१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

विश्वविद्यालय दलमुक्त ! हट्यो दलीय गुण्डाराज !


१६ असार २०८३, मंगलबार  


दलीय विद्यार्थी संगठनको कारण प्राज्ञिक थलो विश्वविद्यालय थिलोथिलो बनाइए । दलकै आवरणमा प्राज्ञिक क्षेत्रमाथि भएको प्रत्यक्ष या अप्रत्यक्ष हस्तक्षेपले शैक्षिक क्षेत्र ध्वस्त मात्रै भएन, लाखौ विद्यार्थीहरुको भविष्य धुलिसात पार्ने कार्य भए । गएको ३५ वर्षको राजकाजमा एमाले,कांग्रेस र माओवादीले विश्वविद्यालयलाई बौद्धिक जनशक्ति उत्पादन होइन, नेता उत्पादनको कारखाना बनाए ।

विद्यार्थी संगठनका नाममा विश्वविद्यालय राजनीतिक क्रिडास्थल मात्रै बनाइएन । गुण्डागर्दी, ठेक्का पट्टा कब्जा, प्राध्यापकमाथि आक्रमण, विश्वविद्यालयको सार्वजनिक सम्पत्तिको दोहनदेखि तमाम विकृतिको चाङ लाग्यो ।
विश्वविद्यलायका थुप्रै समस्याहरुको कारणहरु मध्ये दलीय विद्यार्थी संगठनको राजनीतिक क्रिडास्थल बनको सरकारले ठहर ग¥यो ।

त्यही निष्कर्ष निकालेको सरकारले गएको बैशाखमा अध्यादेशमार्फत विश्वविद्यालयका विद्यार्थी संगठन खारेज गर्ने निर्णय ग¥यो । सोही अनुसार अघि बढेको सरकारलाई सर्वाेच्चको आदेशले पनि साथ थियो । अनि सरकारले विश्वविद्यालयलाई विशुद्ध शैक्षिक गतिविधिको थलो बनाउने गरी काम अघि बढायो । त्यसको पछिल्लो काम हो,त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसको हाताभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन । विद्यार्थी कल्याण तथा निर्देशनालयले सूचना जारी गर्दै त्रिवि र मातहतका सबै विभाग तथा शिक्षण संस्थालाई क्याम्पसपरिसरभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन भनेको हो।

सरकारले आफ्नो सयदिने कार्ययोजनामै शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप अन्त्य गर्ने, विद्यार्थीको वास्तविक आवाज सुनिश्चित गर्ने तथा शैक्षिक गुणस्तरमा सुधार ल्याउने उल्लेख गरेको छ। सरकारको घोषित नीति अनुसारको यस विषय कार्यान्वयन गराउन त्रिभुवन विश्वविद्यालय प्रशासन लागेको हो । निर्देशनालयले ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन भनेको छ। हटाएको ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट’ गठन गर्ने भएको छ ।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै विभागीय प्रमुखलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन र त्यसको जानकारी गराउन पनि निर्देशन दिएको छ । निर्देशनालयले गरेको परिपत्र अनुसार अब क्याम्पसको हाताभित्र दलीय विद्यार्थी संगठन रहने छैनन्। क्याम्पसमा विशुद्ध विद्यार्थीहरु मात्रै रहनेछन् । क्याम्पस परिसरमा राजनीतिक गतिविधि होइन, शैक्षिक गतिविधि हुनेछन् । राजनीतिकक गतिविधिको आवरणमा विश्वविद्यालयमा हुने गुण्डागर्दी र अपराधका घटना पनि न्यूनीकरण हुनेछ ।

यद्यपि विश्वविद्यालय परिसरको राजनीतिक धन्दा सरकारले सफाइ गर्न थालेपछि दलनिकट यस विषयमा दल निकट विद्यार्थी संगठन सरकारसंग रुष्ट छन् । उनीहरुले सरकारको कदम निरकुंशता र अधिनायकवादी भएको भन्दै कडा आलोचना पनि गरेका छन् । तर,वास्तविक विद्यार्थीले सरकारको कदमको स्वागत गरेका छन् । सरकारको दलीय संगठन हटाउने अभियानले विश्वविद्यालयमा शैक्षिक वातावरण बनेको वास्तविक विद्यार्थीहरुको सकारातमक प्रतिक्रिया छ ।

पछिल्लो शैक्षिक तथ्यांकको विवरण अनुसार त्रिभुवन विश्वविद्यालय अन्तरगत ५ लाख ६१ हजार १७० विद्यार्थी अध्ययनरत छन् । अधिकांश मध्यम तथा विपन्न परिवारका सन्ततीको भाग्य र भविष्य बनाउने त्रिभुवन विश्वविद्यालय राजनीतिको फोहोरले पुरिएको थियो । पछिल्लो समय सरकारको विश्वविद्यालय शुद्धिकरण गर्ने अभियान चलाएपछि अब विश्वविद्यालयहरु दलीय छत्रछाँयाको दुषित हावाको पनि अन्त्य हुनेछ । विश्वविद्यालय दलीय क्लबको थलो होइन, अध्ययन, अनुसन्धान र अन्वेन्शनको क्षेत्र बन्नेमा सरकार विश्वस्त देखिन्छ । ०००

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ५ : ०५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित