३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

भारत- पाकिस्तानको युद्ध उन्माद,निर्दोष नागरिक अनाहकमै युद्धको भुङ्ग्रोमा !


२६ बैशाख २०८२, शुक्रबार  



भनिन्छ ,धर्म ,युद्ध र प्रेमको नशाले मानिसलाई निकै अन्धो बनाउँछ। यही धार्मिक अतिवादी अन्धोपनका कारण भारत पाकिस्तान मारामारमा जुटेका छन् ।

पाकिस्तानको आतंकवादी प्रश्रय दिने र भारतको अति हिन्दुवादी चिन्तनका कारण भारत र पाकिस्तान विभाजन यता सौहार्दतापूर्ण सम्बन्ध देखिन्न ।उनीहरूबीच शत्रुतापूर्ण सम्बन्ध छ।

यसो हुनुमा धार्मिक अतिवाद र घृणावादी राजनीति हो।हिन्दु मुस्लिम दुई भाइ हो तर, यहाँको सत्ता राजनीतिले वैरी र दुश्मनको स्कुलिङ गरिरहेको छ। आधुनिक मानव सभ्यताको लागि यो निकै विरक्तलाग्दो प्रवृत्ति हो।एक आपसमा विश्वास होईन विनाशको शिक्षा र दीक्षा छ।

गर्भबाटै एकअर्कालाई विरोधी देख्ने चिन्तन र प्रवृत्ति छ। जुन कुरा सत्ता स्वयंले सिकाइरहेको छ।त्यसैको नतिजाको निरन्तर हो, काश्मिरको पहलगाममा भएको आतंकवादी बर्बरता । २७ जना निर्दोष नागरिकलाई गोली वर्षाएर हत्या गरियो ।जसलाई संसारले खेद र भ्रत्सना गर्यो। पाकिस्तानले यस्ता आतंकवादी कारबाही गरेन ,बरू संरक्षण गरेको भन्दै भारत गएको तीनदेखि सिन्दुर अप्रेसन भन्दै पाकिस्तानमाथि सैन्य हमला गरिरहेको छ। पाकिस्तानले पनि त्यसको प्रतिरोध गरिरहेको छ।

सैन्य शक्तिको हिसाबले भारत विश्ववको चौथो देश हो, भने पाकिस्तान १२ औ स्थानमा छ।तर,,सैन्य बलले मात्रै पनि युद्ध जित्न सकिन्न ।हतियार भन्दा प्रोक्सी वार सबैभन्दा बलियो साधन हो।यतिबेला भारत पाकिस्तान सैन्य भन्दा प्रोक्सी वार गरिरहेका छन् ।तिनका मिडियाले दिने समाचार भन्दा कल्पना धेरै छन् ।यद्यपि दुई देशबीच युद्ध जारी छ।

पहलगाममा दुई साताअघि भएको आतंकवादी हमलाले अन्ततः भारत र पाकिस्तानलाई युद्धमै डोर्‍याएको हो । सन् १९४७ मा विभाजनयता सन् १९६५, १९७१ र १९९९ मा युद्ध लडेका दुई देश हवाई तथा स्थल युद्धमा होमिएपछि विश्वभर यतिबेला सन्त्रास फैलिएको छ।

‘अपरेसन सिन्दूर’ घोषणा गरेको भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा मिसाइल हमला गरेको थियो जसमा आतंकवादी शिविरलाई निसाना बनाइएको दाबी भारतको थियो । उता, पाकिस्तानले भने महिला बालबालिकासहित कम्तीमा ३१ जना मारिएको जनाएको थियो ।

पाकिस्तानले बिहीबार अपराह्न उत्तरपश्चिमी भारतका १५ सैन्य शिविरमा लक्ष्य गरी ड्रोन र मिसाइल आक्रमण गरेको भारतको दाबी छ । पाकिस्तानले अवन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिन्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजलाई निसाना बनाएको भारतले जनाएको छ ।

ती भारतीय शहरमा गरिएका पाकिस्तानी हमलालाई हवाई प्रतिरक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको दाबी भारतीय रक्षा मन्त्रालयले गरेको छ । लगत्तै भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली ‘निष्क्रिय’ पारिदिएको भारतको दाबी गरेको हो ।

बुधबारयता २५ वटा भारतीय ड्रोन खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । तीमध्ये ३ ड्रोन रावलपिन्डीमा खसालेको दाबी छ । पाकिस्तानका कराँचीलगायतका केही सहरमा ड्रोनका कारण क्षति पुगेका तस्बिर सार्वजनिक भएका छन् ।

पाकिस्तानले भारत प्रशासित जम्मु सहरमा बिहीबार साँझ हमला गरेको छ । समाचार एजेन्सीका अनुसार जम्मुस्थित विमानस्थलमा विस्फोट भएको छ ।

पाकिस्तानले जम्मु–कश्मीरमा गरेको आक्रमणमा ज्यान गुमाउनेको संख्या १६ पुगेको भारतीय विदेश सचिव विक्रम मिस्रीले पुष्टि गरेका छन् । उनका अनुसार ५९ जना घाइते छन् । पाकिस्तानले सर्वसाधारणमाथि आक्रमण गरेको सचिव मिस्रीको दाबी छ।

उता, भारतीय हवाई हमलाले नीलम–झेलम बाँधमा क्षति पुगेको पाकिस्तानले जनाएको छ । भारतले भने त्यसको खण्डन गरेको छ । ‘नीलम–झेलम बाँधमा क्षति पुगेको भन्ने पाकिस्तानको दाबी सरासर झूट भएको भन्दै विदेश सचिव मिस्रीले खण्डन गरेका छन् ।

नीलम–झेलम बाँध पाकिस्तान प्रशासित कश्मीरमा रहेको जलविद्युत् परियोजनाको एक हिस्सा हो । बाँधले नीलम नदीको पानीलाई झेलम नदीमा रहेको विद्युत् केन्द्रमा मोड्छ । ९ सय ६९ मेगावाट क्षमताको यश विद्युत् केन्द्र मुजफ्फराबादबाट ४२ किलोमिटर दक्षिणमा पर्दछ ।

भारतसँग तनाव बढेपछि पाकिस्तानको पञ्जाब प्रान्तका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ । पञ्जाब सरकारले शुक्रबार र शनिबार सबै विद्यालय बन्द राख्न आदेश दिएको हो । ओ–लेभल र ए–लेभलका परीक्षा भने तोकिएकै तालिकाअनुसार जारी रहने जनाइएको छ । भारतको पञ्जाब प्रान्तमा पनि तीन दिन विद्यालय बन्द गरिएको छ ।

पाकिस्तानको लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । दूतावासले वेबसाइटमा सूचना जारी गर्दै लाहोरको मुख्य विमानस्थल वरपरको क्षेत्र खाली गर्ने पाकिस्तानी अधिकारीको तयारी रहेको पनि जानकारी दिएको छ ।

भारत पाकिस्तान द्वन्द्वमा नेपाल भूमिका

भारत र पाकिस्तानबीच बढ्दो तनावबारे नेपालले धारणा सार्वजनिक गरेको छ। सार्कको अध्यक्ष समेत रहेको नेपालले आतंकवादविरुद्धको लडाइँमा सबैको साथमा रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैसँग साथमै उभिएको जनाएको हो ।

भारत प्रशासित कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतंकवादी हमलापछि दुई देशबीच तनाव बढेको हो । पहलगाम घटनामा १ नेपाली नागरिकसहित २६ जनाले ज्यान गुमाएका थिए । ‘उक्त दुःखद घटना र साझा पीडामा नेपाल र भारत एक ठाउँमा उभिएका थिए,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘उक्त आततायी आतंकवादी हमलाको नेपालले तुरुन्तै स्पष्ट रूपमा भर्त्सना गरेको स्मरणीय छ । नेपालको आतंकवादविरुद्धको अडान दृढ छ ।’

भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपालले चिन्ता व्यक्त गरेको छ । साथै, आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता नेपालले जनाएको छ । भारत र पाकिस्तानबीचको द्वन्द्व कम हुने अपेक्षा गर्दै नेपालले यस क्षेत्रमा स्थिरता र शान्ति स्थापना हुने आशा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ 

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : ०३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित