिकताको जगमा विकसित हाम्रो पूर्वीय सभ्यता र दर्शनको खोज तथा अनुसन्धान हुन्छन् र हुनेछन्। यही प्रकृतिको काखमा विकसित हाम्रो सभ्यता,संस्कृति र धर्मको उनयनका लागि हाम्रा कलमहरु सधै तीखा भएका छन् र हुनेछन् पनि।

प्रकृति र संस्कृतिको गहिरो सम्बन्धमा हुर्किएको हाम्रा प्राचीन ज्ञान विज्ञान, मूल्य मान्यता र परम्पराहरुको प्रवद्र्धन गर्दै सामाजिक न्यायमुखी उन्नत समाज निर्माण गर्ने हाम्रो ध्येय हो । यही प्रकृतिको काखमा हुर्किएको सभ्यताको विषयमा गहिरो अध्ययन गरी फरक स्वाद र शैलीको माध्यमबाट लाखौ पाठकलाई सूचना, ज्ञान र अभिप्रेरणा बाँड्ने यो हाम्रो कोशीस हो। यो कोशीसको परिणाम विशेष गरी पर्यटन र पर्यावरणको प्रवद्र्धन र रक्षा गर्दै सबैको सहअस्तित्वलाई अक्षुण राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

यही मान्यता र सिद्धान्तलाई सार्थक बनाउन तपाई लाखौ पाठकहरुको अहम भूमिका छ र हुनेछ पक्कै पनि । तपाईहरुको यो अथाह साथ,माया सदभावको जगमा मात्रै हामीले लिएका अठोट र संकल्प पूरा गर्न सक्दछौ। त्यसका लागि हामी अनुग्रही छौ। किनकि हामी त माध्यम मात्रै हौ, तपाईहरुको साथ समर्थनले मात्रै डिजिटल पत्रकारिताको दुनियाँमा क्षितिज चुम्ने हाम्रो संकल्प पूरा हुनेछ।

यसर्थ हाम्रो यो चुनौतीको दुस्साहसपूर्ण व्यवसायीक लगानीको समर यात्रामा यहाँहरुको साथ र समर्थन मात्रै रहनेछैन, सुझाव,सल्लाह र सकारात्मक आलोचनाको खाँचो उत्तिकै हुनेछ। सकारात्मक आलोचनाबाटै हामी निखारिनेछौ र पत्रकारिताले बोकेको महान उदेश्य र चरित्रहरु अवस्य पूरा हुनेछन् भन्नेमा हामी पूर्ण विश्वस्त छौ ।
र, अन्तमा, शिवालिक मिडिया सेन्टरप्रालिद्वारा सञ्चालित सरजु अनलाईन डटकममा संलग्न सल्लाहकार, सम्पादक, बजार प्रतिनिधि र सम्वादाताहरुको प्रयन्तबाट हामी नयाँ चरणमा प्रवेश गरेका छौ।

लाखौ पाठक कहाँ पुग्ने हाम्रो यो संकल्पमा यहाँहरुको ठूलो योगदान छ। डिजिटल पत्रकारिताको विशाल सागरमा हामी भेटिने अवस्थामा पुगेका छौ। सरजु अनलाईनमा प्रकाशित खबरले राज्य तहमा बहस र छलफल गर्ने अवस्था पुगेको हामीले अनुभव गरेका छौ। आज मिति २०८२ साल असार १३ गते हामी दुई वर्षमा पाइलो टेकेका छौ।अबको हाम्रो यात्रामा पनि तपाईं पाठक शुभचिन्तक ,विज्ञापनदाता सबैको साथ र समर्थन उत्तिकै रहनेछ भन्ने विश्वास गरेको छौ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ६ : ०१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित