४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

पूर्व गृहमन्त्री रवि लामिछाने कास्की प्रहरी जिम्मामा


३ कार्तिक २०८१, शनिबार  


सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई  जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ ।

  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा लगेको हो ।

लामिछानेलाई सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो । उनी अहिले हिरासतमा छन् । राति करिब २:४५ बजेतिर कार्यालय प्रवेश गराइएको थियो ।

लामिछानेलाई त्यहाँ पुर्‍याउँदा कास्की प्रहरी कार्यालयको अघि रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्ले र केही कार्यकर्ताहरू उपस्थित थिए । अर्का उपाध्यक्ष डीपी अर्याल र पत्नी निकिता पौडेलचाहिँ लामिछानेसँग स्थलमार्गबाट गएका थिए । कास्की प्रहरीले जिम्मा लिएपछि हिरासतमा पुगेर वाग्ले, अर्याल र पौडेलले लामिछानेलाई भेटेका थिए । 

लामिछानेलाई त्यहाँ पुर्‍याउँदा केही रास्वपाका केही कार्यकर्ताले‍ प्रहरी कार्यालय अघि नाराबाजी गरेका थिए ।

स्थलमार्गबाट लैजादा बाटोमा केही स्थानमा सहकारी पीडितले जनताका पैसा ठगी गर्नेलाई कार्बाही गर भन्दै नाराबाजी पनि गरेका थिए । केही स्थानमा रास्वपा कार्यकर्ताले लामिछाने पक्राउको विरोधमा सरकारबिरुद्ध नाराबाजी गरेका थिए ।

लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारी ठगीको आरोप छ । उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ४ : ०२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित