१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

गाैतमबुद्ध विमानस्थलबाट धमाधम अन्तर्राष्ट्रिय उडान, पाेखरा विमानस्थल सुनशान !


२५ कार्तिक २०८१, आइतबार  


चिनियाँ महंगो व्याजमा लिएको ऋणले निर्माण भएको पाेखरा विमानस्थल निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सुनशान छ।

केही छिटफुट अन्तर्राष्ट्रिय उडान भएपनि भैरहवा जस्तो नियमित हुन सकेको छैन। सरकारले चीनसंग २२ अर्ब काढेर बनाएको विमानस्थलमा व्यवसायीक उडान हुन नसक्दा ऋणको व्याज र साँवा तिर्न हम्मेहम्मे छ, भने पर्यटन क्षेत्रमा समेत गम्भीर धक्का लागेको छ।


पछिल्लो समय भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुँदा पोखरा विमानस्थलबाट हुन नसकेको भन्दै पाेखराका पर्यटन व्यवसायी सरकार दैलाे धाउन थालेका छन् । पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारणबारे सरकारले स्पष्ट नपार्दा अन्योलको अवस्था सिर्जना भएको उनीहरूकाे बुझाइ छ।

पोखरामा शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँगको छलफलमा व्यवसायीले तत्काल अन्तर्राष्ट्रिय उडान सञ्चालनको माग गरेका छन् । होटल संघ पोखराले पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुमा केन्द्रित रहेर आयोजना गरेको छलफलमा सरकारले कूटनीतिक पहल गरी अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्नेमा व्यवसायीले जोड दिएका हुन् ।

मन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष लक्ष्मण सुवेदीले नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि पर्यटन मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने माग राखे । ‘पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्दा सिंगो पर्यटन क्षेत्र निराश छ,’ उनले भने, ‘विमानस्थल चलाउन सरकारले पर्याप्त तयारी र कूटनीतिक पहल नगरेको हो कि भन्ने आशंका छ ।’

चिनियाँ ऋण लगानीमा बनेको विमानस्थल भएकाले भूराजनीतिक सन्तुलन कायम गर्ने गरी सरकारले चीन र भारतसँग प्रभावकारी रूपमा वार्ता गर्नुपर्ने व्यवसायी बताउँछन् ।

पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नुमा प्राविधिक पक्षलाई बाधक देखाएर उम्किन नमिल्ने पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य वासुदेव त्रिपाठीले बताए । ‘न्यारोबडी जहाज ६० प्रतिशत मात्रै भार लिएर आउन सक्ने भनिएको छ । त्यसकारण जहाजको खर्च उठाउन नसक्ने भएकाले वायुसेवा कम्पनीहरूले उडान भर्न नचाहेको कारण देखाइएको छ,’ उनले भने, ‘तर बिहीबार मात्रै चीनको कुन्मिङबाट १ सय २० जना बोकेर सिचुवान एयरलाइन्सको न्यारोबडी जहाज पोखरा आयो । प्राविधिक रूपमा सम्भाव्यता छैन भन्ने तर्कको तथ्य जाँच गर्नुपर्छ ।’ त्रिभुवन विमानस्थल १० घण्टासम्म बन्द गर्नुपर्ने अवस्था आएको अवस्थामा पोखराको नयाँ विमानस्थल सदुपयोग नगरिँदा सरकारले विकल्प नखोजेको र यतातर्फ ध्यान नदिएको सन्देश गएको उनको भनाइ छ ।

पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले मन्त्री पाण्डेलाई एक ज्ञापनपत्र बुझाउँदै पोखराबाट अन्तर्राष्ट्रिय उडान, सडक मार्गको शीघ्र स्तरोन्नति तथा कोरला नाकाको सहज र नियमित सञ्चालनको विषय उठान गरे । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका समयमा होस् वा अन्य समयमा, तत्काल नेपाल वायुसेवा निगमको न्यारोबडी विमानमार्फत पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्छ,’ पहारीले भने, ‘पर्यटन मन्त्रालयले यो निर्णय गर्नुपर्छ ।’

त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्दा हुँदा पोखराका आन्तरिक उडान कटौती हुने र मुख्य राजमार्गहरूको स्तरोन्नतिमा पनि ढिलाइ हुँदा ‘कनेक्टिभिटी’कै कारण पोखराको पर्यटनले संकट व्यहोर्ने अवस्था सिर्जना हुने होटल संघ पोखराका पूर्वअध्यक्ष भरतराज पराजुलीको भनाइ छ ।

सरकारले विभिन्न सहुलियत दिँदा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुनुको कारण जहाज उडानसम्बन्धी प्राविधिक कारण हो वा अन्य भन्नेबारे मन्त्रालयले प्राविधिक टोलीसँग बुझ्ने पर्यटनमन्त्री पाण्डेले जनाए । हवाई सेवा कम्पनीहरूकै अरुचिका कारण पनि पोखरामा अन्तर्राष्ट्रिय उडान हुन नसकेको उनले उल्लेख गरे ।

पोखरा र भैरहवालाई सञ्चालनका लागि नेपाल सरकारले सहुलियत उडान गर्ने गरी कार्ययोजना बनाए पनि अपेक्षाअनुसार विभिन्न वायुसेवा कम्पनीले उडानका लागि चासो नदेखाएको मन्त्री पाण्डेको भनाइ छ । ‘सोचेअनुसार भइरहेको छैन । भैरहवामा केही संकेत देखिएको छ, पोखरामा त्यही पनि देखिएको छैन,’ उनले भने, ‘हामीले दिएको सहुलियतमा किन अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनीले ध्यान दिएका छैनन् भन्दा उहाँहरूबीच र हामीबीच मतभिन्नता छ । हामी भन्छौं पहिला फ्लाइट राख्नुस्, प्यासेन्जरहरू स्वतः जम्मा हुन्छन् । उहाँहरू प्यासेन्जर नै छैनन्, खाली–खाली चलाउन सक्दैनौं भनिरहनुभएको छ । त्यसबारे उहाँहरूसँग थप छलफल गर्छौं ।’

अहिले काठमाडौंमा उडान कटौती भएका कारण पनि पोखरा र भैरहवामा उडान गर्न आकर्षित गर्नेबारे चाँडै परिणाम आउने गरी सरकारले काम गर्ने प्रयत्न गरिरहेको मन्त्री पाण्डेकाे आश्वासन थियोे ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ७ : ०४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित